स्तब्ध पिएसजी, नेइमारको गोलका बाबजुद उपाधि बिहीन, एमबाप्पेलाई रेड कार्ड

पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै रेनले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

फ्रेन्च कप फुटबलको शनिबार राति भएको फाइनलमा निर्धारित र थप गरिएको समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा रेनले पिएसजीलाई ६–५ ले हराएको हो ।

निर्धारित समयको खेलमा १३ औँ मिनेटमा डानी अल्भेसको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो । २१ औँ मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर पारे ।

तर ४० औँ मिनेटमा पिएसजीका प्रेसनल किमपेम्बेले आत्मघाती गोल गरेपछि पहिलो हाफमा पिएसजी २–१ ले अघि रह्यो । ६६ औँ मिनेटमा मेसेरले रेनका लागि बराबरी गोल गरे ।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा अर्थात खेलको ११८ औँ मिनेटमा फउल गरेका केलिएन एमबाप्पे सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।

विजेता टुंगो लगाउन भएको पेनाल्टीमा पिएसजीका क्रिष्टोफर एनकुन्कुले गोल गर्न सकेनन् र पिएसजी उपाधिबाट वञ्चित भयो ।

लिग वान च्याम्पियन्स पिएसजीले पछिल्लो चार वर्ष लगातार फ्रेन्च कपको उपाधि पनि जितेको थियो । रेनले भने सन् १९७१ पछि पहिलोपटक फ्रेन्च कपको उपाधि पक्का गरेको हो ।

बैशाख १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्