बेलायती राजपरिवारमा थपिए सदस्य

मातापिता बने ह्यारी र मेगन, पहिलो सन्तानका रुपमा छोरा

बेलायती राजकुमार ह्यारी पिता बनेका छन् । गएको वर्ष अमेरिकी अभिनेत्री मेग नमर्केलसँग विवाह गरेका ह्यारीले आफू छोराको पिता बनेको जानकारी दिएको बिबिसीसहितका बेलायती सञ्चार माध्यमले जानकारी दिएका छन् ।

डचेज अफ सकेक्स अर्थात ह्यारीकी श्रीमती मेगनले स्थानीय समय अनुसार सोमबार बिहान ५ बजेर २६ मिनेट जाँदा छोरा जन्माएकी हुन् । ड्युक अफ ससेक्सले आमा र नवजात सन्तानको स्वास्थ्य राम्रो रहेको बताएका छन् ।

नवजात शिशुको नाम भने सार्वजनिक गरिएको छैन । आफूहरु अझै पनि नामबारे सोचिरहेको राजकुमार ह्यारीले बताएका छन् । मेगनले ३.२ किलोग्राम तौल भएको सन्तान जन्माएको र जन्मका बेला राजकुमार ह्यारी उपस्थित रहेको बकिङ्घम प्यालेसले उल्लेख गरेको छ । राजगद्दिका लागि नवजात शिशु सातौँ स्थानमा छ । छैटौँ स्थानमा ह्यारी रहेका छन् ।

ह्यारीले छोरा जन्मिएपछि बोल्ने क्रममा केही समय ढिला गरि जन्मिएको जानकारी दिएका हुन् । अबको दुई दिनमा विशेष कार्यक्रमका बिच केही घोषणा हुने र सबैले आफ्नो परिवारको नयाँ सदस्यलाई देख्न पाउने ह्यारीले बताएका छन् ।


ह्यारीले सन्तानको जन्मले आफू चन्द्रमामा पुगेको महसुस गरेको बताएका छन् । पनातिको जन्मको खबरले महारानी एलिजाबेथसहित सम्र्पूण राजपरिवार उत्साहित भएको जनाइएको छ ।

ह्यारीका दाइ–भाउजु द ड्युक एण्ड डचेज अफ क्याम्ब्रिज पनि भाइ–बुहारी माता पिता बनेको र आफूहरु ठूलोबुवा–ठूलीआमा बनेकोमा उत्साहित रहेको जनाइएको छ ।

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्