साहसको सफलता-चार स्टोरी एकसाथ

शारीरिक दुर्वलतालाई पराजित गर्दै अघि बढेका नायकहरु

अपांगता भएका व्यक्ति सामर्थ्य बिहीन हुन्छन् भन्ने मान्यता अझै पनि व्याप्त छ। उनीहरुलाई बोझका रुपमा लिने या तिरस्कार गर्नेहरुको संख्या पातलो छैन। अनि आफै त कमजोर अरुलाई के सिकाउलान्? भन्ने कटाक्ष गरिन्छ।

तर, यही समाजमा केही यस्ता अनुकरणीय या ‘रोल मोडल’ छन्, जसले आफूभित्रको सामाथ्र्य मात्र फेला पारेनन्, आफू जस्तैको जीवन बदल्ने अभियानमा पनि अगुवाई गरे।

परिस्थितिका प्रतिनिधि पात्र फरक भए पनि उनीहरुले सामना गरेको पीडा उस्तै छ। असामान्य जीवन बनेपछि बाँच्नुको के अर्थ छ र ? भन्ने द्धन्द्धमा पिल्सिए पनि अन्ततः त्यसबाट निराश हैन उनीहरुले स्वसिर्जित आत्मविश्वास बढाए।

अपांगता भएका सिन्धुपालचोकका ५० वर्षीय भोजराज श्रेष्ठ, रुकुमका कृष्ण गौतम र गुल्मीकी लक्ष्मी कुँवरको पृष्ठभूमि फरक छ। लामो समय उनीहरुले एक्लाएक्लै संघर्ष गरे, व्यक्त गर्न नसक्ने पीडा भोगे । तर आफ्नो जीवनको सौन्दर्य र सान्दर्भिकता स्थापित गर्नुका साथै अरुलाई पनि आत्मबल प्रदान गर्ने काममा एकै ठाउँमा छन् अहिले, व्हीलचियर उनीहरुको साझा सहयोगी साधन हो।

ललितपुरको सानेपास्थित स्वाभलम्बन जीवन पद्दती केन्द्र आत्मविश्वास सञ्चारको एउटा त्यस्तै जीवन्त संस्था बन्न पुगेको छ। घरभित्र सुत्न बाध्य बनेका पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिलाई स्वाबलम्बन बनाउने प्रयासमा केन्द्र छ। अर्थात त्यस्ता व्यक्तिहरुलाई आफ्नो सम्पूर्ण काम आफै गर्न सक्षम बनाउँदै छ।

विभिन्न खाले आन्दोलनले अपांगता भएका व्यक्तिको हकअधिकार कानुनीरुपमा सुनिश्चित भएपनि बाहिर निस्किसकेकाहरु बढी लाभान्वित भए त्यसबाट। उपयुक्त सहयोगी सामग्री, प्रविधि, भौतिक पूर्वाधार र राज्यबाट प्राप्त गर्नु पर्ने सेवा-सुविधाको अभावमा कयौँ अपांगता भएकाहरु अध्याँरो कोठामा अनिश्चित र निराशाको जीवन चलाउन बाध्य छन्।

ओछ्यानमै दिनरात बिताउन बाध्य भएकाहरुलाई भोजराजको समूहले व्हीलचियरमै पुगेर उठाउँछ। सकेसम्म आफ्नै कार्यालयमा ल्याएर परामर्श गर्छ अनि आफैले आफ्नो काम गर्न सक्षम बनाउँछ, तालिम र आत्मविश्वासको उपहारहरुमा।

पूर्ण र अतिअशक्त अपांगता भएकाहरुलाई राज्यबाट सेवा सुविधा उपलब्ध गराउन उच्च निकाय पनि धाउने गर्दछन् केन्द्रका सञ्चालकहरु । खासगरि त्यसको नेतृत्व केन्द्रका अध्यक्ष भोजराजले गर्छन्।

सम्बन्धित स्टोरीहरु

भाँचिएको ढाडले रोकेन नेशनल च्याम्पीयन हुन

अपांगता क्षेत्र सुधारका योद्धा

परदेशमा बटुलेको अठोट

एउटा आत्मविश्वास बोकेर २०६२ साल मंसिर ९ गते भोजराज र उनी जस्तैले काठमाडौँ स्वावलम्बन जीवन पद्दति केन्द्र जन्माए। ९ जना सदस्य थिए जम्मा सुरुमा। अहिले सयौँले केन्द्रको अभियानलाई आफ्नो अभियान बनाएका छन्।

केन्द्रकै दबाबका कारण सरकारले पूर्ण र अति अशक्त अपांगता भएकालाई मासिक २ हजार भत्ता दिन थाले पनि त्यो पर्याप्त थिएन। जीवन कष्ठकर नै थियो।

अभियान जारी राख्दै उनीहरुलाई त्यसबाट मुक्त बनाउन ६ वर्षपछि उनीहरुले ललितपुर स्वावलम्बन जीवन पद्दति केन्द्रबाट काम गर्न थाले। यो अवधिमा करिब पाँच सयजना पूर्ण र अतिअशक्त अपांगता भएकालाई उनीहरुले स्वावलम्बन जीवन पद्दतिबारे तालिम दिइसकेका छन्।

सयौँलाई सहयोगी सामग्रीका रुपमा व्हीलचियर समेत दिएका छन्। त्यसले उनीहरुको क्रियाकलाप, कार्यक्षमता र आत्मविश्वास बढाएको छ।
ललितपुरको सिंचाहिटीमा करिब १० वर्षदेखि घरमै थला परेका ३२ वर्षिय किरण सिल्पकार उनीहरुको सेवाबाट लाभान्वित भएको त्यसको एउटा उदाहरण हुन् केन्द्रको सोच र सहयोगको।

केन्द्रलाई लामो समयदेखि यो काममा सहयोग गर्दै आएको जापानको एउटा टोली र केन्द्रका पदाधिकारी आइतबार किरण भएको ठाउँमा पुगे र उनको पछिल्लो अवस्थाबारे विवरण संकलन गरे।

किरण भन्छन्, ‘म पहिले भन्दा परिवर्तन भएको छु, आत्मविश्वास बढेको छ। केही गर्ने आश जागेको छ, अपांगमैत्री नयाँ घर बनाएर बस्ने सुरमा छु।’

अहिले यी सबै उपलब्धी पछि आफूले अपांगताको क्षेत्रको सुधारका लागि ३० वर्ष खेर फाले जस्तो लाग्छ भोजराजलाई। ‘अहिले पनि घरभित्र नाजुक अवस्थामा आफू जस्तैलाई भेट्यो भने अझै मैले केही गर्न सकेको रहेन छु जस्तो पनि लाग्छ। हाम्रो अभियान समाज र सरकारको प्राथमिकतामा प¥यो भने अधिकार पाउनु पर्ने सबैले त्यो पाउने छन्’, उनले भने।

अपांगतालाई हेर्ने दृष्टीकोण अझै नकारात्मक रहेको भोजराज बताउँछन्। ‘हेप्ने, कुरा काट्ने र सहयोग नगर्ने प्रवृति त छँदै छ, नीति निर्माणका बेला उच्च निकायमै पुग्दा भौतिक संरचना हामीप्रति कति संवेदनहिन छ, बुझ्न सकिन्छ। व्हीलचियर फस्छ, धकेलिदिनुको सट्टा ‘विचरा’ भन्दै हिँड्छन् पढेलेखेकाहरु’ उनले भने।

पूर्ण र अतिअशक्त अपांगता भएकाहरुको अवस्थालाई लिएर कृष्ण पनि गम्भीर छन्। अपांगता भएका व्यक्तिकै संघर्षले नेपालको संविधान र नीति उनीहरु अनकुल बन्न सके पनि व्यवहारमा अझै लागु नभएको उनी बताउँछन्।

लक्ष्मी भन्छिन्, ‘लामो संघर्षपछि अपांगता भएकाहरुलाई सरकारले सेवासुविधा त बढाएको छ तर अपांगमैत्री वातावरण अझै निर्माण हुन सकेको छैन।’

लक्ष्मीको समूहको लडाईँपछि ओलम्पीकमा भाग लिएकाहरुलाई मासिक तीन हजार भत्ता दिन सरकार बाध्य भएको छ, हालै। तर त्यो पर्याप्त छैन उनीहरुका लागि।

‘हामीले गर्दा उनीहरु अव बाँच्छु र केही गर्छु भन्छन्। काम अझै धेरै गर्न बाँकी छ। घरभित्र आसा मारी सुत्न बाध्य भएकाहरुलाई जीवनको महत्व बुझाउनु छ। परामर्शबाट समाजमा उनीहरुलाई पुर्नस्थापना गर्नु अर्को ठूलो चुनौति छ,’लक्ष्मीले भनिन्।

केन्द्रको नीति, कार्यक्रम निर्माण र प्रशासनिक कामको जिम्मेवारी निवार्ह गर्दै आएका कृष्ण जब केन्द्रको घरदैलो कार्यक्रममा निस्केर आफू जस्तैको जीवन बदल्ने कसरत गर्छन त्यसलाई सबैभन्दा सन्तुष्टि दिन्छ।

भिडियो यहाँ हेर्नुहोस्:

सबै तस्बिर : रविन आचार्य/देश सञ्चार

बैशाख १७, २०७६ मा प्रकाशित