बन्दिपुरको गाउँमा बिजुली बल्यो

फाइल तस्बिर।

तनहुँ – हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।

५० केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा सुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनले भने, “हालसम्म विद्युत सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छाैँ ।” केन्द्रले एक महीना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत सेवा पुर्‍याएको थियो ।

गोशलीले तनहँुका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने बताए । आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत केही दिनभित्रमा रिसिङ गाउँपालिका–३ को दुवुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, व्यास नगरपालिका–१३ को सुढे र व्यास नगरपालिका–१४ को मास्दीघाटमा विद्युत् सेवा पुर्‍याउन काम तीव्ररुपमा चलिरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि तनहुँमा ८५ करोड बजेट बिनियोजन भएको छ ।

साराङघाटका स्थानीयवासी चन्द्रबहादुर गुरुङले पहिलो पटक बिजुली बल्दा गाउँलेमा उत्साह छाएको बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे । उनका अनुसार बिजुली बाल्नका लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदानसमेत गरेका थिए ।

पहिलो पटक बिजुली पुगेपछि गाउँ पुग्नुभएका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए ।

मन्त्री चुमानले अब तनहुँका कुनै पनि घर विद्युत्विहीन नहुने बताउँदै विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पुर्‍याउन प्रदेश सरकार लागिपरेको बताए ।

यस्तै पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको दुई वर्षपछि गाउँपालिकाको पहलमा १५५ घरधुरीमा बिजुली बलेको हो ।

कोट साभुङमा राखिएको ट्रान्सफर्मरमार्फत् साविक भगवतीपुरको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका घरमा विद्युत सेवा पुगेको स्थानीय बासिन्दा सुमनकुमार श्रेष्ठले बताए ।

बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्