भूकम्पको चार वर्ष

आफ्नो घर छैन तर उनी बनाउँदै छन् भगवानको घर

हेङ्ग्रिभ भैवरको मन्दिरको दोस्रो तलामा गारो लगाउँदै गरेका वीरबहादुर तामाङ। तस्बिर-प्रभात खनाल/देश सञ्‍चार

वीरबहादुर तामाङ ललितपुरको बुङमतीमा मन्दिरको गारो लगाउँदै गर्दा भेटिएका हुन्। रातो मछिन्द्रनाथको मूल मन्दिरको झण्डै २५ मिटर दक्षिण पूर्वमा रहेको हेङ्ग्रिभ भैवरको मन्दिरको दोस्रो तलामा गारो लगाउँदै गरेका वीरबहादुरका लागि परिचित काम नै हो।

डकर्मी पेशामा दशक बिताएका रसुवाको भोर्लेका ३० वर्षे वीरबहादुरलाई भैरवहरुका नाइके अर्थात हेङ्ग्रिभ भैरवको मन्दिरको गारोमा भर लागेको छ। इतिहास अनुसार १५ सय ४३ वर्ष पहिले नेपालमा मछिन्द्रनाथलाई हेङ्ग्रिभ भैरवले सुरक्षा दिएका थिए।

चार वर्षअघिको भूकम्पले रातो मछिन्द्रनाथको मूल मन्दिरसँग हेङ्ग्रिभ भैरवको मन्दिर पनि भत्कियो। त्यही भत्किएको मन्दिर अहिले पुरातत्व विभागको सक्रियतामा पुनर्निर्माण भइरहेको छ। वीरबहादुर तथा कीर्तिपुरका बेखलाल महर्जनसहितको डकर्मी टोलीले अहिले भगवानको ‘घर’ को गारो लगाइरहेका छन्।

वीरबहादुरका लागि यो मन्दिरको गारो यसकारण विशेष छ कि उनको घर पनि चार वर्ष पहिलेको भूकम्पले माटोमा मिलायो। भूकम्पले लडाएको मन्दिरको गारो उठाउँदै गर्दा उनमा आश बलियो बनेको छ–यसको गजुर राख्दासम्म मेरो घरको मुल खाँबो पनि गाडिन्छ होला पक्कै। ‘गुनारो हालेको छु, पर्‍यो भने घर बनाउने हो, यो पटक आश छ’, झ्यालनिरको गारो मिलाउन टुक्रा इट्टा अड्याउँदै गरेका वीरबहादुर बोले।

वीरबहादुरको नाम अहिलेसम्म लाभग्राहीको सूचीमा परेको छैन, तीन छोरीका पिता वीरबहादुरले गुनासो दर्ता गरेका छन्। उनलाई आश छ–अब पक्कै लाभग्राहीको सूचीमा उनको पनि नाम पर्नेछ, मन्दिर जस्तै आफ्नो घर पनि बन्ने छ।

अन्‍नका देवता। सहकालका भगवान् मछिन्द्रनाथको मूल मन्दिरको काम अहिले ठप्प छ। चार वर्षअघिको भूकम्पले मन्दिर भत्केपछि दक्षिण तर्फ बनाइएको अस्थायी मन्दिरमा मूल देवताको बास छ।

मन्दिर परिसरमा निर्माण सामग्री असरल्ल छन्। मन्दिरको पूर्वपट्टि केही ठाउँ पन्छाएर त्रिपालमा बकुल्ला सिमीका कोसा सुकाइएको छ। एक छेउमा घोप्टो परेर कोशा केलाउँदै छिन् एक वृद्धा। मानकुमारी शाक्य। सात दशक उमेर बिताएकी मानकुमारी कोशा केलाएर बकुल्ला सिमीका दाना निकाल्दै छिन्। घर-माइती नजिकै छ उनको। मूल मन्दिरको पूर्वपट्टि समुन्नेको अधकल्चो (निर्माण हुँदाहुँदै रोकिएको) घर मानकुमारीको हो।

भूकम्पले मन्दिर त छोडेन, घर कसरी बाँकी रहोस्? उनको घर पनि ढल्यो। मन्दिरको जस्तै छ मानकुमारीको घरको हालत। समस्या भने अलि भिन्न छ। कहिले पैसाको जोरजाम मुस्किल भयो, कहिले डकर्मी अन्तै लागे। घर अलपत्र। मछिन्द्रनाथ मन्दिर परिसरमा खेली हुर्केकी मानकुमारीलाई मन्दिरसँगै घर बनेको देख्ने रहर छ।

रातो मछिन्द्रनाथ मन्दिर प्रवेश गर्ने मूलद्वार उत्तरतिर छ। मन्दिर पस्दैगर्दा देब्रेतिर आँखा पुगे एउटा टिनको टहरो देखिन्छ‍। भूकम्पपछिका चार वर्षको घाम–पानी चारजनाको परिवारले साँघुरो गरेर यही टहरोमा बिताएको छ।

टीका शाक्यका छोराछोरी र श्रीमतीले यही टहरोमा फराकिलो गरी आङ नतानी बिताएका छन् दिनहरु अनि साँघुरो गरी सुतेका छन् रातहरु।

मन्दिरको मूलद्वारसँगै जोडिएको फल्चामा भेटिएका उनले अघिल्तिर भत्केको मन्दिर र पछि देब्रेतिर मुश्किलले परिवार अटाएको टहरो हेरेर बिताएका दैनिकी सुनाए। भूकम्पले भत्काएको घर रहेको जमिनको लालपूर्जा छैन, लाभग्राहीको सूचीमा नाम पर्ने कुरो भएन। उनीलाई लालपूर्जा बन्ने र राहत पाउने दिनको पर्खाइ छ।

पश्चिमतिरका घरहरुमा त्यस्तो क्षति भएजस्तो देखिँदैन। पश्चिमतिरै त अग्लो गजुरसहितको मनकामना मन्दिर।

बुङमतीको रातो मछिन्द्रनाथ मन्दिर वरपरिका मूख्य तीन मध्येको एक मन्दिर हो यो। भूकम्पले धरापमा पारेको गजुर पुरातत्व विभागको प्रयासमा निर्माण सम्पन्न भएको हो।

मनकामना मन्दिरको गजुरले नियालिरहेको छ उठ्न नसकेको रातो मछिन्द्रनाथको मूल मन्दिर। शिखर शैलीको मन्दिरको काम अहिले ठप्प छ।

अस्तव्यस्त देखिने रातो मछिन्द्रनाथ मन्दिर वरपरको दृश्य यही हो। यस्तै–यस्तै हो पूरै बुङमतीको हालत। कुनै घर बने, कुनै बन्दै छन्, कुनै बन्दा बन्दै रोकिएका। तर सबै बुङमती बासिन्दालाई आफूहरुका मूल–रातो मछिन्द्रनाथको घर (मन्दिर) बने आफ्नो पनि बन्थ्यो कि जस्तो लाग्छ।

रातो मछिन्द्रनाथ मन्दिरका पूजारीहरुको समूहका सचिव हुन्, विनोद बज्राचार्य । ३२ पानेजु भनिने पूजारीहरुको समूह अहिले रातो मछिन्द्रनाथको रथ जात्राको तयारीमा छन् । जात्रा यही वैशाख तेस्रो हप्तादेखि सुरु हुँदैछ ।

विनोदका अनुसार रातो मछिन्द्रनाथ मन्दिर बन्न नसक्नुको कारण अनुभवहिन निर्माण व्यवसायी नै हुन् । ‘यो शिखर शैलीको मन्दिर हो । ठेक्का पाएको निर्माण कम्पनीसँग यस्तो मन्दिर त के मन्दिर बनाएको अनुभव नै भएन अनि कसरी बन्छ र ?’, विनोदले भनेका हुन् । जिम्मा पाएको कम्पनीसँग बाटो पिच गरेको या व्यवसायिक भवन बनाएको अनुभव थियो, त्यसले काम गरेन मन्दिर निर्माणमा ।

बाटो हुँदै मन्दिर त पुगिन्छ, तर बाटो पिच गरे जस्तो होइन मन्दिर बनाउनु ।

गुठी संस्थानले तीन वर्ष पहिले दुई वर्षमा सम्पन्न गर्ने गरी प्रेरा, भेगिम र तुल्सी जेभी गरेर तीन ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर पटक–पटक गरेर समय थप्दा पनि मन्दिरको तल्लो भाग पनि पूरा बनेको छैन ।

मनकामना मन्दिरको गजुरले नियालिरहेको छ उठ्न नसकेको रातो मछिन्द्रनाथको मूल मन्दिर। शिखर शैलीको मन्दिरको काम अहिले ठप्प छ।

मन्दिर निर्माणको ठेक्का सम्झौता भएपछि नै ठेकेदारले विभिन्न बहाना देखाएर निर्माणमा ढिलाइ गरेको मछिन्द्रनाथको पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताएका छन् । सकेसम्म पुरानै सामग्री प्रयोग गर्ने भनिए पनि चाहिने ३६ फिट लामो काठको व्यवस्था भने नयाँ गरिएको छ।

श्रीलंकाको आर्थिक सहयोगमा बनिरहेको रातो मछिन्द्रनाथ मन्दिरको काम पुनः सुरु भएर बनेको देख्‍ने सपना पूरा हुने दिनको पर्खाईमा रहेका बुङमतीका बासिन्दाले हालै थाहा पाएका छन्, ठेक्का पाएकै भित्रको एक कम्पनीसँग मन्दिर बनाएको अनुभव छ र उसले अब काम गर्ने छ। र पनि मन्दिर बनी सक्न अझै दुई वर्ष लाग्छ। त्यो बेलासम्म पक्कै वीरबहादुर, मानकुमारी र टीकाहरुको घरले पनि बलियो गारो र छानो पाउँछ होला, उनीहरुको आश र रातो मछिन्द्रनाथसँगको भर यस्तै छ।

तस्बिरहरु- प्रभात खनाल/देश सञ्‍चार 

बैशाख १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्