पाँच मिनेटमा दुई खेलाडीलाई रेड कार्ड, इन्जुरी समयमा पराजित हुने गोल

नौ खेलाडीमा सीमित भएर पनि निर्धारित ९० मिनेटसम्म गोल नखाएको टोटनह्यामका लागि इन्जुरी समय घातक बन्यो । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम बोर्नमाउथसँग १–० ले पराजित भयो ।

अवे मैदानमा भएको खेलमा टोटनह्याम पहिलो हाफको अन्त्यतिर १० तथा दोस्रो हाफको सुरुमै ९ खेलाडीमा सीमित भयो । अर्थात माउरिसिओ पोकेटिनोको टिम दोस्रो हाफमा ९ खेलाडीमा सीमित भएर रह्यो ।

उसले गोल गर्न त सकेको थिएन तर गो पनि खाएको थिएन । तर इन्जुरी समयको पहिलो मिनेट उसका लागि घातक बन्यो । बोर्नमाउथका लागि नाथतन एकेले गोल गरे ।

४३ औँ मिनेटमा सन हेङ–मिन सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । दोस्रो हाफको सुरुमै अर्थात ४८ औँ मिनेटमा आन फोयथ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम ९ खेलाडीमा सीमित भयो ।

फोयथ मैदान छिरेको दुई मिनेट १३ सेकेण्डमै रातो कार्ड पाएर बाहिरिएका हुन् । अर्थात मैदान अवधिको पाँच मिनेट भित्र दुई खेलाडीले रातो कार्ड पाएका हुन् ।

आउँदो बुधबार च्याम्पियन्स लिग सेमिफाइनलको महत्वपूर्ण दोस्रो लेगमा अजाक्ससँग खेल्नु पर्ने बेला टोटनह्यामले दुई महत्वपूर्ण खेलाडी गुमाएको हो ।

यस्तै हारले प्रिमियर लिगमा उ शीर्ष चारमा रहँदै अर्को सिजन च्यापिम्यन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावनामा धक्का लागेको छ । तेस्रो स्थानको टोटनह्यामको एक खेल बाँकी हुँदा ७० अंक छ । दुई खेल बाँकी रहेका चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडको क्रमशः ६८, ६६ र ६५ अंक छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले फुलह्यामलाई १–०, वेष्ट ह्यामले साउथह्याम्पटनलाई ३–० तथा क्रिष्टल प्यालेसले कार्डिफ सिटीलाई ३–२ ले हराएका छन् । पराजित भएकाे कार्डिफ रेलिगेशनमा परेकाे छ ।

बैशाख २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्