हावाहुरीले केरा खेती नष्ट भएपछि किसानको उठीबास !

दाङ-दाङमा हावाहुरीले धरमबहादुर क्षेत्रीको दुई विघा जग्गामा गरिएको केराखेती नष्ट भएको छ। क्षेत्रीले १२ लाख रुपैयाँको लगानीमा गरेको केराखेती हावाहुरीबाट नष्ट भएको हो।

हावाहुरीबाट केराका ५ सय बोट नष्ट भएका छन्। जसबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको क्षेत्रीले बताए। ‘केराको बजार राम्रो थियो। तर, हावाहुरीले उठिबास लगायो’, क्षेत्रीले भने, ‘अब कसरी लगानी उठाउने भन्‍ने चिन्ता छ।’

उनले युवा स्वरोजगार कोषको २ लाख रुपैयाँ सहुलियत ऋणमा केरा खेती गरेका थिए। ‘ऋण काडेर खेती गरियो। अहिले हावाहुरीले सखाप बनायो’, क्षेत्रीले भने,‘सरकारले कृषि क्षेत्रको उत्पादनको लागि सहज तरिकाले बिमा बनाउन सहयोग गरेमा हामी जस्ता किसानलाई सहयोग मिल्ने थियो।’

स्वरोजगार कोष वाफत प्राप्त रकमबाट गरिएको केरा खेतीको बिमा गरिएको छ। प्रहरी रिपोर्ट र स्थानीय तहको सिफारिसको आधारमा बिमा रकम उपब्ध गराइने भुगोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराईले बताए।

यस्तै गढवा–५ स्थित पुर्णागिरी बहुउद्देश्यीय कृषि फर्म मार्फत गरिएको केरा खेतिमा पनि हावाहुरीले ठूलो क्षति पु‍¥याएको छ। नौं विघामा गरिएको केरा नष्ट हुँदा करिब १६ लाख बराबरको क्षति भएको अनुमान छ।

बैशाख २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्