विवादित जग्गामा उद्योग

छोराले बाबुलाई झुक्याएर अर्कैको नाममा पास गरिदिए जग्गा

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका–६, गोडेनपुरका रामबहादुर थापालाई जेठा छोरा रोमबहादुर थापाले कर्जा निकाल्ने कागज भन्दै ट्याप गर्न लगाएर १३ कठ्ठा १४ धुर जग्गा अनोज बस्नेतको नाममा पास गराए। साविकको फत्तेपुर गाविस वडा नं. ९ को कित्ता नं. २२९ को ६ कठ्ठा १७ धुर र कित्ता नम्बर २३२ को ६ कठ्ठा १७ धुर गरी १३ कठ्ठा १४ धुर जग्गा २०७१ असार २७ गते दुई लाख रुपैयामा अनोज बस्नेतलाई पास गरिएको थियो।

२०७५ जेठ २ गते अनोजले उक्त जग्गा २८ लाख रुपैयामा मखनिया अहिरलाई बेचे। मखनिया अहिरको मान्छे गत साउन २५ गते जग्गा जोत्न गएपछि रामबहादुर र पत्नी रति थापाले बल्ल जग्गा बेचेको कुरा थाहा पाए।

५७ वर्षीया रति थापा अदालतमो शरणमा पुगिन्। अदालतले २०७५ फाल्गुन २७ गते अर्को आदेश नभएसम्म हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का आदेश गर्यो‍। आदेशमा भनिएको छ, ‘निवेदन माग मुनासिब नै देखिदा दाबीको कि.नं. २२९ र २३२ को जग्गा अर्को आदेश नभएसम्मका लागि कुनै पनि व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखि दिएको छ।’ जिल्ला न्यायाधीश अनिलकुमार शर्माको इजलासले उल्लेखित कित्ताका जग्गा मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५६ (१) बमोजिम रोक्का राखी सोको जानकारी यस अदालतमा पठाउनु भनि सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाई नियमानुसार गर्नु भन्ने आदेश दिएको थियो।

अदालतले जग्गा त रोक्का गर्‍यो। तर, त्यतिबेला उक्त जग्गामा कुनै संरचना बनाउन नपाउने आदेश भएन। थापा परिवारले पनि रोक्का जग्गामा संरचना बन्ला भन्ने ध्यान दिएनन्। त्यसको फाइदा उठाउदै मखनियाका छोराले त्यहाँ राप्ती गणेश बालुवा प्रशोधन उद्योग सञ्चालन थाले। यादवले उद्योग सञ्चालन थालेपछि थापा फेरि अदालतको शरणमा पुगेकी छन्। जग्गाको स्वरुप बिग्रिने भन्दै त्यहाँ कुनै प्रकारको उद्योग सञ्चालन गर्न नदिन थापा परिवारले माग गरेका छन्।श्रीमती थापाले माग दावीमा भनेकी छन्, बेचबिखन रोक्का राख्नु भन्ने आदेश मुनासिव देखिएको छ। त्यसबेला जग्गाको स्वरुप बिग्रिने गरी बाुलवा थुपार्ने काम समेत रोक्का राख्ने स्पष्ट आदेश गर्नुपर्नेमा छुट्न गएकोले जग्गाको स्वरुप बिगार्न नपाउने स्पष्ट आदेश गरी दिन अनुरोध गरेको छु। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रतिले मुद्दा लगाएकी छन्।

२०७५ असोज १९ गते उद्योग दर्ता गरिएको छ । त्यसअघि नै साउन २६ गते जग्गा धनीसँग ५ वर्षका लागि सम्झौता गरिएको छ। उद्योग अब्दुल खाँ र गणेश यादवले सञ्चालन गरेका छन्। गणेश मखनियाका छोरा हुन्।

श्रीमती रति थापाले बाबुलाई झुक्याएर जग्गा बेच्ने छोरा सम्पर्कमा नरहेको बताइन्।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्