पोखरेलको फड्को

आईजीपीको ‘रेस’मा कसरी निर्विकल्प देखिए पोखरेल?

काठमाडौं- विद्यमान ३० वर्षे सेवा अवधि कायम रहे र वरिष्ठतालाई निर्णायक आधार मानिएमा विश्वराज पोखरेल २०७९ सालको बैशाखपछि नेपाल प्रहरीको प्रमुख-आईजीपी नियुक्त हुनेछन्।

बिहीबार प्रहरी नायब महानिरिक्षक-डीआईजी पदका लागि एसएसपी पोखरेललाई गृह मन्त्रालयको सिफारिसले यो संकेत दिएको छ।   २०४९ साल चैतमा प्रहरी निरिक्षकबाट सेवा सुरु गर्नेमध्ये डीआईजीमा बढुवा हुने पोखरेल एक्ला व्यक्ति हुन्। सामान्यतया बढुवा समितीको सिफारिस अनुमोदन हुने गरेको छ।

२०४९ साल बैशाखमा प्रहरी निरिक्षकबाट सेवा सुरु गर्नेमध्येबाट अबको नयाँ प्रहरी प्रमुख छनोट हुने सम्भावना छ। वर्तमान आईजीपी सर्वेन्द्र खनालभन्दा पाँच महिनापछि प्रहरी निरिक्षकबाट सेवा सुरु गरेको ब्याचबाट केही व्यक्तिहरु अहिले डीआईजी पदमा छन्।

खनालको कार्यकालपछि ती ब्याचबाट पनि आईजी बन्न सक्ने सम्भावना नकार्न सकिँदैन। तर पाँच महिनाको मात्र कार्यकाल रहने भएकाले यो सम्भावना कम भएको प्रहरी अधिकारीहरु बताउँछन्।

हाल नेपाल प्रहरीमा प्राविधिकबाहेक तीनवटा एआईजीको दरबन्दी छ। ती सबैमा आईजी खनालकै ब्याचका प्रहरी अधिकारी हुन्। २०४९ सालको बैशाखमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेकामध्ये चार जना अहिले डीआईजी छन्।

तत्काल डीआईजीमा दरबन्दी नथपिए पोखरेलको ब्याचका अन्य अधिकृतहरु  उनको प्रतिस्पर्धामा रहने सम्भावना देखिँदैन। तर डीआईजीमा दरबन्दी थपिएर अन्यलाई बढुवा गरिएमा एआईजीको सिँढी उक्लँदासम्म त्यो वरिष्ठता मिचिते सम्भावना भने रहने नै छ।

कसरी अगाडि आए पोखरेल 

एसपीबाट एसएसपीमा  बढुवा गरिँदा २०४९ बैशाखका ब्याचसँग पोखरेल पनि छिरेका थिए। त्यतिबेला पोखरेलको ब्याचका अन्य अधिकृतहरुको पनि बढुवा भएपनि तीमध्ये पोखरेल सबैभन्दा अगाडि थिए।

त्त्यतिबेला  कर्मचारी प्रशासनमा रहेका पोखरेलको नाम गत वर्ष नै भएको डीआईजी बढुवामा पनि चर्चामा थियो। तर उनको ब्याचका कोही पनि डीआईजीमा बढुवा भएनन्।

भक्तपुरको बालक अपहरण र हत्या अनि इनकाउन्टरमा अपहरणकारीको मृत्युकै सेरोफेरोमा तत्कालिन काठमाडौं प्रमुख पोखरेललाई दिल्लीस्थित नेपाली दुतावासमा सरुवा गरिएको थियो। तर उनी दिल्ली गएनन् र पछि काजमा  लागु औषध नियन्त्रण ब्युरोमा पुगे।

काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डीआइजी सुशील भण्डारीको निधन भएपछि रिक्त रहेको पदमा पोखरेलको बढुवा सिफारिस भएको हो। त्यसमा बढुवा हुन तीनवटा ब्याचका एसएसपीबीच कडा प्रतिस्पर्धा देखिएपनि  बाजी मारे पोखरेलले।

धेरैपछि एक्लो प्रतिस्पर्धी 

२०६८ सालमा कुवेरसिंह राना आईजी नियुक्त हुँदा उनी पनि निर्विकल्प उमेद्धवार थिए। आईजी नियुक्त हुनुभन्दा तीन महिनाअघि रानाको ब्याचबाट उनी एक्लै एआईजीमा बढुवा भएपछि भावी आईजी को बन्छ भन्ने अनुमान समाप्त भएको थियो।

त्यसयता नेपाल प्रहरीले तीन जना आईजिपी पायो। तीमध्ये पछिल्ला दुई जना (प्रकाश अर्याल र सर्वेन्द्र खनाल) डीआईजीबाट सोझै आईजीपी नियुक्त भएका हुन्। आईजीपी नियुक्तीमा राजनीतिक दाउपेचका कारण यी दुवै नियुक्त विवादरहित बन्न सकेन। बरु प्रहरी संगठनमा केही दुर्लभ घटना पनि देखिए।

‘राजनीतिक कसरत र दाउपेचका लागि पनि कम्तिमा दुई/तीन जनालाई दौडमा राख्ने चलन थियो। यस कारण सम्भावित उमेद्धवारहरु नेताका घर दैलो धाएका उदाहरण पनि प्रशस्त देखिए’, नेपाल प्रहरीका एक पुर्व एआईजी भन्छन्।

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू