लोकसभा चुनावको चौथो चरण

कन्हैया कुमारसहितका चर्चित उम्मेदवारको भविष्यको फैसला हुँदै

चुनाव प्रचारको क्रममा कन्हैया कुमार ।

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत सोमबार चौथो चरणको मतदान सुरु भएको छ । यो चरणमा १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान हुँदैछ ।

यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान हुँदैछ । यसतै राजस्थान र उत्तर प्रदेशमा समान १३–१३, पश्चिम बंगलामा ८, मध्य प्रदेश र उडिसामा ६–६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि मतदाताले आफ्नो मत दिँदै छन् ।

अहिलेसम्म तीन चरणमा कुल ३०२ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३७३ पुग्ने छ ।

यो चरणको चुनावमा पहिलो पटक चुनावी मैदानमा रहेकी अभिनेत्री उर्मिला मातोंडकर तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमार जस्ता चर्चित उम्मेदवारका सिटमा मतदान हुँदैछ र यसमा सबैको नजर छ ।

उर्मिला कांग्रेसको टिकटमा उत्तरी मुम्बईबाट उम्मेदवार छिन् । यस्तै कन्हैया कुमार आफ्नो गृहनगर बेगुसरायबाट भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) को टिकटमा उम्मेदवार बनेका छन् । बेगुसरायमा आरजेडीका उम्मेदवार तनवीर हसन र भारतीय जनता पार्टीका उम्मेदवार गिरिराज सिंह पनि रहेकाले चर्चा उच्च छ ।

मध्य प्रदेशको छिंदवाडाबाट नौ पटक सांसद बनेका कमलनाथका छोरा नकुल नाथ चुनावी मैदानमा छन् ।

डिम्पल यादव

यस्तै पश्चिम बंगालको आसनसोल सिट पनि चर्चामा छ । यो सिटमा राज्यको सत्तारुढ तृणमूल कांग्रेसबाट अभिनेत्री मुनमुन सेन तथा भाजपाबाट गायक बाबुल सुप्रियो उम्मेदवार छन् ।

यस्तै उत्तर प्रदेशको इटावा र कन्नौज सिट चर्चामा छन् । कन्नौजबाट राज्यका पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमती डिम्पल यादव उम्मेदवार छन् भने इटावामा भाजपाका रामशंकर कठेरिया चुनावी मैदानमा छन् ।

यसैगरि राजस्थानको जोधपुर सिट चर्चामा छन्, यो सिटमा भाजपाका तर्फबाट केन्द्रीय कृषि राज्य मन्त्री गजेन्द्र सिंह शेखावत चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसका तर्फबाट राज्यका पूर्व मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत चुनावी मैदानमा छन् ।

सात चरणमा भइरहेको यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।

भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।

सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।

निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।

अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् ।

भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।

पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।

मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।

केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्