कविता

झोलामा देश

मोहन सङ्ग्राम।

अत्यन्तै सजग भएर

वर्षाैँदेखि

विज्ञापन

हिँडिरहेको छ एउटा मान्छे

झोलामा देश बोकेर

उसलाई डर छ

अलिकति हल्लियो भने

रारा छचल्किन्छ

अलिकति निहुरियो भने

सरगरमाथाले बिझाउँछ

दाहिने गोजीमा राखेको टिस्टा

कहाँ हरायो?

देब्रे गोजीमा राखेको काँगडा

कहाँ खस्यो ?

उ हरेक पटक फरक-फरक

जवाफ दिन्छ

घडीले दिने जवाफजस्तो

झोलाबाट निकालेर

एक खिल्ली युवाहरु

देशको नक्साजस्तै कागजमा बेर्छ

हात तन्काएर खाडीको आगोमा झोस्छ

हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ

धुवाँ आफू लिन्छ खरानी झोलामा राख्छ

कहिलेकाँही

जब उसलाई थकाइ लाग्छ

झोलालाई अगाडि राखेर

बिश्राम लिन्छ मुलायम चौरमा

र झोलामा भगवानको चारो हालिदिन्छ

झोलाभित्र झगडा हुन्छ

आ–आफ्नो भगवानको लागि

जब झोलाभित्र

भगवानको रुचि घट्छ

उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ

र झोलाभित्र हुर्याउछ

फेरि घम्साघम्सी हुन्छ झोलाभित्र

आ–आफ्ना पुर्खाहरुको लागि

बेला बेला झोलाभित्र

नाकको उचाई

आँखाको आयतन

जिब्रोको गति

यस्तै विषयहरुमा झगडा हुन्छ

यो सब देखेर

उसलाई आनन्द महशुस हुन्छ

जस्तो कि

भर्खरै ठूलो युद्ध जितेर

उ पिपलको फेदमुनी

स्वास लिईरहेको छ

जस्तो कि

वर्षौँपछि भेटिएकी

आफ्नी प्रेमिकाको काखमा

उ निदाएको छ

झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनी

उसलाई गीतजस्तो लाग्छ

झोला भित्र खेलिने

रगतको होली

नाटक सम्झेर हेर्छ

झोलाभित्र सारंगी बज्यो भने

उसको कान पाक्छ

झोलाभित्र सेतो परेवा देख्यो भने

उसको सातो जान्छ

कुकुरलाई हड्डी देखाएझैँ

कुनै सुन्दर बस्तु देखाउँछ

बाहिरैबाट झोलाभित्र

एकछिन ताली बज्छ

त्यो ध्वनीमा उ नाच्न थाल्छ

कहिले झोलाभित्र

सानो प्वाल पारिदिन्छ

झोलाको एउटा कुना

उज्यालो हुन्छ

अँध्यारोमा परेकाहरुले

आन्दोलन गर्छन्

त्यो संगीतमा उ निदाउँछ

दक्षिणतिर उत्सव हुँदा

झोला उत्तर तिर फर्काउँछ

उत्तरतिर उत्सव हुँदा

झोला दक्षिणतिर कोल्टाउछ

दुवैतिर शान्त भयो भने

गोजीबाट कालो चस्मा झिकेर

आँखामा लगाउछ

शीर ठाडो बनाउँछ

हात माथि उठाउँछ

र मन्द हाँसो हाँस्छ

यसरी छुट्टाछुट्टै अनुहारमा

फरक फरक हुलियामा

वर्षौँदेखी हिँडिरहेछ एउटा मान्छे

झोलामा देश बोकेर ।

© मोहन सङ्ग्राम, खोटाङ

बैशाख २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्