मेस्सीसहितका महत्वपूर्ण खेलाडीलाई आराम दिएको बार्सिलोना हार्‍यो

साबिक फाइनलिस्ट लिभरपुललाई च्यापिम्यन्स लिग फुटबल सेमिफाइनलको पहिलो लेगमा पराजित गरेपछिको खेलमा बार्सिलोना घरेलु लिगमा पराजित भएको छ ।

दोस्रो लेगको तयारीका लागि पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम दिएको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बनेको बार्सिलोना सेल्टा डी भिगोसँग २–० ले पराजित भएको हो ।

अवे मैदानमा भएको खेलमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज तथा जेरार्ड पिके बिना मैदानमा थियो । यस्तै इभान रेकिटिक, सर्जियो बास्क्वेट र जोर्डी अल्बालाई पनि आराम दिइएको खेलमा बार्सिलोना कमजोर देखियो ।

गएको हप्ता ला लिगा उपाधि पक्का गरेको बार्सिलोनालाई हराउने क्रममा सेल्टा डी भिगोका लागि ६८ औँ मिनेटमा म्यासी गोमेज र ८८ औँ मिनेटमा भिएआर मार्फत पाएको पेनाल्टीमा लागो एस्पासले गोल गरेका हुन् ।

बार्सिलोनाले आउँदो मंगलबार च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा अवे मैदानमा लिभरपुलसँग खेल्दैछ । पहिलो लेगमा ३–० को जित निकालेकाले बार्सिलोना बलियो अवस्थामा छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पनि पराजित भयो । स्पानियोलले एथ्लेटिकोलाई ३–० ले हराएको हो । अरु खेलमा लेभान्टेले रायो भालेकानोलाई ४–१ तथा रियल सोसिडाडले एलाभेसलाई १–० ले हराएको छ ।

बैशाख २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्