भारतीय राजनीतिमा भाजपाको उदय

देवेश झा –

भारतमा भइरहेको संसदीय निर्वाचनलाई अहिले विश्व राजनीतिकले क्षेत्र ध्यानपूर्वक हेरिरहेको छ । सात चरणमा भइरहेको चुनावमा अहिलेसम्म सम्पन्न मतदानले भाजपाको नेतृत्वमा एनडिए गठबन्धनको पुनः एक पटक सरकार बन्ने सम्भावना बढ़ेको देखिन्छ ।

कांग्रेससहितको युपीए गठबन्धनले यस पाली फेरि विपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । नेपाललाई जहिले पनि प्रभावित बनाउँदै आएको भारतको आफ्नो आन्तरिक राजनीतिक परिणामले नेपालमा के कस्तो सम्भावनाहरुको निर्माण हुने बारे अड्कलबाजी हुनु स्वाभाविक हो । यसबाट नेपालमा पनि हिन्दु राष्ट्र कायम हुनेदेखि राजतन्त्रको पुनर्वहाली समेतको चर्चा भइरहेको छ ।

विगतमा नेपालका राजाहरुले हिन्दुत्वलाई राजतन्त्रको अभिन्न अंगकोरुपमा व्याख्या गर्ने गरेको र जनआन्दोलनको माग नभए पनि दलहरुले स्वार्थवश धर्मनिरपेक्षता ल्याउँदा राजतन्त्रकै कारण हिन्दुत्व हटाइएको भन्ने तर्क प्रस्तुत गर्दै आएकोले आम जनतामा हिन्दुत्व र राजतन्त्र एउटै रहेका भ्रम कायम रहेको देखिन्छ । भाजपाले अंगिकार गर्न खोजेको हिन्दु राष्ट्रको परिभाषा बुझ्न यसको उत्थानको कारण बारे जान्नु पर्छ ।

भारतीय राजनीतिलाई नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को मूल हिन्दु महासभा हो । ‘अखिल भारत हिन्दू हासभा’ नामले परिचित यस हिन्दु राष्ट्रवादी संगठनको स्थापना ई.सं. १९१५ मा मदन मोहन मालवीयको नेतृत्वमा प्रयागमा भएको थियो । विनायक दामोदर सावरकर, केशव बलिराम हेडगेवार, बालकृष्ण शिवराम मुंजे लगायतका व्यक्तिहरु यसका मुख्य कर्ताधर्ता थिए । तत्कालीन भारत ब्रिटिसहरुको नियन्त्रित उपनिवेश थियो ।

अंग्रेज शासनको विरोधमा कांग्रेसको नेतृत्वमा भारतीयहरुले लगातार आन्दोलन गरिरहेका थिए । यसै क्रममा काँग्रेस भित्रै रहेका मुस्लिम नेता मोहम्मद अलि जिन्नाले सो पार्टीबाट मुसलमानहरुको हित र सुरक्षा हुन नसक्ने भन्दै पार्टी फुटाएर ‘मुस्लिम लिग’ नामको अलग पार्टी गठन गरे । कांग्रेसले अंगिकार गरेको धर्मनिपेक्षताको नीतिका कारण र मुसलमानहरुको हितरक्षाका लागि ‘मुस्लिम लीग’ गठन भइसकेको अवस्थामा हिन्दुहरु असुरक्षित हुने सम्भावना बढ़ेको भनेर मदन मोहन मालवीयले हिन्दु महासभा गठन गरे ।

यसबिचमा ब्रिटिस संसदले भारत सरकार अधिनियम १९१९ पारित गरेर भारतमा सन् १९२६ मा पहिलो संसदीय निर्वाचनको घोषणा गर्‍यो । यो घोषणा संगै मुसलमानहरुकालागि भारतीय संसदमा विभिन्न सीटहरु सुरक्षित गरिएको थियो । कांग्रेस धर्मनिरपेक्ष दल भए पनि यो निर्णयको विरोध गरेन । हिन्दु महासभाले छुट्टै संसदीय सीट बारे गरिएको निर्णयको व्यापक विरोध गरे ।

सैद्धान्तिक रुपमा यो महासभाले भारतभूमिलाई पुण्यभूमि र पितृभूमि मान्ने यो क्षेत्रमा बसोवास गर्ने जुन सुकै धर्म, सम्प्रदाय, प्रदेशमा रहेका अलग–अलग खानपान, फरक रितिरिवाज र भाषिक भिन्नताका बाबजुद एउटै संस्कृति, परम्परा, इतिहास र मित्र एवं शत्रु एउटै प्रकारको भएकोले हामी सबै एउटै मूल भएको स्वीकार गरे ।

देवेश झा

भारतको स्वतन्त्रताको आन्दोलन उग्र हुँदै गइरहेको थियो । उता विश्व युद्धको कारणले ब्रिटिस अर्थतन्त्र धरासायी हुँदै जाँदा आफ्ना मातहतका उपनिवेशहरुलाई थाम्न नस्कने अवस्थामा पुगि सकेको थियो । भारतमा हिन्दु र मुसलमान बिचको द्वन्द्वमा खेल्न अंग्रेजहरुले जिन्नालाई उक्साए । देशको पहिलो कार्यकारी राष्ट्रपति बन्ने सपना बोकेका जिन्ना उनिहरुको लागि सहजतापूर्वक उपलब्ध हुन पुगे र भारत विभाजनको दिशामा अगाड़ि बढ्यो ।

अखिल भारत हिन्दु महासभाले धर्मको नाममा राष्ट्रको विभाजनलाई ठाडै अस्वीकार गरि दिए । महात्मा गान्धीले पनि यो विभाजन रोक्न जिन्नालाई भारतको प्रथम प्रधानमन्त्री बनाउन चाहे पनि जवाहर लाल नेहरुले भारतको जनमतले यस विपरीत रहेको भन्दै विरोध जनाए । अन्ततः भारत विभाजित भयो र धर्मको आधारमाबनेको पाकिस्तानबाट हिन्दुहरुलाई छोड्न बाध्य पारियो तर भारतलाई धर्मनिरपेक्ष देश भएको बताउँदै यहाँ रहेका मसलमानहरुलाई स्वनिर्णयको अधिकार दिइयो ।

भारत र पाकिस्तानमा रहेका मुसलमान र हिन्दुहरु आफ्ना पैतृक थलोबाट लखेटिए र यस क्रममा भएको धार्मिक दंगामा दस लाख भन्दा बढि मानिसको हताहत भयो । धर्मको नाममा राष्ट्र विखण्डन गर्न नहुने भन्दै आएका हिन्दु महासभाका एक कार्यकत्र्ता नाथुराम गोड़सेले यस नरसंहारकोलागि महात्मा गान्धीलाई दोषी मान्दै उनको हत्या गरि दिए ।

भारतको स्वतन्त्रता आन्दोलन चलिरहेको अवस्थामा नै हिन्दु महासभासँग आबद्घ डा. केशव बलिराम हेडगेवारले ई.सं. १९२५ मा सो सभाबाट अलग भएर राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए । यो आज पनि विश्वको सबै भन्दा ठूलो स्वयंसेवी संस्था हो । यस संस्थाले राजनीतिक संचालन हेतु ‘जनसंघ’ नामको दल स्थापना गरेको थियो जसको परिवर्तित स्वरुप आजको भारतीय जनता पार्टी (भाजपा) हो । भारतीय राजनीतिमा कांग्रेसको सैद्घन्तिक विपक्ष यही जनसंघ थियो ।

कांग्रेसले स्वीकार गरेको धर्मनिरपेक्षता र समाजवादी अर्थतन्त्रका विरुद्घ जनसंघले हिन्दुधर्म सापेक्ष राज्य व्यवस्था र राष्ट्रवादी अर्थतन्त्रको पक्षमा बहस चलाएको थियो । मुद्दा आधारित राजनीतिक बहस भएको र कांग्रेसको बोट बैंक रहेको लोकतान्त्रिक मत बाँड़िन सक्ने सम्भावना देखेर प्रधानमन्त्री नेहरु चिन्तित हुनु स्वाभाविक थियो । गान्धी हत्यालाई अवसरकोरुपमा प्रयोग गरेर कुनै कालखण्डमा जनसंघ पार्टीका नेताहरु हिन्दु महासभासँग आबद्घरहेको भन्दै शंकाको आधारमा जनसंघ पार्टीलाई प्रतिबन्धित गरे ।

स्वतन्त्र भारतमा प्रतिबन्धित हुने पहिलो पार्टी जनसंघ थियो । लोकतान्त्रिक बोटमा एकाधिकार कायम गर्न सफल नेहरुले भारतमा अत्यन्त कमजोर अवस्थामा रहेका वामपन्थिहरुलाई कृत्रिम विपक्षकोरुपमा स्थापितहुने अवसर जुटाए र सोही अनुरुप लामो समयसम्म भारतीय राजनीति विपक्ष बिहीनताको भुमरीमा रहिरह्यो ।सैद्धान्तिक एवं वैचारिक विपक्षको अनुपस्थितिले राज्य संचालनमा एकाधिकार स्थापित गर्न सघाए पनि प्रतिद्वन्द्वीको अभावमा प्रगतिलाई बाधित पार्छ ।

पछिल्लो समयमा कांग्रेस भित्रैबाट बिद्रोह भएर अन्य दलहरु अस्तित्वमा आउनुका साथै ओझेलमा पारिएको जनसंघ अत्यन्त शक्तिशाली भएर भाजपा कोरुपमा देखा प¥यो । विश्वव्यापी रुपमा चलिरहेको राष्ट्रवादको असर भारतमा पनि हुनु स्वाभाविक थियो र वास्तविक विपक्षी रहेको भाजपा भारी बहुमत साथ सत्तामा आयो ।

विकासको गुजरात मोडेलबाट दिल्ली कब्जा गर्न सफल भाजपाले यसपटकको संसदीय निर्वाचनमा फेरि बहुमत प्राप्त गर्ने प्रवल सम्भावना छ । नेपालका लागि यो अवसर र चुनौती दुवै हो । कोयला र हिरा कार्बन कै फरक रुप हुन्छन् । हामी के बन्ने त्यो निर्णय हाम्रै बौद्धिकतामा निर्भर हुनेछ ।

बैशाख २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्