बालिका बलात्कार प्रकरण: अदालतको फैसला नआउन्जेलसम्मका लागि आन्दोलन स्थगित

साङ्केतिक तस्बिर।

जनकपुरधाम-धनुषामा १४ वर्षीया बालिकामाथी भएको बलात्कार घटनाका दाेषीलाई फाँसीको माग गर्दै भइरहेको प्रर्दशन सोमबारदेखि स्थगित भएको छ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा १४ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गर्नेलाई कारबाहीकाे माग गर्दै स्थानीयहरु प्रर्दशन गर्दै आएका थिए।

पीडित परिवार, स्थानीय बुद्धिजिवी तथा नागरिक समाजको सोमबार बसेको सर्वपक्षीय बैठकले आरोपीलाई पक्राउ गरी जबरजस्ती करणीको मुद्दा अघि बढाइएको हुँदा अदालतको फैसला नआउन्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।

यता, कानुनी प्रक्रिया अघि बढिसकेको हुँदा कानुनको म्यादसम्म आवश्यक अनुसन्धान भइरहेको र स्वास्थ्य परीक्षण लगायतका घटनास्थलमा बरामद भएका प्रमाणहरुको परिक्षण रिपोर्टहरु अदालतमा पेश नहुञ्जेल सम्मको लागि आन्दोलन तथा प्रदर्शन नगरिने नागरिक समाजको भनाई छ।

राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, ओरेकसहित विभिन्‍न मानवअधिकारकर्मीहरु सहितको टोलीले घटनालाई चासोका साथ अनुगमन तथा निरिक्षण गरिरहेको हुँदा स्थानीय नागरिक समाजले सम्बन्धित सबैलाई आन्दोलन तथा प्रदर्शन स्थगित आग्रह गरेको थियो।

क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकी १४ वर्षीय बालिकालाई गत वैशाख १५ गते घरमा कोहि नभएको मौकाछोपी नातामा काका पर्ने राजकुमार साहले बलात्कार गरेका थिए।

आइतबार दिउँसो स्कुलबाट घर फर्केर महेन्द्रनगरस्थित घरमा पढ्दै गरेकी दिदी-बहिनीलाई बेहोस हुने औषधि प्रयोग गरी साहले घरमा कोही नभएको बेला बलात्कार गरेको आरोप छ।

बालिका आईतबार दिउँसो करिब १२ बजे बलात्कृत भएपनि परिवारले सोमबार मात्र प्रहरीमा उजुरी गरेका थिए। उजुरीपछि आरोपित साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडकको जाहेरीका आधारमा प्रहरीले साहमाथि जबर्जस्ती करणीको मुद्दा चलाएको छ।

यस्तै पीडित परिवारले बालिकाको मेडिकल जाँचमा लापरबाही गरेको आरोप लगाएकाे छ। बालिकालाई मेडिकल जाँच गराउन घटना घटेकै दिन जनकपुर अस्पतालमा ल्याएको भएपनि अस्पतालले राम्ररी चेकजाँच नगरेको पीडित परिवारको आरोप छ।

अञ्चल अस्पतालमा मेडिकल गरी चिकित्सकले आफूहरुलाई घर पठाएको तर घर जाने बित्तिकै बालिकाको स्वास्थ्य बिग्रेको र वान्ता र रक्तस्राव भई बेहोस हुँदा पुन: जनकपुर आएको पीडितका वुवा हिरालाल ठाकुरले बताए।

उनले भने, ‘पहिलो चरणमा अञ्चल अस्पतालमै मेडिकल गराएँ। तर समान्य चेकजाँच गरी छोरीलाई घर पठाइयो। घर जाने बित्तिकै छोरीको स्वास्थ्य अवस्था बिग्रेपछि जनकपुरको धनुषा अस्पतालमा भर्ना गराए। उपचार शुरु गरिएपनि चिकित्सकहरुले खासै वास्ता गरेनन्। छोरीको बारे सोध्दा पनि केही बताएनन्। हामीसँग नराम्रो व्यवहार भयो।’

धनुषामा उपचार सम्भव नभएपछि अहिले छोरीलाई उपचारको लागि काठमाडौँको पाटन अस्पतालमा लगिएको उनले बताए। अहिले बालिकाको स्वास्थ्यमा केही सुधार आएको उनले बताए।

यस्तै आइतबार ईलाका प्रहरी कार्यालय घेराउन गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो। साथै दोषीमाथि कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगर मार्फत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र क्षीरेश्वरनाथ नगरपालिका कार्यालयलाई ज्ञापन पत्र समेत बुझाइएको छ।

बैशाख २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्