बचेरालाई चारा खुवाउँदै गौँथली । यो सिजन गौँथलीले बचेरा हुर्काउने बेला हो । घरका चोटा, दलिन तथा बिमहरुमा यिनीहरुले माटोले गुँड बनाउँछन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

राति अबेर सुते पनि बिहान सबेरै उठ्नु पर्छ कमल श्रेष्ठलाई । उनी बस्दै आएको घरमा अर्को परिवारको पनि बास छ, जसलाई बिहानै जीविकाको यात्रामा निस्कनु पर्छ ।

उनीहरुका लागि कमलले आँखा मिच्दै गेट खोल्छन् । सटर उचाल्छन् । र काममा जानका लागि त्यो अर्को परिवारलाई निकास दिन्छन् । यो परिवार हो, गौँथलीको ।

एक जोडी गौँथली र उनीहरुका चार सन्तान छन्, दुई छोरा र श्रीमतीसहित कमल बस्दै आएको ललितपुरको धोबीघाट (मलपोखरी) स्थित घरमा ।

कमलको स्थायी घर रामेछाप हो, तर उनी ललितपुर बस्दै आएको २० वर्ष भन्दा धेरै भयो । उनले यहिँ आफ्ना सन्तान हुर्काए । जीविका चलाए र चलाइरहेका छन् ।

गौँथलीसँग उनको नाता पुरानो छ । उनी बसेको घरमा गौँथलीले पनि घर बनाउने ठाउँ पाउँछन् । बर्सेनि फर्केर आउँछन् उनीहरु, अनि सन्तान हुर्काउँछन् । अहिले पनि हुर्काइरहेका छन् एक जोडी गौँथलीले आफ्नो प्रेमका चार निशानीहरु ।

गौँथलीको माटे गुँड


कमलको पसल छ, बिजुलीका सामानको । सँगै लुगा सिलाउने मेसिन पनि छ। भाँडाकुँडा पनि छन्। केही ग्यास चुलोहरु पनि छन्। अर्थात उनले परिवार चलाउनका लागि एकै हातमा अनेक सीप भरेका छन् ।

पसलको सटरमाथि घरको बिममा दुईवटा साना गुँड छन् । ट्युबलाइटको आडैमा छन् माटोले बनाइएका दुई गुँड, चिटिक्क परेका । दुई गुँडबिचको दूरी मुश्किलले दुई बित्ताको छ । हिले माटो ल्याएर गौँथलीले गुँड बनाएको शायद ९ वर्ष नाघ्यो । अर्को गुँड छेउमा थपेको भने तीन वर्ष जति भयो ।

सफा छ गुँड । यति सानो चराले कसरी ल्यायो होला यतिका हिले माटो र यस्तो बलियो घर बनायो होला ? झट्ट हेर्दा मनमा यस्तै प्रश्न उठ्छ । तर कमल भने आफ्नै ध्याउन्नमा छन् ।

उनी आफ्नो काममा व्यस्त, गौँथलीहरु उनीहरुको घर बनाउन व्यस्त । उनीहरुको घरले आकार लिँदै गएपछि कमलको ध्यान त्यतातिर तान्निछ । उनी पहिले १२ वर्षसम्म बसेको घरमा पनि थियो यस्तै गुँड थियो । अहिलेको घरमा पनि गौँथलीले बस्न गुँड बनाउँदा आफ्नो पूरा परिवार यतै आएजस्तो भएको छ उनलाई ।

गुँडको टेको बनेको ट्युबलाईट तीन वर्षअघि बिग्रियो । उज्यालो चाहिन्थ्यो । तर निकाल्दा गौँथलीको गुँड भत्किने ।

कमलले कोठाको अर्को भित्तामा नयाँ ट्युबलाइट फिट गरे । आफ्नो घर उज्यालो बनाउन र अर्को परिवारको घर उजाडेनन् उनले । यसरी जोगाइ राखेको गुँडमा साँझ बिहान चिरबिर सुनिन्छ गौँथलीको । मकल रइमालो मान्छन् ।

एकतिर मातापिता, अर्को तिर बचेरा


बिहानै उडान भरेको गौँथलीको परिवार झमक्क साँझ पर्ने बेला फर्किन्छ । चार बचेराले उड्न जानेको हप्तादिन जति भयो । उनीहरु तीव्र गतिको वेग लिन सक्दैनन् । र पनि दिनभरि चर्न अर्थात आहाराको खोजीमा निस्कन्छन् ।

बेलुका बचेराहरु गुँडमा आएर फर्कन्छन् । शायद उनीहरुको पेट भरिएको हुँदैन । त्यसैले दुई मातापिता आलोपालो गरि चारा खोज्न जान्छन् । चुच्चोमा च्यापिल्याएको आहारा खुवाउँछन् बचेराहरुलाई, पालैपालो ।

साँझ छिप्पिँदै गएपछि बचेराहरुको चिरबिर कम हुँदै जान्छ । एकपट्टिको गुँडमा चार बचेर मिलेर बसेका छन् । अर्को तिरको गुँडमा भालेपोथी अर्थात बचेराका आमाबुवा बस्छन् । आमाबुवा गाैँथलीले बेला बेला बचेराका गुँड तर्फ नियाली रहन्छन् ।

यस्तो देख्दा कमललाई आफूले दुई छोरा हुर्काउँदाको सम्झना ताजा बन्छ । उनले यो गौँथलीको परिवारमा आफ्नो विगत वर्तमान बन्दै गरेको देख्छन् ।

जीवनभर नछुट्ने साथ र सहकार्य


आकार सानो, मुश्किलले १८ सेन्टिमिटर जति लामो जीउ । तर यिनीहरुसँगको सहवासमा अनन्तः आत्मियता भेट्टाउँछन् कमल । गौँथलीको जोडी जीवनभर साथैमा रहन्छन् । चराविद हेमसागर बरालका अनुसार गौँथली पारिवारिक र संगोलमा बस्न रुचाउने चरा हो ।

कमल यो जोडी गौँथली यहाँ बस्न थालेको झण्डै १० वर्ष भयो भनेका थिए । हुन पनि हो रैछ । लगभग १५ वर्ष जतिको आयु हुने गौँथलीको जोडी एकपटक जोडिएपछि जीवनभर साथैमा रहन्छन् चराविदका अनुसार ।

कमलको घरमा रहेको गौँथली ‘बार्न स्वालो’ अर्थात घर गौँथली हो । काठमाडौँ उपत्यकामा यी गौँथलीहरु रैथाने पनि छन् र आगन्तुक पनि । यस्तै गेरुकटी गौँथली पनि पाइन्छ काठमाडौँ उपत्यकाको बाहिरी इलाकामा ।

गौँथलीको अर्को चरित्र हो, सहकार्य । गौँथलीका भालेपोथीले मिलेर चिम्ट्याइलो हिलो माटो ल्याएर गुँड बनाउँछन् ।

फुल पारेपछि भालेपोथी आलोपालो गरि ओथारो बस्छन् । बचेराका लागि आहारा मिलेर ल्याउँछन् । अनि उड्न सिकाउँछन् मिलेरै । चराविद बरालका अनुसार सन्तान हुर्किएपछि घर थप्दै जाने गौँथलीहरु आत्मसम्मान र सहकार्यका नमूना पनि हुन् ।

पहिले जस्तो बाक्लै देखिँदैनन् अचेल


कमललाई लाग्छ कम हुँदै गएका छन् गौँथलीहरु ।

चराविदहरुका अनुसार गौँथलीका लागि ओसिलो माटो भएको ठाउँ, विशेष गरि पुराना घरहरु र उनीहरुप्रति सद्भाव राख्ने मानिसहरु चाहिन्छ । तर आधुनिक संरचनाहरु गौँथली मैत्री छैनन् र चिम्ट्याइलो हिले माटोको अभावले गर्दा पनि उनीहरु बिस्तारै बिस्थापित हुँदै गएका छन् ।

विशेष गरि उड्दै गरेका किरा गौँथलीका आहारा हुन् । किराहरुको संख्या जलवायु परिवर्तनको प्रभावका कारण कम भएका छन्, गौँथलीको आहारा घटेको छ । किरा प्रसस्त भएमा एकै सिजनमा गौँथलीले दुई बेतसम्म चल्ला बचेरा हुर्काउँछन् ।


यी त भए गौँथलीका बारेमा सामान्य जानकारी । गौँथलीसँग आफ्नो जीवन जोडेका कमलहरुका लागि भने यिनीहरु लक्षिनका प्रतिक हुन् । घरमा गौँथली भए सह रहने विश्वास छ । परिवारलाई मिलाइ राख्नका लागि पनि गौँथली उदहारण बन्ने गरेका छन् ।

केही दिनअघिसम्म मोटाघाटा रहेका बचेराहरु अहिले अलिक दुब्ला भएका छन् । उड्न थालेपछि दुब्लाएका बचेरालाई हेर्दै कमल घरिघरि टोलाउँछन् र भन्छन्, उड्न सजिलो होस् भनेर यिनका आमाबुवाले नै यस्तो बनाएका ।

गौँथलीसँग उनको गुनासो छैन छ त केवल लगाव मात्रै । दिसा पनि सकेसम्म आफै बाहिर फाल्छन् गौँथलीहरु । खाना दिनु पर्दैन ।

उनीहरुको घरले आफ्नो घर र परिवारले आफ्नो परिवारलाई भरिलो बनाए जस्तो लाग्छ उनलाई लाग्छ । सन्तान हुर्काइरहेको गौँथलीको परिवार पनि शायद कमलको परिवारका बारेमा यस्तै सोच्दा हुन् ।

सबै तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

बैशाख २१, २०७६ मा प्रकाशित

यो पनि पढ्नुहोस्