आमा र छोरीको कथा

नफुर्काउने आमा अनि मेहेनती छोरी

‘बच्चाको आँखामा आमा देवी हुन्।’ मायालु, दयालु। सायद आँखाले टाढा टाढासम्म हेर्दा पनि नभ्याउने सागर जस्तै हुन् आमा। आमाको काखमा बसेपछि पाइने न्यायोपन अन्त कहाँ पाइन्छ होला ? अनि आमाको अंगालोको शितलता अर्को कुन छहारीले दिन सक्ला ?

त्यसैले त आमाको संसर्गमा लुटुपुटु हुन मन लाग्छ । बात्सल्यमा त आमाको अनुहार नदेख्दा पनि ज्वरो आउँछ। अमेरिकी मनोविद् तथा लेखक नोरा के. जेमिसिनको सिर्जना जस्तै यो विश्वमा आमाका बारे कति साहित्य लेखिएका छन् कति।

तर,

लेखक तथा कलाकार भूषिता वशिष्ठको आमासँगको सम्झना अलि अनौठो छ। ‘म सानैबाट मामाघरमा बसेको थिए, ४ वर्षको हुँदा जब आमालाई भेटे तब भाग्न मात्र खोजे।’ भूषिताले हाँसोको खित्कामा आफ्नो स्मरण सुनाइन्, ‘मेरो जन्म खोटाङको दिक्तेलमा भयो। बाबाको पोस्टिङ त्यतै भएको समय रहेछ।

दुई वर्षसम्म म बाबा आमासँग थिए। त्यसपछि ममीले मलाई सप्तरीमा मामाघरमा राखिदिनुभयो। म हजुबुवाकी प्यारी नातिनी। अलि जिद्दि अनि बदमास पनि। जे गर्न हुन्न भन्थे मलाई त्यो नगरी नहुने। हाम्रो मामाघरबाट अलि पर शौचालय थियो। मलाई त्यहाँसम्म पुग्न नै अल्छि लाग्थ्यो। अनि म जुक्ति लगाउथेँ।’ उनले हाँस्दै सुनाएकी हुन् ।

उनले थपिन्, ‘मामाघरमा गोबर ग्यास थियो। गोबर ग्यास पेल्ने ट्याङ्की केही अग्लो हुन्छ। म त्यसको पछाडि बसेभने कसैले देख्दैनथ्यो। अलि हिँडेर शौचालय पुग्न अल्छि लाग्दा म त्यही ट्याङकी पछाडि पिसाब गर्न बसिदिन्थे। निगालाको झ्याङ यो सबैको साक्षि हुन्थ्यो।’

यस्तै रीतले दिनहरु चल्दै थिए, एक दिन पिसाब गरेर उठ्दा एकजना सुन्दर महिला त्यही ठिङ्ग उभिएकी थिइन्। भूषिताको सातो गयो। उनले कसैले थाहा नपाउने गरेर ट्याङ्की पछाडि पिसाब गरेको अब सबैले थाहा पाउने भए। हजूरबाले थाहा पाउनुभए के हुन्छ ?

त्यतीबेला साडीमा सजिएकी सुन्दर महिला उनको लागि भिलेन बनिन्, उनको ‘सिक्रेट स्पोइल’ गर्ने। अनि चुक्क नबोली बाटो घुमाएर उनी मामाघरको बार्दलीमा पुगिन्। त्यहाँ गएपछि उनको सातो फेरी उड्यो। अनुहारले रंग फेर्‍यो अनि हातका रौँ ठाडा भए। तल भेटिएकी महिला त्यही रहिछन्। भूषिताले सोचिन्, ‘आज दरो कुटाई हुने भयो।’

तर उनी चकित भइन्, ‘हजुरआमाले उनलाई ‘तिम्रो ममी’ भनेर चिनाउनुभयो। त्यतिबेला न फोन, न इन्टरनेट मैले याद हुने गरेर पहिलो पटक आमाको दर्शन त्यसरी पाएँ।’

उनलाई खुशी जति हुनुपर्ने त्यति भएन। आफूलाई बदमासी गर्दागर्दै भेटिएकी आमासँग उनले ठाडो शिर गरेर हेर्ने आँट पनि भएन। फसाद उनलाई त्यतिबेला पर्‍यो जब राति भूषितालाई आमासँगै सुत्न पठाइयो। सुरुमा त ज्ञानी भएर सुतिन् त्यसको विकल्प पनि थिएन।

राति उनलाई भाग्न मन लाग्यो। उनी आमाले थाहा नपाउने गरी लुसुक्क खाटबाट ओर्लिइन्। स्वासको आवाज पनि ननिकाली बिस्तारै ढोकातर्फ बढिन्, तर उनको भाग्ने योजना सफल भएन। उल्टो दुःख भयो। ढोका छेवैको टेबलमा सानो टेबल फ्यान थियो, उनको साना औला त्यही छिरेछ, हात काटेर रगत आयो। उनलाई अब ममीसँग सारै रीस उठ्यो। किनकी ‘ममी आएपछि यस्तो भयो।’

गत साता नेपालयमा प्रस्तुत भएको छन्द कविताको पलेँटीमा भूषिताको प्रस्तुति धेरैको मनमा बस्यो । उनको प्रस्तुतिको मिठासको व्याख्या जस्तै अर्को व्याख्या पनि भएको छ। केही समय अगाडि शिल्पी थिएटरमा ‘कुमार नगरकोटीले लेखेको नाटक ‘बाथटब’ मा भूषिता ‘अनिद्रा’ भएकी थिइन्। निर शाह र बज्रेश खनालसँगको उनको सहकार्य तारिफमय रह्यो। अंग्रेजी साहित्यकी विद्यार्थी हुन्, स्नातकोत्तरको नतिजा आउन नै बाँकी छ।

यो भन्दा अगाडि उनी पत्रकारीता गर्थिन्। पलेँटीमा उनको यात्रा छन्द कविताको माध्यमले जोडिन पुग्यो। र भूषितालाई छन्द कवितासँग परिचित उनको बाबा, फूपु र विशेषतः आमाले गराइन्।

२०५० सालमा उनी आमासँग धरान बस्न पुगिन्, उनीहरुको अब स्थायी बसाई हुने भयो। भूषिता र उनका दाई भूषण चकचके थिए। भूषितालाई आफूजस्तै साथी भेटिएपछि थप उमंग थपिएको थियो। उनीहरु बदमासी सोचि सोचि गर्थे ताकि आमाले पक्रेर केही गर्न नसकुन्।

तर आमा त आमा हो।

भूषितालाई एक दिन स्कूल जान झ्याउ लाग्यो। बाबा आमाको कोठा बाहेक अन्त ताल्चा लगाइएको थिएन। उनले झ्यालबाट लामो लठ्ठीमा स्कूलको पोशाकलाई ताल्चा लगाएको कोठामा छिराउने जुक्ति लगाइन् । ‘तपाईँको कोठामा यूनिफर्म परेछ भन्न पाइन्थ्यो।’ त्यो दिन उनलाई समयले सहयोग गरिरहेको थियो। ‘ममी अरु दिन भन्दा चाँडै अफिस जानुभएको थियो, म बासको लामो लौरोमा कपडा बेरेर कोठाको झ्यालबाट भित्र पठाउँदै थिए।’

उनको काम सक्किनै लागको थियो। उनले पछाडि कोही उभिएको देखिन्, फर्केर हेर्दा उनको हंश उड्यो। भगवति सामान बिर्सेर घर फर्केकि रहिछन्। भगवतिले कोठाको ताल्चा खोलिन् र छोरीको कपडा झिकिन् अनि स्कूल पठाइन्। भूषिता आमासँग कायल भइन्।

‘ममीले धेरै पल्ट हामीलाई कायल पार्नुहुन्थ्यो।’ उनले भनिन्, ‘दादा र मलाई बिहान भयो अब उठ नभनेर श्लोक भन्नुहुन्थ्यो।

हे आलस्य त कप्टी झट्ट पर जा ।
लौ निस्कि जा मन्टि जा ।
ट्याक्कै टिक्न दिन्न यो शरीरमा ।
जो काट्नु काटिस् मजा ।’

अब आमालाई के भन्ने ? प्रतिकार गर्ने शब्द नै नभएपछि हामीहरु झट्ट उठ्थ्यौ। दादा र म प्रण गथ्र्यौँ अब हामी पनि यस्तो कविता सिकेर आमालाई उत्तर दिनुपर्छ।’

भूषिता यसरी परिचित भएकी थिइन्, छन्द कवितासँग । अहिले उनी यसको संरक्षणमा लागि परेकी छन्। तर उनलाई आमाको सिकाईप्रति अचम्म लाग्थ्यो। कसरी सिके होलान् ?

भूषिताकी आमा भगवति भट्टराई प्याथोलोजी ल्याबको टेक्निसियन हुन्। उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन्। भट्टराईको २०२१ सालमा जन्म भोजपुरमा भएको थियो पढेलेखेको परिवारमा जन्म भएकोले अक्षरसँग चिनजान गर्न उनलाई त्यति सकस गर्नु परेन।

बाबाको सरकारी जागिर बेलाबेलामा सरुवा भइराख्ने हुन्थ्यो। भगवतिकी आमाले छोरीलाई घरमा नै क,ख चिनाएकी थिइन्। २०२५ सालमा सप्तरीमा सरुवा भयो। उनी कक्षा २ मा भर्ना भइन्। प्रथम भइन्। त्यसपछि कक्षा ५ मा उनी भर्ना भइन् पास गरिन्। यसरी नै चल्दै थियो बाबाको फेरि सरुवा भयो।

‘२०२८ सालमा बाबाको सरुवा भयो। विद्यालय भर्ना गर्नको लागि विद्यालयको सर्टिफिकेट चाहिन्थ्यो तर मेरो त्यतिबेला सर्टिफिकेट झिक्न मिलेन अनि पढाई रोकियो। दुई–चार वर्ष नै खाली भयो।’  भगवति काठमाडौँ आइन् अनि सिलाईको काम सिक्न थालिन्, त्यतिबेला उनलाई साथीभाइको कुराले पढ्न पर्ने रहेछ भनेर झकझकायो अनि उनी पढ्न लागि परिन्। २०३६ सालमा कक्षा १० मा भर्ना भइन्। दुई वर्ष लाग्यो पास गर्न ।

उनले आइएसी पढ्ने निधो गरिन् २०३८ सालमा भर्ना भइन्, त्यही बेला विवाह भयो अनि बच्चाहरु पनि भए। २०४३ मा जोठो छोरा भूषण, २०४५ मा भूषिता अनि २०५० सालमा बहिनी भरोसा।

पहाड घर ओखल ढुंगामा बसेपछि पढाई अगाडि बढेन। तर पनि उनले मौका हेरिबसिन् र २०४५ मा उनको रोकिएको आई ए सी कम्प्लिट भयो। काठमाडौँमा गएर बि एड गरिन्। २०५० मा धरानमा स्थायी बसाई भयो २०५५ सालमा विपीमा काम गर्न थालिन्। यतिबिचमा उनले विद्यालयमा पढाइन् पनि।

भगवतिका श्रीमान शिक्षक थिए। भगवति आफै पढाईमा मेहनति । केही वर्ष मात्रै भयो भगवतिले बि एम एल टी गरेर ८० प्रतिशत ल्याएर टप गरेकी छन्। उनी आफूजस्तै बच्चाहरु पनि मेडिकल लाइनमा लागुन भन्ने चाहन्थिन्।

दुई सन्तानले उनलाई पच्छ्याए। जेठो छोरा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर छन्। भरोसा एम बी बी एस सकाएर बसेकी छन्। भूषितालाई पनि मेडिकल लाइनमा लाग्न परिवारले धेरै प्रयास गरेको थियो। तर उनको बाटो अन्तै मोडिएको छ।

भूषिता, उनका दाजू र बहिनी, विद्यालयमा पनि अतिरिक्त क्रियाकलापमा धेरै नै सक्रिय थिए। पढ्न पनि धेरै मेहेनति। भगवति भन्छिन्, ‘भूषितालाई अब सुत भन्यो भने पाँचवटा अंग्रेजी शब्द कण्ठ गर्छु अनि सुत्छु भन्थिन्।’ भूषितालाई मेडिकलमा लाग्नलाई उनका शिक्षकले धेरै नै काउनसिलिङ्ग गरे तर उनी आफ्नो भविष्यको लक्ष्यको बारेमा अडिग थिइन्। ‘म लेखक बन्ने हो।’धरानको दिपेन्द्र प्रहरी विद्यालयबाट एसएलसी सकेपछि उनी काठमाडौँ आइन्। रत्नराज्य क्याम्पसमा आइएमा भर्ना भइन्। राजनीतिशास्त्र र अंग्रेजी उनको रोजाईको विषय थियो। उनले गोल्ड मेडल जितिन्। स्नातकसम्मको अध्ययनपछि उनले केही समयलाई पढाई रोकिन्। पत्रकारितामा साहित्यमा लेख्न थालिन्। तपोवनमा ध्यान बस्न गइन्।

उनको यो दैनिकी र उनले पछ्याएको बाटो आमा भगवतिलाई सहज लागेको थिएन। छोरी सोचेको भन्दा नितान्त फरक बाटोमा हिँडेपछि उनलाई चिन्ताले सताउँथ्यो। सम्झाउन छोडेकी थिइनन्।

भूषिता भन्छिन्, ‘म १२ वर्षदेखि कुशलसँग लिभ इन रिलेशनमा’ मा छु। यो कुरा स्वीकार्न मेरो मामुलाई धेरै गारो भयो।’ चलेको चलनभन्दा फरक तरिकाको व्यवहारको प्रयोग गर्ने छोरीको निर्णय स्वीकार्न गारो थियो । तर समयले सबै बिस्तारै मिलाउँदै गएको छ।’

‘मेरो बाबा र आमा दुवै फरक नेचरको हुनुहुन्छ। बाबाले चाहेको चिज जसरी पनि पाउ भनेर सिकाउनु भयो, आमाले गम्भीर अनि मेहनति हुन।’ उनी भन्छिन्, ‘मलाई म पनि मेहनति छु, र यो गुण आमाबाट नै सरेको हो जस्तो लाग्छ। पहिला मेलै के गर्छे होला भनेर पीर गर्नु हुन्थ्यो, अहिले खुशी हुनु भएको छ।’

स्वरा भास्करले चलचित्र ‘निल बटे सन्नाटा’ मा नपढ्ने छोरीलाई पढाउन आफै स्कूल गएको कथा छ।’ यहाँ भगवतिको पढाईप्रतिको रुचि स्वरासँग जोडेर हेर्न सकिन्छ । अनि छोरीको बारेमा गरिएको पीर पनि मिल्दा जुल्दा नै छन्।

फोनमा भगवतिले भनिन्, ‘राम्रो गर्दैछिन्, अझै राम्रो गर्नुपर्छ। नाम केही समयको लागि हो। स्थायी खालको काम गर्नुपर्छ।’ बोलीमा उनको पीर प्रष्ट झल्किन्थ्यो। विवाह गरोस्, प्राध्यापक अथवा कुनै सरकारी कार्यलयमा अधिकृत होस्। अपेक्षा यसरी मडारिएको छ।

हुन त छोरीको काममा बसेको रससँग उनी धेरै खुसी छन्। ‘मेडिकलमा अहिले पहिलाको जस्तो चार्म छैन। उसले आफ्नो काम रमाएर गरिरहेकी छ। मेरो साथ उसलाई छ।’ छोरीको तारिफ गर्दा उनले झुट नबोल्ने बानि भएको पनि सुनाइन्।

भूषिता भन्छिन्, ‘मैले जे गरेँ, जीवनको निर्णय लिए, मैले इमानदार भएर परिवारलाई भनेकी छु। चाहे जति तितो किन नहोस्। मलाई परिवारले आफ्नो काममा इमानदार हुन सिकाएको छ।’

बाथटबमा अभिनय गर्ने भन्दा भगवतिको प्रतिक्रिया थियो, ‘हरेशिव के हिरोइन बन्न लागेको होला ?’ छोरीलाई अझ मेहनत गर्नुपर्छ भनेर वोध गराउनु थियो शायद।

भूषिता खरो उत्रिइन्।

आमा खुवाउने औँसीमा घर नपुगेपछि अहिले भूषिता केही सामान पठाउँछिन्। प्लस टू पछि आत्मनिर्भर भएकी भूषिताको बेलाबेलामा आमासँग एउटा काम पर्छ, जुन उनलाई असाध्यै मन पर्छ, भगवतिलाई हँसाउने।

लेखक अड्रियाना ट्रिगिएनीले भनेजस्तै, ‘आई लाइक इट ह्वेन माई मदर स्माइलस्, एण्ड आइ स्पेशल्ली लाइक इट ह्वेन आई मेक हर स्माइल।’
जतिबेला मेरी आमा हाँस्छिन्, मलाई मलाई मनपर्छ।

म त्यो क्षण विशेष लाग्छ, जब मेरो कारणले उनी हाँस्छिन्।’