बालबालिकालाई विद्यालय भर्ना गर्न सांसदसहितको घरदैलो

नेपालगञ्ज– बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुरमा बालबालिकालाई विद्यालय प्रवेश गराउन सांसदसहितको टोली घरदैलोमा हिँडेको छ।

शिक्षामा पछाडि रहेको नरैनापुरको वडा नम्बर–५ मा मटेहियामा संघीय सांसद महेश्वर गहतराजसहितको टोली घरदैलोमा हिडेको हो। विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय प्रवेश गराउन सांसदसहितको टोलीले घरघरमा गएर अनुरोध गरेका छन्। वडा नम्बर–५ को जयरामपूर्वाबाट बाजागाजासहितको टोली घरदैलोका लागि जमुनाहा हुँदै महेटियामा पुगेर कोण सभामा परिणत भएको थियो।

सांसद गहतराजले शिक्षामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको र भर्ना अभियानमा उर्जा थप्न स्वयं उपस्थित भएको बताए। उनले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरुलाई आग्रह गरे।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले आफूले हरसम्भव प्रयास गरिरहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संँगसंँगै रहेको भन्दै भर्नादर शत प्रतिशत बनाउन आफूहरु लागिपरेको बताए।

२०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गाउँपालिकाले यस बर्ष २ हजार ४ सय जनालाई साक्षर बनाएको र अझै झण्डै ७ हजार भन्दा बढी नागरिकले राम्रोसंँग पढ्न र लेख्न नजान्ने तथ्यांक प्रस्तुत गर्दै दुई हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको जानकारी दिए। गाउँपालिकाले वडा नम्बर १ कट्कुइँयाबाट थालेको घरदैलो कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ।

विकट गाउँ रहेकाले पढाईको गुणस्तर नराम्रो, शिक्षकको उपस्थिति कमजोर, अभिभावकको छोराछोरीलाई विद्यालय पठाउन आनाकानीले गर्दा नरैनापुर शिक्षामा धेरै पछाडी रहेको छ। बाटो, विजुली, स्वास्थ्य र शिक्षामा कमजोर रहेकाले नरैनापुरलाई बाँकेको कर्णाली भन्ने गरिन्छ।

बैशाख १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्