लुम्विनी भ्रमण वर्ष–२०७६’

लुम्बिनी घुम्न कर्णालीलाई निम्तो !

सुर्खेत-कर्णालीबासीलाई गौतम बुद्धको जन्मस्थल लुम्विनी घुम्न निम्तो दिइएको छ। ‘लुम्विनी भ्रमण वर्ष–२०७६’ घोषणा गरेको प्रदेश ५ को सरकारले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत कर्णालीबासीलाई लुम्विनी घुम्न निम्तो दिइएको हो।

प्रदेश ५ सरकारको तर्फबाट भ्रमण वर्ष प्रचार–प्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले मन्त्री बुढामार्फत् लुम्विनी भ्रमणका लागि प्रदेशबासीमा निम्तो पत्र हस्तान्तरण गरेका हुन्। प्रदेश ५ को सरकारले ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको छ।

लुम्बिनी घुम्न आउने पर्यटकको संख्या २५ लाख पुर्‍याउने उद्देश्यसहित प्रदेश ५ सरकारले यो वर्षभरी लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको हो। भारतसहित विदेशी मुलुकबाट हाल पाँच लाख बाह्य पर्यटकहरु लुम्बिनी पुग्‍ने गरेका छन्।

प्रदेश पाँचको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार १२ लाख आन्तरिक पर्यटकहरु बुद्ध जन्मस्थल लुम्विनी पुगेका छन्। वार्षिक रुपमा १७ लाख पर्यटकहरुले लुम्विनी अवलोकन गर्ने गरेका छन्।

भ्रमणको निम्तो ग्रहण गर्दै मन्त्री बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताए।‘आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्ण रुपमा साथ दिनेछ’ उनले भने,‘म मात्रै होइन्, कर्णालीबासीलाई एक पटक महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनि पुग्न अनुरोध गर्छु।’

उनले लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काँक्रेविहारलगायत बौद्धस्थलहरुको प्रवद्र्धनका लागि समन्वय गर्न प्रदेश पाँचको सरकारलाई आग्रह गरे। भ्रमण वर्षले पर्यटक आगमन वृद्धि हुने भन्दै उनले कर्णाली प्रदेश सरकारले एक सय एक पर्यटकीय स्थलको पहिचान गर्ने बताए। ‘कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्यांक संकलनलाई व्यवस्थित गर्न लागि परेका छौं’ उनले भने।

प्रचार प्रसार सचिवालय सदस्य आचार्यले लुम्बिनी घुम्न आएर कम्तीमा ३ दिन बिताउन अनुरोध गरे। ‘कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पुर्‍याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो’ आचार्यले भने।

लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले बताए।

यस्तो छ, भ्रमण वर्षको कार्यक्रम


भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास प्रदेश ५ को सरकारले लिएको छ।

भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ। कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍ याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो।

प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए।

भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सीपी खनालले जानकारी दिए।

लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर, भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने छ।

गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ।

भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ।

२२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा प्रदेश पाँचको मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो।

बैशाख १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू