खुलामञ्चमा भत्काइएका सटरवालाले पाउलान् त क्षतिपूर्ति ?

काठमाडौं- चरम विरोधपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका अवैध सटरहरुमाथि डोजर लगाएका कारण सटर भाडामा लिएकाहरुको लाखौँ रुपैया बालुवामा पानी खन्याएजस्तै भएको छ।
पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालीले खुलामन्चमा ४३ वटा सटर बनाएर भाडामा लगाएको थियो। धेरै सटर हालसालै मात्र भाडामा लगाईएको थियो।
‘ ९/१० लाख रुपैयाँसम्म सलामी रकम लिएर सटर भाडामा लगाईएको बुझेका छौँ तर कोहीपनि उजुरी गर्न आएको छैन’, जन सेवा प्रहरी वृतका प्रमुख डीएसपी बासुदेव खतिवडाले भने। सलामी नियमित मासिक भाडा रकमभन्दा छुट्टै रकम हो।
प्रहरीका अनुसार भाडामा लगाउँदा कम्पनी र भाडामा लिनेहरुबीच कुनै लिखित सम्झौतासमेत भएको देखिँदैन। ‘ उनिहरुले कति तिरेर सटर हात पारेका हुन् भन्ने कुनै लिखित प्रमाण अहिलेसम्म भेटिएको छैन। तर कोही म ठगिँए भनेर आउँछ भने हामी अनुसन्धान गर्छौँ’, खतिवडा भन्छन्।
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालीका मनोज भेटवालले केहीलाई बोलाएर पैसा दिएको बताईएपनि त्यसबारे बाहिर हल्ला नगर्न सहमती गरेको बताईएको छ। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालीले सटर बनाउने र बाँकी डेकोरेसनको काम व्यवशायी आफैले गरेको बुझिएको छ।
नयाँ बसपार्कमा भ्यु टावर बन्नेभएपछि त्यहाँका सवारीको अस्थायी व्यवस्थापनका लागि जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालीले महानगरसँग खुलामन्चमा राख्ने सहमती गरेको थियो। सहमतीअनुसार नक्साभित्र पर्ने स्थानमा मात्र केही सटर बनाउन सक्ने उल्लेख भएपनि त्यसभन्दा बाहिर ब्यापारिक प्रयोजनका लागि सटरहरु बनाईएपछि तिव्र विरोध भएको थियो।
तीन वर्षभित्र बन्ने भनिएको भ्यु टावर कहिलेसम्म तयार हुन्छ भन्ने अझै निश्चित छैन। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालीले २०७३ सालमा भ्यु टावर निर्माणका लागि कार्यादेश पाएको थियो। भ्यु टावर तयार भएपछि खुलामञ्चमा राखिएको अस्थायी बसपार्क पुरानै स्थानमा ब्यवस्थापन हुने छ।