धर्म प्रचारमा सँगै पक्राउ परेका नेपालीलाई मुद्दा, अमेरिकनलाई छुट

काठमाडौं- धर्म परिवर्तन गराउँदै हिँडेकी एक अमेरिकी महिलालाई अध्यागमन विभागले कारबाही नगरी छाडेको पाईएको छ। दाङ प्रहरीले बैशाख १० गते डिल्लीराम पौडेल, कुन्साङ तामाङ , भारतीय गौरव श्रीवास्तव र अमेरिकी महिला ५० वर्षीया सिन क्वान्टालाई पक्राउ गरेको थियो।

स्थानीय प्रहरीले दुई नेपाली र भारतीयलाई धर्म प्रचार तथा परिवर्तन गराउने कसुरमा मुद्धा चलाएको थियो भने क्वान्टालाई देश निकाला गर्न सिफारिससहित अध्यागमन विभागलाई   पत्राचार गरेको थियो। तर विभागले क्वान्टालाई कारबाही नगरि छाडेको स्रोत बताउँछ। उनको एक महिने टुरिस्ट भिसा मे ४ तारिखमा सकिँदै थियो। स्रोतका अनुसार नेपाल आएलगत्तै क्वान्टा दाङतर्फ लागेकी थिइन्।

‘दिनभर उनिहरु धर्म प्रचार गराउँदै हिँडेको र धर्म परिवर्तनका गतिविधी गरिरहेको सुचना प्राप्त भएको थियो’, स्थानीय प्रहरी स्रोत भन्छ,’ बेलुका होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडीमा ठुलो मात्रामा क्रिश्चियन धर्म प्रचारका सामग्रीहरु भेटिए।’ प्रहरीको साथ लगाएर काठमाडौं पठाईएकी क्वान्टा क्रिस्चियन र अमेरिकी दुतावासको दबाबमा छुटेको स्रोतको दावी छ। क्रिश्चियन नेताकै जिम्मा लगाएर क्वान्टालाई पठाईएको बताईएको छ।

अध्यागमन विभागका महानिर्देशक इश्वराज पौडेलले प्रमाण नपुगेका कारण क्वान्टालाई छाडिएको दावी गरे। ‘उनीविरुद्ध मुद्धा चलाउन हामीसँग पर्याप्त प्रमाण थिएन। अर्कोतर्फ त्यही कसुरमा दाङ प्रहरीले पनि मुद्धा चलाएको थियो। एउटै मुद्धा किन टुक्रयाएर चलाइयो भन्नेमा छक्क परेको छु। प्रमाणजति सबै दाङ प्रहरीले राखेर हामीलाई मान्छेमात्र बुझाएपछि कसरी मुद्धा चलाउनु ?’, सहसचिवसमेत रहेका पौडेलले भने।

१० वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने अधिकार अध्यागमन विभागलाई भएपनि दबाबमा क्वान्टा छुटेको बताइन्छ। हाल दाङ प्रहरीको हिरासतमा रहेको ती तीन जनाबारे अनुसन्धान गरिरहेका अधिकारी भन्छन्, ‘ क्रिश्चियन धर्म प्रचारमा क्वान्टाले नेपालीलाई ठुलो लगानी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

टुरिस्टलगायत विभिन्न भिसामा नेपाल छिरेर विदेशीहरु धर्म प्रचार र परिवर्तन गराउने गतिविधीमा संलग्न रहेको यसअघिका विभिन्न घटनाबाट देखिएका छन्। भिसाको म्याद सकिएपनि अवैध रुपमा बस्ने र गैह्रकानुनी क्रियाकलाप गर्ने गरेको पाईएपनि अध्यागमन विभागको नियमन कमजोर भएका कारण यस्ता गतिविधी निर्वाद देखिन्छन्।

दाङ प्रहरीले केही समय अघि तीन जना जापानीलाई पक्राउ गरि पछि तारेखमा राखेको थियो। अनलाइन स्टडिजको नाममा पोखरा आएका उनिहरु पछि दाङमा घर भाडामा लिएर बसेका थिए।  क्रिश्चियन धर्म प्रचारमा शंकास्पद गतिविधी भेटिएपछि उनिहरुलाई पक्राउ गरि पछि तारेखमा राखिएको थियो। हाल उनिहरुले तारेख धाउन छाडेको स्थानीय प्रहरी बताउँछन्। तीमध्ये ३३ वर्षीय किमे यामाजाकीको भिसाको अवधि पनि सकिएर ‘ओभर स्टे’ थिइन्।

मुलुकी फौजदारी अपराधसंहिता २०७४ अनुसार धर्म प्रचार तथा परिवर्तन गराउने गतिविधीमा संलग्न रहेको पाइए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। मुलुक धर्म निरपेक्ष राष्ट्र घोषणा भएयता विषेशगरि क्रिस्चियन धर्मका गतिविधिहरु ह्वात्तै बढेका छन्। दाङमा मात्र एक सयभन्दा बढी चर्चहरु रहेको बताईएको छ।

लमहीमा क्रिस्चियनको ‘याहोआको राज्य’   

पछिल्लो समय दाङमा क्रिस्चियनका गतिविधीहरु ह्वात्तै बढेका छन्। लमही क्षेत्रमा ठुलो संख्यामा जापानीज,कोरियनसहितका विदेशी घर भाडा लिएरै बसेको स्थानीय अधिकारी बताउँछन्।

उनीहरुले लमहीको स्थानीय एक स्थानलाई अघोषित  ‘याहोआको राज्य’ भन्दै आएका छन् जसको अर्थ हुन्छ गैह्र क्रिस्चियनहरुलाई त्यस क्षेत्रमा बस्न अनुमति छैन भन्‍ने।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू