विवेकशील नेपालीका प्रदेश नं ३ का सांसदद्वयले गरे नागरिकहरूसँग अन्तरक्रिया 

काठमाडौं- विवेकशील नेपालीका प्रदेश नं ३ का सांसदद्वय रमेश पौड्याल तथा विराजभक्त श्रेष्ठले आज काठमाडौँको इटुम्बहालमा आम नागरिक, पार्टीका सदस्य तथा शुभेच्छुकहरूसँग प्रदेश सभाका गतिविधिको बारेमा अन्तरक्रिया गरेका छन् ।
प्रदेश सभा सदस्यको काम कर्तव्य तथा अधिकारको बारेमा सांसद पौड्यालले चर्चा गर्दै सांसदहरूको  विधायिकी तथा खबरदारीको जिम्मेवारी  हुन्छ भन्ने चर्चा गरेका थिए ।  हालसम्म करिब ३० ओटा ऐन पारित भएका र केही विधेयकहरू विचाराधीन रहेकोले ती दुवै पक्षमा आफूहरूले योगदान गरेको बताएका थिए ।
“सरकारी दलका सांसदहरूलाई विधेयकमा संसोधन राख्न, विरोध गर्न साहस चाहिने रहेछ किनकि आन्तरिक पार्टी राजनीतिमा प्रभाव पार्ने हुन्छ । हामीले केही विधेयकमा साहस देखाई संसोधन राखेका थियौं र आवश्यक संसोधन गराई विधेयक पारित गराउन भूमिका खेलेका थियौं ।” पौड्यालले बताउनु भयो ।
सञ्चार सम्बन्धी विधेयकमा प्रशस्त छलफल गरेर आवश्यक संसोधन भई पारित भयो । न्याधिवक्ताको भूमिकाको बारेमा पनि हामीले उपयुक्त संसोधन पेश गरेका थियौं ।
सांसद विराजभक्त श्रेष्ठले विवेकशीलका सांसदहरूको खबरदारीले गर्दा हेटौंडा उपमहानगरपालिकाले नगर विकास निगमको दरमा सांसदलाई जग्गा उपलब्ध गराउने निर्णय त्यसलाई फिर्ता लिन बाध्य भएको बताए।
सांसद श्रेष्ठले थप्नुभयो, “सांसद विकास कोषको हामीले विरोध गर्यौं र अन्य प्रदेशमा जस्तो गरी कार्यान्वयन भएन । सम्पदा संरक्षण, डा. गोविन्द केसीको चिकित्साशिक्षा सुधार, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण जस्ता समसामयिक विषयमा बोलेका थियौं ।”
सांसद पौड्यालले भन्नुभयो, “हाम्रो प्रस्तावमा तीन जना सांसद तथा १०० जना नागरिकको हस्ताक्षरमा प्रदेश सभामा प्रस्ताव पेश हुने नियम पारित भयो ।  हाम्रो प्रयासमा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूलाई जोड्ने सोच स्थापित गरेका छौं । प्रदेश सभाले माग गरेका योजनाहरूमा रमेश पौड्यालले ड्रोनबाट ग्रामीण भेगमा औषधी पुर्याउनको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने योजना समावेश गरेको छ । सांसद विराजभक्त श्रेष्ठले टंकेश्वर परोपकार पुलमा ट्राफिक लाइट राख्ने तथा खुला पार्क बनाउने योजना सिफारिस गर्नुभएको छ र ती परियोजनामा काम भैरहेको जानकारी गराउनु भयो ।”
सहभागीहरूले समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा प्रश्न गरेका थिए । कान्तिपथको बाटो, सम्पदा संरक्षणमा स्थानीय भाषाको संरक्षणको जोड दिनुपर्ने, खोलाछेउका पार्कहरूको उचित व्यस्थापनको बारेमा सहभागीहरूले प्रश्न राख्ने तथा सुझाव दिएका थिए ।
बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्