भेनेजुएलाका जारी राजनीतिक संकट समाधान हुने सम्भावना देखिएको छैन । राष्ट्रपति निकोलश मादुरोले विपक्षी नेता क्आन गुएडोमाथि सैन्य कू को प्रयास गरेको आरोप लगाएका छन् ।
गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको छ ।
अमेरिकी अधिकारीले गुएडोको पक्षमा उभिने बताएका मादुरोका तीन विश्वास पात्रले पछि बोली फेरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मादुरो विरुद्ध हुँदै आएको प्रदर्शनको नेतृत्व गर्दै आएका विपक्षी नेता गुएडोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेपछि विकसित भएको घटनाक्रम हुन् यी ।
मंगलबार राजधानी काराकासको सडकमा गुएडोको समर्थन र मादुरोको विपक्षमा प्रदर्शन भयो, तर सैन्य नेतृत्व राष्ट्रपति मादुरोको पछाडि उभिए । उनीहरुले गुएडोमाथि कू को प्रयास गरेको आरोप लगाएका छन्।
अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले भेनेजुएली राष्ट्रपति मादुरो मंगलबार देश छोडेर क्युवा जाने तयारी रहेको दाबी गरेका छन् । तर रुससँग उनको कुरा भएपछि उनी क्युवा नगएको बताएका पोम्पेओले यसबारे कुनै प्रमाण र अरु थप विवरण भने खुलाएका छैनन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग विदेश मन्त्री पोम्पेओले भनेका छन्, ‘उनीहरुसँग विमान तयारी अवस्थामा थियो । मादुरो क्युवा उड्ने तयारी थियो । तर रुसले देशमै बस्न भनेपछि उनी गएनन् ।’
राष्ट्रपति मादुरोले स्थानीय समय अनुसार मंगलबार बेलुका टेलिभिजन मार्फत सम्बोधन गर्दै आफ्नो मनोवैज्ञानिक जित प्रस्तुत गरे । उनको साथमा सैन्य कमाण्डरहरु थिए । उनले अमेरिकी ‘कठपुतली’ माथि आफूले विजय प्राप्त गरेको दाबी गरेका छन् ।
गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।
केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।
आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।
मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।
विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।