अस्ट्रेलियामा सामान ल्याउने नीतिमा परिवर्तन, अध्यागमन अधिकारीलाई थप अधिकार

सिड्नी – अष्ट्रेलियाको अध्यागमन नीतिलाई तुलनात्मक रूपमा कडा मानिने गरिन्छ । त्यसमाथि गत अप्रिल १७, २०१९ देखि अध्यागमनका अधिकारीलाई थप अधिकार दिइएको छ ।

सो अधिकारको प्रयोग गरेर यदि विदेशी यात्रुले बोकेको सामानमा प्रतिबन्धित वस्तु भेटिएर त्यसको विवरण अध्यागमन फारममा उल्लेख गरेनन् भने उनीहरूको भिसाको अवधि छोट्याउन वा भिसा रद्द गरेर तुरुन्तै फिर्ता पठाउन समेत सक्नेछन् ।

त्यसरी फिर्ता भएका विदेशी वा पर्यटहरूले तीन वर्षसम्म पुनः अस्ट्रेलियाको भिसा पाउने छैनन् भने अस्ट्रेलियन नागरिकहरूले त्यस्ता वस्तु अध्यागमन फारममा उल्लेख नगरी भित्राएको खण्डमा ६० हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तथा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने जनाइएको छ ।

अस्ट्रेलियाको कडा जैविक सुरक्षा नीतिले कतिपय विदेशी खानेकुरा, वनस्पति तथा पशु उत्पादनलाई अस्ट्रेलिया छिर्न रोक लगाएको छ ।

ती प्रतिवन्धित वस्तुहरूमा किटाणु तथा रोगहरू भित्रिने खतरा भएको र त्यसले अस्ट्रेलियाको कृषिमाथि गम्भीर खतरा उत्पन्न हुन सक्ने भएकाले अस्ट्रेलियामा यस्ता वस्तुहरूलाई रोक लगाइने गरेको छ ।

त्यति मात्र होइन, त्यस्ता बाहिरबाट आउने खानेकुराले अष्ट्रेलियामा माहामारी फैलाउन सक्ने किटाणु हुने तथा कृषकहरूले लगाएको बाली नष्ट भई गम्भीर शंकट आउन सक्ने भएकाले रोक लगाइएको अस्ट्रेलियन सरकारको दाबी छ ।

यो नीति लागू भएपछि नेपालबाट अस्ट्रेलिया घुम्न वा आफन्तलाई भेट्न आउने अभिभावकहरूले सामान ल्याउँदा निकै सावधान अपनाउनुपर्ने देखिन्छ ।

अङ्ग्रेजी राम्रोसँग नजान्ने अभिभावकहरूले प्रतिबन्धित खानेकुरा वा सामान ल्याएर अस्ट्रेलिया आउँदा हवाइजहाजमा दिइने अध्यागमन फारमलाई सही तरिकाले भर्न जानेनन् भने पनि अध्यागमन अधिकारीहरूले कारवाही गर्न सक्नेछन् ।

अस्ट्रेलियामा केके ल्याउन पाइन्छ ?

खानेकुरा

यदि तपाईंले खानेकुरा ल्याउनुभएको छ भने प्लेनमा दिइने प्यासेन्जर कार्डमा ल्याएको वस्तुको विवरण भर्नुपर्दछ ।

बायो सेक्युरिटी अधिकारीहरूले तपाईंले ल्याएको खानेकुरा जाँच गर्न सक्छन् ।

औषधी

व्यक्तिगत प्रयोजनका लागि औषधी ल्याउन पाइन्छ तर त्यस औषधीको प्रेस्क्रिप्सन (अङ्ग्रेजीमा लेखिएको) हुनुपर्नेछ । आफूले खाँदै गरेको औषधी, अष्ट्रेलियन बोर्डर फोर्सलाई देखाउनुपर्नेछ ।

बनस्पति, फूल र बिरुवाहरूः

जरासहितका वनस्पतिहरूलाई अस्ट्रेलियामा ल्याउन प्रतिबन्ध लगाइएको छ । यदि कसैले ल्याउन चाहेमा भने ‘डिपार्टमेन्ट अफ एग्रिकल्चर एण्ड वाटर रिसोर्सेस’बाट अनुमति लिनुपर्नेछ ।

तपाईं अष्ट्रेलिया आउँदै हुनुन्छ भने तपाईंलाई फ्लाइटमा एउटा प्यासेन्जर कार्ड वा अध्यागमन कार्ड दिइन्छ ।

त्यस कार्डमा तपाईंले केके सामान ल्याउनुभएको छ भनेर विवरण लेख्नुपर्ने हुन्छ । त्यसपछि विमानस्थलमा अध्यागमन अधिकारीले तपाईंको सामान चेकजाँच गर्नेछन् । यदि तपाईंले आफ्ना सामानको गलत विवरण भर्नुभएको छ र प्रतिबन्धित सामान ल्याउनुभएको छ भने अध्यागमन अधिकारीहरूले कारवाही गर्न सक्नेछन् ।

 

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्