बार्सिलोनासँगको खेलमा लिभरपुल सालह र फिरमिनो बिहीन

साबिक फाइनलिस्ट लिभरपुलले मंगलबार राति च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्लिस क्लब लिभरपुलका लागि स्पेनिस च्याम्पियन बार्सिलोनासँगको यो खेल निकै महत्वपूर्ण र अप्ठ्यारो अवस्थामा छ । कारण बार्सिलोनाले घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेर फाइनल यात्राका लागि बाटो धेरै हदमा सहज बनाएको छ ।

लिभरपुललाई आफ्नो बाटो बनाउनका लागि पहिलो बार्सिलोनाको बाटो रोक्नु पर्नेछ र त्यसका लागि पहिलो लेगको नतिजालाई उल्ट्याउनु पर्छ । तर सजिलो छैन यो ।

अझ बार्सिलोनामा छन् उत्कृष्ट लय सहितका कप्तान लियोनल मेस्सी । र उनलाई साथ दिइरहेका छन् लुइस स्वारेज, फिलिप कोन्टिन्हो, इभान रेकिटिक, जेरार्ड पिकेसहितका उत्कृष्ट खेलाडीले ।

लिभरपुलमा पनि उत्कृष्ट खेलाडी छन्, तर बार्सिलोनासँगको दोस्रो लेगमा लिभरपुल तुलनात्मक रुपमा कमजोर टिमसहित प्रस्तुत हुनु पर्ने भएको छ । उसका दुई उत्कृष्ट खेलाडी मोहम्मद सालह र रोबर्टो फिमिनो बिना नै मैदान उत्रिनु पर्ने अवस्था आउने देखिएको हो ।

दुवै खेलाडी चोटका कारण मैदान बाहिर हुने सम्भावना छ । शनिबार राति प्रिमियर लिग अन्तर्गत न्युक्यासललाई ३–२ ले हराउने क्रममा सालह चोटग्रस्त भएका हुन् । यस्तै न्युक्यासलसँगको खेलमै पनि मैदान बाहिर रहेका फिरमिनो ठीक भएका छैनन् । उनको मसलमा चोट छ ।

प्रशिक्षक जर्गेन क्लोप्पले सालह र फिरमिनो उपलब्ध नहुने पुष्टि गर्दै भनेका छन्, ‘विश्वका दुई उत्कृष्ट स्ट्राइकर उपलब्ध हुने छैनन् र हामीले चार गोल गर्नु पर्नेछ ।’

सेमिफाइनलको दोस्रो लेग लिभरपुलको मैदानमा मंगलबार मध्य रातमा हुँदैछ ।

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्