फेवा किनारमा ४ करोड लगानीमा माछापुच्छ्रे प्रतिविम्बित पार्क

पोखरा-पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा माछापुच्छे« प्रतिविम्ब पार्क निर्माण गरिने भएको छ ।

पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यास पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

पोखराका तालहरु र सुन्दरताको संरक्षण गर्न पोखरा महानगरपालिकासँग प्रदेश सरकार पनि सँगै रहेको सन्देश यो कार्यक्रमले दिएको बताए ।

ताल संरक्षण विकास प्राधिकरणको गठनको काम समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । गण्डकी प्रदेश भित्र रहेका तालतलैया, कुवा पोखरी संरक्षणका लागि सरकारले ताल संरक्षण सम्बन्धी कानुन बनाइसकेको छ ।

मेयर मानबहादुर जिसीले ३ वटै सरकारको समन्वयमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । उनले पार्क निर्माणसँगै पोखराका अर्को पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे ।

फेवातालमा माछापुच्छे« हिमाल र राष्ट्रिय झण्डाको एकै समयमा प्रतिविम्ब देखिने गरी पार्कको डिजाइन गरिएको पोखरा महानगरपालिका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए ।

उनका अनुसार पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा राखिने छ । फेवाताल किनारमा करिब ४ करोडको लगानीमा निर्माण गरिने पार्कमा पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ ।

बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गतेसम्म समय सिमा तोकिएको छ । यो काम गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र पोखरा महानगर पालिकाले आधा÷आधा रकम बेहोर्ने भएका हुन् ।

पार्कमा जाने छुटै पुलको व्यवस्था, पानीको फोहोरा, टिकट काउन्टर, पिउने पानीको व्यवस्था, शौंचालय, बाल उद्यान, पेभेलियन, चिया पसल, खुल्ला व्यायाम स्थल र ८० फिट अग्लो राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण गरिने छ ।

पार्क भित्र रहेको नागको मन्दिरलाई पनि व्यवस्थित गरिने खड्काले जानकारी दिए । पार्कको डिजाइन इन्जिनियर किसान गुरुङ र सोफिया गुरुङले गरेका हुन् ।

फेवाकिनार ड्यामसाइडमा निर्माण गरिने पार्कको डिजाइन । तस्बिर स्रोतः महानगर सचिवालय

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू