नेपालगञ्ज– फैलसा कार्यान्वयन टोलीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले डाँका–चोरीमा ६ वर्ष कैद सजाय पाएका एक र लागु औषध मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।

डुडुवा गाउँपालिका–६, शिखनपुरुवाका ५९ वर्षीय सरनम सिंह सरदारलाई प्रहरीले पक्राउ गरेको हाे। उनी डाँका चोरी मुद्दाका फरार अभियुक्त हुन्। २०७० जेठ १८ गते सरदारलाई अदालतले ६ वर्ष कैद सुनाएको थियो।

खजुरा–७, गुनानाका जमाल भाट र कोहलपुर–२ का राजु विक लागु औषध मुद्दाका फरार अभियुक्त हुन्। जमाललाई २०७५ जेठ १८ गते अदालतले १० महिनाको सजाय तोकेको छ। राजुलाई सोही मितिमा अदालतले ३ महिनाको सजाय सुनाएको थियाे।

विभिन्न मितिमा अपराध गरेर फरार रहेकालाई पक्राउ गरेर अदालतमा बुझाउन बाँकेमा प्रहरी र अदालतका कर्मचारी सम्मिलित फैसला कार्यान्वयन टोली बनाइएको छ। टोलीले फरार अभियुक्तको नाम लिष्ट हेर्दै पक्राउ गरिरहेको छ।

बैशाख २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्