कृत्रिम पोखरीले २५० हेक्टर जमिनमा सिँचाई

दाङ– पहिले पानी बग्ने कुलोमा कमिला हिड्थे। तर अहिले त्यही कुलोबाट अहिले कलकल पानी बगिरहेको छ।

घोराही–१७ को ढिकपुर गाउँदेखि उत्तरपूर्व एउटा ठूलो जलाशय छ। यहि जलाशयको पानी जेनेरेटरबाट खेतबारीमा पुर्‍याएर तरकारी खेती गरिएको छ। घोराही उपमहानगरपालिकाले बनाएको उक्त जलशयको पानीले अहिले ढिकपुर गाउँ तरकारीमा ढिकपुर गाउँमा व्यवसायिक तरकारी खेती गरिएको छ।

५६ घरधुरी भएको ढिकपुर गाउँका ३४ घर परिवारले जलाशयको पानीले व्यवसायिक खेती गरेका छन्। कृत्रिम जलाशयको पानीले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको स्थानीय भिमबहादुर चौधरीले बताए। ‘करेला, बन्दा, भाण्टा, काउली, टमाटर, लौका, काक्रा, खुर्सानी, घिरौला, सिमी, बोडी लगायतका तरकारी खेती गरिएको छ’, उनले भने,‘पोखरी नहुँदा खेतबारी बाँझै थियो। तर अहिले सिँचाई गर्न पुगेको छ।’

सशस्त्र द्वन्दको समयमा नेपाली सेनाको जागिर छोडेर विदेश पुगेका चौधरीले सोचेजस्तो कमाई नहुँदा फर्किएर तरकारी खेती थालेको बताए। ‘विदेशमा पनि सोचे जस्तो कमाई भएन’, उनले भने,‘ घर आउँदा मेरो जग्गा मात्रै बाँझो थियो। गाउँलेहरुले जलाशयको पानीबाट खेती गरेको देखेर मैले पनि तीन वर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएको छु।’

घोराही उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन विभिन्न ठाउँमा कृत्रिम जलाशय बनाउँदै आएको छ। ढिकपुर गाउँको वरिपरी उपमहानगरपालिकाले तीनवटा जलाशय बनाएको छ। ‘किसानहरुलाई सहज होस् र व्यवसायीक बनुन् भन्ने उद्देश्य नै हाम्रो हो।’ नगर प्रमुख नरुलाल चौधरीले भने,‘सिँचाईसँगै पानीको स्रोत बढाउने, पर्यटकलाई आकर्षण गराउने सोच उपमहानगरपालिको रहेको र वर्षेनी यस्ता जलाशय बनाउँदै आएको छ।’

घोराही उपमहानगरपालिकाले हालसम्म १२ वटा जलाशय निर्माण गरेको छ। यसबाट करिब २ सय ५० हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको उपमहानगरपालिका इन्जिनियर रामधन श्रेष्ठले बताए। ‘वर्षातको पानी संकलन गर्न पोखरी बनाइएको छ। पोखरीमा जम्मा भएको पानी सिँचाईको लागि प्रयोग गरिएको छ’, उनले भने,‘ जलवायु परिवर्तनको असरले पानीका स्रोतहरु सुक्न थालेको अवस्थामा पोखरी निर्माण गरेर पानी संचय गर्नु अनुकुलनको राम्रो उपाय हो।’

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्