एनआरएनए अस्ट्रेलियामा करिब १२ हजार सदस्य दर्ता, जुलाई ६ मा चुनाव

फाइल फोटो।

सिड्नी– गैर आवासीय नेपाली संघ अस्ट्रेलियामा दर्ता हुने सदस्यको संख्या ११ हजार ८ सय १८ पुगेको छ।

यो संख्यासँगै एनआरएनएको अस्ट्रेलिया शाखा सबैभन्दा बढी सदस्य संख्या भएको शाखा बनेको छ। साधारण सदस्यले २५ अस्ट्रेलियन डलर, आजीवन सदस्यले २ सय ५० अस्ट्रेलियन डलर तिरेर यो संस्थाको सदस्यता लिन सकिने प्रावधान थियाे भने विद्यार्थीहरूका लागि आवद्ध सदस्य बन्न १० अस्ट्रेलियन डलर तिर्नुपर्ने प्रावधान थियो।

सदस्यता शुल्कबाट मात्रै करिब ३ लाख अस्ट्रेलियन डलर जम्मा भएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

सदस्यता शुल्कबाट उठेको रकममध्ये प्रत्येक सदस्यको शुल्कबाट आठ अस्ट्रेलियन डलर एनआरएनए आइसिसीमा र पाँच अस्ट्रेलियन डलर सोसल वेलफेयर फण्डमा जम्मा हुनेछ। त्यसैगरी पहिलो पटक प्रत्येक सदस्यको शुल्कबाट दुई अस्ट्रेलियन डलर हरेक स्टेटमा रहेको वा निर्माण हुन लागेका सामुदायिक भवन वा नेपाली भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्न निर्माण गरिने मठ, मन्दिरका लागि दिइने एनआरएनए अस्ट्रेलियाले जनाएको छ। तत्पश्चात चुनावमा लाग्ने प्रशासनिक खर्च कटाएर बचेको रकममध्ये ५० प्रतिशत रकम स्टेटमा तथा ५० प्रतिशत एनसिसीमा जम्मा हुने प्रावधान रहेको छ।

गत वर्ष ८ हजारको हाराहारीमा रहेको सदस्यता संख्या यसपटक करिब ५० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष पनि अन्तिम दिनमा सदस्यता संख्या अत्यधिक वृद्धि भएको थियो भने यसपटक पनि पछिल्लो ६ दिनमा मात्रै करिब ८ हजार गैरआवासीय नेपालीले सदस्यता एलिका छन्।

यस्तै एनआरएनए अस्ट्रेलियाको चुनाव आगामी जुलाई ६ तारिखमा हुने निर्णय भएको एनआरएनए अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले देशसञ्चारलाई बताए। उनले भने, ‘एनआरएनए अस्ट्रेलियाको निर्वाचनका लागि राष्ट्रिय निर्वाचन आयुक्तमा संस्थापक अध्यक्ष मन केसीलाई तोकिएको छ भने हरेक स्टेटमा आयुक्तहरू नियुक्त गर्ने कार्य भइसकेको छ। त्यसैगरी यसपटक बुथका साथै प्रत्येक स्टेटमा इनिलेक्ट्रोक भोटिङको व्यवस्था पनि हुनेछ जसले गर्दा मतदाताले घरमै बसेर भोट हाल्न पाउनेछन्। अस्ट्रेलियाको चुनावमा प्रयोग गरिने सिस्टम नै हामीले प्रयोग गर्दैछौँ त्यसैले गर्दा यो अत्यन्तै सुरक्षित र विश्वसनीय पछि छ।’

बैशाख १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्