अपांग छोरा र घाइते श्रीमान्

लीला शार्कीको बिलौनाः न मर्न सकिन्छ न त बाँच्न नै!

दाङ – शितलापुरकी लीला शार्कीले मनको भारी बिसाउने सम्म ठाउँ भेटेकी छैनन् । नयाँ मान्छेसँग भेट हुँदा मन भित्रको पीडा लुकाएर खिस्स हास्न खोजे पनि त्यो हाँसो धेरै बेर टिक्न सक्दैन ।

अनि आफ्नो परिस्थिति सम्झँदा बारम्बार आँखाबाट आँशुको ढिक्का झर्छन । साँझ बिहान छाक जुटाउन समस्या पर्ने लीलालार्इ दुई छोरा र श्रीमानको उपचार गर्ने दायित्व छ ।

‘पेटभरी खाने चामल छैन । एक सरो फेर्ने कपडा छैन’, उनले भनिन– ‘दैव लाग्यो । अब कसरी बचाउ?’

जेठो छोरालाइ घरभित्र, बाहिर, दिशा पिसाब गराउने सबै काम लीलाले गर्छिन । अपांगता भएको छोरोको स्याहारसुसार गर्दै आएकी लीलालाई श्रीमानको उपचार समेत गर्नु परेको छ । लीलाका श्रीमानको चार महिना अघि आगलागीमा परेर शरीर जलेको छ ।

घाइते श्रीमान् र छोराको स्याहार गर्दै लीला शार्की । तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

‘अस्पताल जाने पैसा छैन । अलिअलि औषधि पानी गरेँ’ लिलाले भनिन– ‘राम्रो अस्पतालमा लैजान सकेकी छैन । उपचार खर्च माग्न साहु कहाँ हात फैलाउन जानू पर्छ । माग्ने ठाउँ सबै रित्तो छ ।’

जेठो छोरा हेमबहादुर २२ वर्षका भए । तर, उनी एक पाइला हिँड्न सक्दैन । १२ वर्ष देखि ओच्छ्यानमै छन् ।

कान्छो छोरा पनि गाडीले च्पापेर अपांग छन । साइलो भारत गएका साइला छोरा सम्पर्कमा छैनन । माइलो छोरा छुट्टेर बसेका छन । अपांग छोरा र घाइते श्रीमान् स्याहारसुसार गरेर बसेकी छिन लीला।

‘श्रीमान जलेर घाइते छन् । उपचार गर्ने पैसा छैन’, उनले भनिन्, –‘गरिब दुखिलाई भगवानले हेर्छन भन्थे । तर, हामीलाई भगवानले पनि हेरेन ।’

लीला श्रीमान् हेमबहादुर भारतको सिम्लामा काम गर्थ्ये । घर आएको बेला गाउँमा भएको आगलागीमा पर्दा हात र पिठ्यु नराम्रोसँग जल्न पुग्यो । अहिले उपचार अभावमा घाउ बल्झेको छ ।

घर भित्रको पीडा देखेर धेरै पटक उनी निराश हुदै मर्ने सम्मको कल्पना गर्छिन । तर, सन्तानको मायाँले गलत बाटोमा जान दिँदैन । ‘न मर्न सकिन्छ । न बाँचेरै राम्रोसँग उपचार गर्न सक्छु’, उनले भनिन्, – ‘अब कसरी बचाउने होला?’

उपचारखर्च बोकेर शितलापुर पुगिन् सपना


अपांगता भएर ओच्छ्यानमा थलिएका हेमबहादुर शार्कीको उपचारमा सहयोग पुर्‍याउन लमही जेसीजकी उपाध्यक्ष सपना पाण्डे पण्डित १० हजार ५५ रुपैयाँ बोकेर शितलापुर पुगिन् ।

उपचार खर्च नहुँदा ओच्छ्यान थलिएको थाहा पाएपछि पहाडको विकट बस्तिमा पुगेर उनले सहयोग गरेकी हुन् ।

‘खर्च कटाएर बचत गरेको रकम सहयोग स्वरुप प्रदान गरेको हुँ’, पाण्डेले भनिन्, ‘ओच्छ्यानमा थलिँदा अन्य रोगहरुको संक्रमण हुन थालेको रहेछ । सबैको साथ सहयोग भएमा सञ्चो बनाउन सकिन्छ ।’

बैशाख २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्