सन्दर्भ : विश्व एन्कोलोजिङ् स्पोनडाइलेटिस् दिवस

ढाडमा देखिने बाथ रोगबाट कसरी जोगिने?

काठमाडौँ– सोलुखुम्बुकी ४१ वर्षीया फुली शेर्पालाई २३ वर्षको उमेर देखि नै ढाड दुख्ने समस्याले सताइरहेको थियो। सुरु–सुरुमा ढाडको दुखाई सामान्य लागे पनि बिस्तारै दुखाईले गर्दा उनलाई राम्रोसँग हिँड्न कठिनाई हुन थाल्यो।

उनी धेरै अस्पतालहरुमा उपचारका लागि पुगिन्। तर अस्पतालहरुले उनलाई केही भएको छैन भनेर घर फर्काए । कतिले नसा च्यापिएको बताए, कतिले अकुपन्चर गर्न सललाह दिए। चिकित्सकहरुले बताए अनुसार उनले अनेक उपाय अपनाइन् । तर पनि उनीले दुखाईको पीडाबाट छुट्करा पाउन भने सकिनन्।

फुली शेर्पा

चिकित्सकहरुले भनेको सबै उपचार गर्दै जाँदा पनि उनलाई अलिकति पनि ठीक हुने छाँट देखिएन। करिब साढे दुई वर्ष अगाडि उनी ग्राण्डी अस्पताल पुगिन्। अन्ततः डा. विनोद बिजुक्क्षले उनलाई ढाडमा बाथ भएको जानकारी दिए। उनी अहिले नियमित रुपमा बाथको औषधि सेवन गरिरहेकी छिन्।

ढाडको बाथ भएपछि नियमित रुपमा गर्ने काम पनि राम्रोसँग गर्न नसक्ने फुलीले बताइन्। ‘धेरै बेर उभिएर काम गर्न, पलेटि कसेर बस्न मिल्दैन,’ उनले भनिन्, ‘६ महिनासम्म बाथको सुई लागएँ, औषधि त अहिले पनि खाइरहेकी छु, केहीहदसम्म राहत भएको छ।’

त्यसैगरी, ४० वर्षकी तनहुकी शशिकला ढुंगानाले पनि ढाड दुख्न थालेपछि विभिन्न अस्पताल धाउन थालिन्। फुलीलाई जस्तै उनलाई पनि चिकित्सकहरुले उस्तै सल्लाह दिए।

कुनैले बेड रेस्ट गर्न सल्लाह दिए, कुनैले नशा च्याप्पेको बताए। चिकित्सकहरुले भने अनुसार उपचार गर्दा पनि उनको दुखाई कम भएन। तर पनि उनले चेकजाँच गराउन भने छोडिनन्। र करिब ७ वर्ष पहिले आफूलाई बाथ भएको थाहा पाईन्।

शशिकला ढुंगाना

अहिले आफूले नियमित औषधि सेवन गरिरहेको उनले बताइन्। औषधि सँगसँगै उनले चार÷पाँच महिनाको अन्तरमा सुई लगाउँदै आएको बताइन्। उनले भनिन्,‘अब सामान्य अवस्थामा पुग्नु त त्यस्तै हो तर दिन बिताउन भने सजिलो भएको छ।’

औषधि सेवन गर्न वा सुई लगाउन छुट्यो भने दुखाई फेरि उस्तै नै हुने उनले बताईन्। उनले थपिन्,‘औषधि पनि साह्रै महंगो, एउटा सुईको ४२ हजार पर्छ, नलगाउने हो भने आफैलाई गाह्रो, लगाउने हो भने खर्च धेरै।’

फुली र शशिकला जस्तै करिब ४० लाख बाथ रोगका बिरामी रहेको अनुमान गरिएको छ। नेपालमा पछिल्लो समय बाथ रोगका बिरामी दिनप्रतिदिन बढ्दै गइरहेको चिकित्सकले बताएका छन्।

बाथरोगका बिरामीको यकिन तथ्याङ्क नभएता पनि विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मानेर नेपालमा करिब ४० लाख बाथ रोगका बिरामी रहेको अनुमान गरिएको छ। ती ४० लाख बिरामीलाई सेवा दिने चिकित्सकहरु भने ७ जना मात्रै रहेको नेशनल बाथरोग सेन्टरका डा. विनित वैद्यले बताए।

तर यस रोगको पहिचान समयमै हुन सकेमा नियन्त्रणमा ल्याउन सकिने उनले बताए। नेपालमा समयमै उपचार गराउने बानी निकै नै कम रहेका कारण यो रोग न्यूनिकरणमा केही समस्या भएको चिकित्सकहरुले बताएका छन्।

बाथ रोगको पहिचान तथा रोकथाम समयमै नहुँदा मानिसको मृगौला, मुटु, तथा कलेजो जस्ता महत्वपूर्ण अङ्गहरुमा असर पु¥याई ज्यान समेत जोखिममा पर्ने गरेको छ। चिकित्सकहरुका अनुसार बाथ रोग लागिसकेपछि मानिसको आयु १० वर्ष कम हुने गर्छ।

के हो एन्कोलोजिङ् स्पोनडाइलेटिस् वा ढाडको बाथ?

एन्कोलोजिङ् स्पोनडाइलेटिस् -Ankylosing Spondylitis_ लाई नेपालीमा ढाडको अथवा मेरुदण्डको बाथ भन्ने गरिन्छ। ढाडको बाथले मुख्यतया मेरुदण्डमा असर गर्दछ। ढाडको बाथ प्राय ४५ वर्ष मुनिका पुरुषमा बढि पाइने गरेको छ।

लक्षणहरु

बिहानी पख ढाड दुख्ने

अरठ्ठ हुने

आँखामा समस्या हुने

पेटमा समस्या हुने

जोर्नीहरु सुनिने

जोर्नीहरु दुख्ने

हिप दुख्ने

विस्तारै मेरुदण्ड बाङ्गिदै जाने

हात तथा खुट्टाका जोर्नीहरु दुख्ने वा सुन्निने

कुर्कुच्चाको मुनि वा पछाडि दुख्ने

समयमा उपचार नगर्दा

मेरुदण्ड र जोर्नीहरु बाङ्गीने, जोडिने

मुटुको भल्बको समस्या

फोक्सोमा समस्या र किड्नीमा पनि जटिलता देखा पर्ने

बैशाख २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू