धर्म परिवर्तन गराउँदै हिँड्ने विदेशीलाई किन कारबाही हुँदैन?

काठमाडौं- दाङमा गत साता धर्म परिवर्तनका गतिविधिमा संलग्न रहेको पाइएपछि स्थानीय प्रहरीले अमेरिकी महिला सिनक्वान्टा ओलिएना मेलाई पक्राउ गरी अध्यागमन विभाग पठायो।

क्रिश्चियन नेता र अमेरिकी राजदूतावासको दबाबमा क्वान्टालाई विभागले कुनै कारबाही नगरी छाड्यो। पर्यटक भिसामा एक महिनाअघि नेपाल आएकी क्वान्टा स्वदेश फर्किइएकी छैनन्। दाङ प्रहरीले तत्काल देश निकाला गर्न आशयसहितको पत्राचार गरे पनि विभागले उनलाई त्यसो गरेन।

क्वान्टाको साथमा पक्राउ परेका दुई नेपाली र एक भारतीयलाई भने दाङ प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरुविरुद्ध धर्म परिवर्तन गराउने कसुरमा मुद्धा अघि बढिरहेको छ। यो कसुरमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

चैतको अन्तिम साता रुपन्देहीको सैनामैनाबाट दुई जना जापानी पक्राउ परे धर्म परिवर्तन गराउँदै हिँडेको अभियोगमा। यी जापानी दम्पतीलाई तत्कालै अध्यागमन विभाग पठाइयो। विभागको सिफारिसमा गृह मन्त्रालयले उनिहरुलाई पाँच वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि निष्काशन गरेको छ।

धर्म परिवर्तन गराउने कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाउने कानुनी व्यवस्था हुँदाहुँदै पक्राउ गरी सोझै अध्यागमन विभागलाई बुझाउने गरिएको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी धर्म परिवर्तनका गतिविधिमा विदेशी ‘ब्याक’ बसेर काम गर्ने भएकाले पर्याप्त प्रमाण जुटाउन समस्या हुने बताउँछन्। ‘ त्यसैले उनीहरुलाई मुद्धा चलाउनुभन्दा अध्यागमनलाई बुझाउने गरेका छौँ’, एसएसपी सुवेदी भन्छन्।

नेपाल आउने विदेशीका गतिविधिमा निगरानी हुन नसक्दा खुलेहाम गैह्रकानुनी क्रियाकलापमा उनीहरु संलग्न हुने गरेको देखिएको छ। नेपाल प्रहरीको अपराध तथ्यांकअनुसार पछिल्लो चार आर्थिक वर्ष (चालु आर्थिक वर्षसहित) धर्म परिवर्तन गराउने कसुरमा केवल पाँच वटा मुद्धा दर्ता भएका छन् जसमा पक्राउ परेका सबै नेपाली हुन्। चालु आर्थिक वर्षमा धर्म परिवर्तन गराउने कसुरमा दुई वटा मुद्धा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी र अध्यागमनको कमजोर निगरानी 

नेपाल छिर्ने विदेशी सुरुमा पर्यटक भिसामा प्रवेश गर्छन्। पर्यटक भिसाको मर्मविपरित उनिहरु काम गर्ने गरेको पाईएको छ। केही समय अघि पर्यटक भिसामा नेपाल आएकी एक रुसी महिला भिसा परिवर्तन नगरिकनै रसियन कल्चर सेल्टरमा काम गर्न थालेको सुइँको अध्यागमनले उजुरी परेपछि मात्र थाहा पायो।

हाल ती महिलालाई वर्किङ भिसा लिनका लागि अध्यागमनले पर्यटक भिसाको अवधी एक महिना लम्ब्याई दिएको छ। केही समयअघि मात्र एक पाकिस्तानी नागरिक ओभर स्टेबापत करिब ४० लाख रुपैयाँ जरिवाना तिरेर स्वदेश फर्किएका थिए।

उनी भिसाको अवधी सकिएपछि पनि १२/१३ वर्ष नेपालमा बसेका थिए। तर अध्यागमन विभाग र प्रहरी दुवैले यसको चाल पाएन। एक बेलायती महिला पनि तीन वर्षभन्दा बढी ओभर स्टे भएपछि अध्यागमनको सम्पर्कमा पुगेकी थिइन्।

जरिवाना तिर्न नसकेपछि हाल उनी कारागारमा छिन्। ‘ विदेशी नागरिकको गतिविधी र उनिहरु यहाँ आउनुको उदेश्यबारे प्रहरीलाई जानकारी गराईए हामीलाई पनि काम गर्न सजिलो हुन्छ’, दाङ प्रहरी प्रमुख एसपी बेल पान्डे भन्छन्।

सन् २०१८ मा मात्र पाँच सय ६४ जना विदेशीलाई ओभर स्टेका कारण कारबाही गरिएको थियो। तीमध्ये ३ सय ५६ जना चिनियाँ नागरिक थिए। यसैगरि ४१ जना अमेरिकी, १६ जना पाकिस्तानी, ९ जना बेलायती, ८/८ जना रुसी र श्रीलंकन थिए। बाँकी अन्य विभिन्न देशका नागरिक थिए।  ‘धेरै जना आफै अध्यागमनको सम्पर्कमा पुगेपछि मात्र उनिहरु ओभर स्टे भएको थाहा भयो’, विभागका एक उच्च अधिकारी भन्छन्।

बैशाख १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्