दुई युवाको प्रयोग अनि प्रयासको कथा

भूईँचालोले क्लिक गराएको ‘आइडिया’ जसले भयो ‘फाइदै फाइदा’

नाकमा आड लागेर टक्क चश्मा अडिएको छ। खाली निधार। गुजुल्टाएर बानेको छोटो कपाल । इस्तर राई जिन्सको पाइन्ट अनि जिन्सकै ज्याकेट, घुँडासम्म आउँने कुर्ता अनि कन्भर्स जुत्ता लगाएर टेबलमा हिसाब मिलाउँदै छिन्। ल्यापटपमा टाइप गरेको आवाज आइरहेछ ।

‘लगनखेलमा सामान लिन जानु छ’ इस्तरले भनिन्, ‘साँझ चेक–इन छ, त्यो भन्दा अगाडि नै म आइपुग्न पर्छ।’ उनी भएका एक युवालाई के–के बाँकी रहेको सोधिन् अनि एक महिलालाई भरे के–के पकाउनु पर्छ भनेर अराइन्।

विज्ञापन

युवा रिसेप्सनमा बसेका थिए। ‘नाना’ भनेर इस्तरलाई सम्बोधन गर्दा रहेछन्। उनले इस्तरलाई ब्रिफिङ गरे। ज्याकेटको खल्तीबाट पैसा निकालेर हेरिन्। त्यसपछि उनी लगनखेल जान व्याग बोकेर ‘लुम्बिनी हेरिटेज होम एण्ड रुफ टप क्याफे’ को ढोकाबाट बाहिर निस्किइन्।

सन् २०१२ मा

इस्तर राई

पाटनको ‘गोल्डेन टेम्पल’ पछाडि पर्छ ‘हिरा गेस्ट हाउस’ । इस्तर राई र अमन परियारको कर्मथालो। उनीहरु यही भेटिएका हुन्। अमन म्यानेजर थिए, इस्टर एसिस्टेन्ट। दैनिक १८ घण्टा यही गेस्ट हाउसमा दुईको बास हुन्थ्यो। कामै काम।

यही बिच इस्तर र अमनबिचमा फ्रेन्डसीप भयो। तीन वर्षसम्म एउटै कार्यालयमा काम गरे। यही समय अवधिमा एकअर्काको बानी पनि चिने। झापाकी इस्तर राई अनि बुटवलका अमन परियारबिच धेरै भिन्नता थियो।

इस्तर राई


२५ वर्षकी इस्तरले सिसिआरसी कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टू सकेकी छन्। परिवार भए पनि उनी बालगृहमा हुर्केकी हुन्। दुई वर्ष हुँदा बुवा बितेपछि परिवारले उनलाई बालगृहमा पठायो। इस्तरले ७ वर्ष अगाडिमात्र परिवारसँग पुनः भेट्न पाइन् ।

दिदी र भाइ पनि रहेछन्। आमालाई भेटेपछि उनले अड्कल काटिन्, ‘सायद आर्थिक अवस्थाले असहज बनायो र आमाले मलाई घर बाहिर पठाउने निर्णय लिनुभयो।’ सहज त आमालाई भएको थिएन होला, परिस्थितिले पारिल्याएको थियो काखे छोरी बिदा गर्ने बाध्यता । उनले गएको वर्षमात्र नागरिकता लिएकी हुन् ।

कपनको ‘कलरेन्स मेमोरी चिल्डेन होम’ नै उनको घर थियो। त्यही उनले पढिन्, बाहिरी संसारको कुरा बुझिन्। सबैलाई माया गर्ने, सहयोग गर्ने र आफ्नो उद्देश्य कसरी पूरा गर्ने भन्ने बारेमा उनले बालगृमा सिकिन्।

बालगृहमा बसेरै एसएलसी दिइकी थिइन् इस्तरले । अहिले त्यो बालगृह बन्द भइसक्यो ।

एसएलसीपछि उनलाई आफू आर्मी बन्छु जस्तो लाग्थ्यो। ‘मेरो स्वाभाव केटाको जस्तो थियो। रिस उठ्यो की लात्ती हान्ने ।’ इस्तर भन्छिन्, ‘मलाई किचनमा काम गर्न साह्रै मन पथ्र्यो तर पाएको थिइन। त्यसैले एसएलसी पछाडि एच एम पढ्न थाले।’

जे पढिन् त्यही गर्न थालिन्। अनि सन् २०१२ मा उनी काम गर्नको लागि ‘हिरा गेस्ट हाउस’ पुगिन्।

अमन परियार

 


अमन बिजनेस स्टडिका विद्यार्थी हुन्। बुटवलबाट पढाई अनि कामको लागि काठमाडौँ आएका हुन्। २७ वर्ष पुग्न आँटे। सानैबाट जिम्मेवारी उनको काँधमा परेको हो।

बुवा चाँडै नै बितेपछि उनी पढाईसँग काम गर्न थाले। उनी समाजिक काममा पनि सक्रिय छन्। पढाईसँगै काम गर्ने शिलशिलामा अमन ‘हिरा गेस्ट हाउस’ पुगेका थिए।

त्यसपछि,

दुवै लगनशील भएर काममा लागि परे। एकदमै मेहेनतका साथ। धेरैजसो दिनमा १८ घण्टा खटिन्थे। काम सिकिदै थियो। तलब बढ्दै थियो। अफिसले नाफा कमाएको ३ प्रतिशत कमिशन पनि दिन्थ्यो। त्यसेले उनीहरुलाई सन्तुष्टि पनि दिएको थियो।

अहिले त्यो बालगृह बन्द भइसक्यो । तस्पस्या गरेको जस्तरी काममा लागि परिरहँदा तीन वर्ष बितेको उनीहरुलाई पत्तो नै भएन। कलेज नियमित भएन, पढाई पनि छुट्यो।

त्यसपछि कामलाई नै सबथोक मानेर उनीहरु लागि परे। ‘हामीलाई बाहिरको बारेमा केही थाहा हुन छोड्यो, कामको नशा लागेको जस्तै भयो।’ इस्तर भन्छिन्, ‘सन् २०१५ मा सबै परिवर्तन भयो।’

भूईँचालोले हल्लाएपछि उनीहरु गेस्टहाउसबाट बाहिर निस्किए। गेस्ट पनि सँगै थिए। पाटनको नगरभित्रको बस्ती, साँघुरा गल्लिबाट निस्केर खुल्ला ठाउँमा जानु थियो। गोल्डेन टेम्पलको अगाडि खुल्ला ठाउँरहेछ, ‘नागबहाल’। यो ठाउँ हिरा गेस्ट हाउँसभन्दा ५०० मिटर पर थियो होला तर उनीहरुले यो ठाउँ देखेका थिएनन्।

गेस्टसहित तीन दिन त्यही खुल्ला ठाउँमा उनीहरुको बास भयो। नागबहाललाई वरपरबाट धेरै घरहरुले घेरेका छन् । यो मध्ये उनीहरुलाई एउटा घर नोटिस भयो। त्यहाँ पनि हस्पिटालिटि सम्बन्धी केही कामहरु हुन्थे, उनीहरुले यहाँ धेरै सम्भावना देखे। कामको अनुभव अनि ठाउँले उनीहरुलाई दूरदर्शिताको क्षमता दियो।

भूकम्पले धेरै क्षति गर्‍यो। प्रभावित ३२ जिल्लामा ललितपुर पनि एक हो। पाटन त झनै प्रभावित क्षेत्रमा पर्छ। चार वर्ष पूरै बितिसक्दा पनि यहाँका घर टेकाको सहारामा अडिएका छन्। धेरै भत्किए, कम मात्र बनिसकेका छन्। भूकम्प धेरैसँग केही केही लिएकै छ। कतिको ज्यान लियो कतिको घर। यसको प्रभाव इस्तर र अमनलाई पनि प¥यो, उनीहरुले जागिर गुमाए।

दुई वर्ष,


अमन परिवारमा बसेका केटा हुन्। घर व्यवहारको कुरा बुझेको र केही हदसम्म भोगेका युवा। तर इस्तर यो व्यवहारबाट टाढा थिइन्। यो छ महिना उनको लागि व्यवहारिक जीवनलाई अनुभव गर्ने मौका बन्यो। हुन त मान्छेले हरेक परिस्थितीलाई कुन आँखाले हेर्छ भन्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो। इस्तरले यसलाई अवसर मानिन्।

भूकम्पपछि स्वयंसेवाका क्रियाकलापमा अमनसँगै लागिन्। अमनले प्रोजेक्टहरु पनि ल्याए। उनी पनि त्यसमा सहभागी भइन्। बुटवलमा केही समय बसिन् घर व्यवहार बुझिन्। बालबालिकालाई पढाउने, खाना आगोमा पकाउने घाँस काट्ने जस्ता काम उनको लागि नौलो अनुभूति थियो र मिठो पनि भयो।

सन् २०१७,


पहिला काम गरिराखेको लज हाउस अर्कै साहुले सञ्चालन गरे, अर्कै नाममा । उनीहरुलाई त्यहाँ फेरि बोलाइयो। इस्तर म्यानेजर भएर गइन्, अमन चाँही आफै केही गर्ने प्रयासमा लागिपरे। यो उनीहरु दुवैको सल्लाह थियो। इस्तर काममा जानु आर्थिक भार कम गर्न एउटा आइडिया थियो।

भूईँचालो आउँदा नागबहालको घर आँखामा गडिएको थियो, त्यो घरमा आफै गेस्ट हाउस बनाउने प्रक्रियामा लागे। उनीहरुले नागबहालको त्यो घर १० वर्षको लागि सम्झौता गरे। अनि घरलाई आफ्नो शैलीमा ‘रेनोभेट’ गरे। घरको सजावत एकदमै आकर्षक बनाए।

पहिला उनीहरुले काम गरेको ‘हिरा गेस्ट हाउस’ का सञ्चालक लगायत अरुले उनीहरुको कामको चर्चा गरे। सेप्टेम्बरबाट सुरु गर्ने भनिएको गेस्ट हाउस अमनको घरको आन्तरिक समस्याको कारणले अलि पछि सर्‍यो तर खुल्न चाहिँ खुल्यो। इस्तरले राजिनामा दिइन् र अमनको बिजनेस पार्टनर भएर काम गर्न थालिन्। अनि त के चाहियो र?

काम गर्ने सीप छ। कनेक्सनको तरिका पनि थाहा भयो। दुवैमा आत्मविश्वास पनि थियो।

तर यसको लागि उनीहरुलाई ५०–६० लाख खर्च गर्नुपर्‍यो, लगानी थाहा पाएपछि केहीले ‘मूर्ख’ भने। जग्गामा पैसा लगानी गर्ने सल्लाह दिए। घरलाई नयाँ छनक दिनुप¥यो, सामान राम्रो जोड्नुपर्‍यो। आफूले कमाएको, आफूसँग भएको सबै सम्पत्तिलाई धरौटी राखेनर अमन र इस्तरले खर्चको जोहो गरे। माग्न मिल्ने र ऋण गर्न मिल्ने कुनै पनि ठाउँ बाँकी राखेनन्। दुवैको कामप्रतिको लगनशीलता, इमानदारिता र मेहनतले दुई वर्षमा नै धेरै परिवर्तन ल्यायो। उनीहरुलाई पहिला मूर्ख भन्नेहरु अहिले उनीहरुको तारिफ गर्न हिचकिचाउँदैनन्।

अनि ‘देर इज नो सिक्रेट सक्सेस। इट इज द रिजल्ट अफ प्रिप्रेरेसन अफ हार्ड वर्क एण्ड लर्निङ फ्रम फेलियर’ अर्थात्, सफलताको कुनै गोप्य सूत्र हुँदैन। यो कडा मेहनत र असफलतापछिको सिकाईको अभ्यासको नतिजा हो। संयुक्त राज्य अमेरिकाका गृह मन्त्रालयका एक अधिकारी कोलिन पावेलले भनेजस्तै भयो।

भूकम्पका भत्किएका घरका काठहरुको प्रयोग,


गेस्ट हाउसलाई राम्रो बनाउन उनीहरुले कम खर्चमा आकर्षक बनाउने हरेक आइडिया लगाए। नेवारी टोलमा भएको गेस्टहाउसमा पुरानो नेवारी रहनसहन त अनिवार्य नै भयो। त्यसको लागि घरबेटीले तामा, किट, पित्तल अनि चरेशका थाल, कहरुवा, पाथी, गाग्री अनि घ्याम्पो पनि छोडेका थिए। त्यसमा नै उनीहरुले थप गरे। परम्परागत झ्याल, ढोका अनि भर्‍याङ्ग।

भूकम्पले भत्काएका घरको झ्याल ढोका ल्याउदा उनीहरुलाई आर्थिक रुपमा फाइदा भयो। ‘हामीले यो काठ फर्निचरमा नयाँ बनाउन दिएको भए धेरै खर्च लाग्थ्यो। तर हामीलाई पुरानो ल्याउन पाउँदा धेरै फाइदा भयो।’ इस्तरलाई अग्राखको नयाँ काठको मूल्य महङ्गो हुन्छ भन्ने थाहा छ।

धेरैजसो विदेशी पाहुनाले नेपालमा प्राकृतिक जीवनको मजा लिन खोज्छन्। यो साइकोलोजिलाई उनीहरुले पूरा गर्न खोजेका छन्। बेतका मेच अनि टेबलहरु ढलान घरमा सुन्दर लाग्छन्। गेस्ट हाउँमा जम्मा ७ ओटा कोठा छन्। सबै कोठामा ‘एन्टिक र मोर्डन’ को मिश्रित भाव आउँछ ।

उनीहरुले गेस्ट हाउँसलाई ‘सेकेन्ड होम’ भनेका छन्। ग्राहकहरु पनि उनीहरुको व्यवहारले खुशी छन्। इस्तर यहाँ आउने बिदेशी पाहुनालाई नेपाली खाना पकाउने कक्षा पनि दिन्छिन्। यो अर्को आम्दानीको स्रोत बनेको छ। उनीहरु इच्छुक पाहुनालाई टुरमा पनि लैजान्छन्।

दुई वर्षमा यी बिजनेस पार्टनरले गेस्ट हाउसलाई खडा गर्न धेरै कुरामा ‘कम्परमाइज’ गर्नुप¥यो। इस्तर भन्छिन्, ‘अब त बाटो सजिलो हुन थाल्या छ तर जहिले पनि ऋण याद आउँछ।’ उनीहरुको लगनशिलता देखेपछि उनीहरुलाई भिन्न भिन्न अफरहरु पनि आउँछ। ‘हामी सरी भन्छाैँ।’

दुई वर्षमा पैसासँगै मानिसको विश्वास कमाएका छन्, सर्कलमा नाम कमाएका छन्। सबैभन्दा ठूलो कुरा खुशी कमाएका छन्। सात कोठाको गेस्ट हाउसबाट सुरु भएको व्यवसायलाई ‘चेन होटल’ को रुपमा बिस्तार गर्ने योजना छ। उनीहरु रातदिन नभनी लागि परिरहेका छन्।

गेस्ट हाउसको बाहिरको खाली ठाउँमा बच्चाहरु खेलिरहेका थिए। पल्लो घरको भूईँलामा शिल्पकार मूर्ति खोप्दै गरेका देखिन्थे। मोबाइलमा बजेको एफएममा गीत बजिरहेको थियो,

‘जाग लम्क चम्क हे नव जवान हो,
आफ्नै ढंगले नयाँ रंगले।’

बैशाख १४, २०७६ मा प्रकाशित