व्यवसायीक पशुपालनमा आकर्षण

किसानलाई दुहुनो भैंसी उपहार, विक्री गरे किसानको नाम कालोसूचीमा

सुर्खेत– थलामा चार/पाँच वटा भैसी। आम्दानीको स्रोत दुहुनो भैसी थियो। बिहान उठ्यो, भैंसी दुह्यो, दुध गाउँमा विक्रि गर्‍यो। महिनाभरी दुध बेचेरै मनग्य आम्दानी गर्थिन्, वराहताल गाउँपालिका–१० ओदालतालकी ललिता सलामी। ‘२०४९ सालमा बिहे भएपछि भै‌सी दुहेको छैन्’, उनले बाल्यकाल सम्झिँदै भनिन्,‘दुध बेचेरै लत्ताकपडा र घरखर्च चल्थ्यो, यतातिर भैसी पाल्ने चलन नै रहेनछ।’ केही वर्षयता रित्तै भएको गोठमा दुहुनो भैंसी पालेकी छन्, उनले।

कर्णाली प्रदेश सरकारको अनुदानमा उपहार पाएपछि उनले दुहुनो भैंसी भित्र्याएकी हुन्। बस्तीमा तरकारी खेती गर्न प्रयाप्त सिँचाई छैन्। अन्य व्यवसाय पनि सहजै आम्दानी गर्न सकिने अवस्था छैन्। ‘दुध राम्रै दियो भने डेरीसम्म विक्रि गर्ने सोच छ’, उनले खुसी हुँदै भनिन्,‘एउटा भैंसीले नै दुध विक्रि गर्न नसके पनि दुध, दही, मोही खान त पुग्ला। घ्यू मात्रै उत्पादन गरेर विक्रि गर्न सके आम्दानी हुन्छ।’

व्यवसायिक रुपमा भैंसीपालन गर्ने योजना उनको छ। गाउँमा प्रयाप्त घाँस खेती छ। अभाव भए खाली जग्गामा घाँस खेतीसमेत गर्ने योजना रहेको उनले सुनाइन्। दुहुनो भैंसीबाट आर्थिक समस्या समाधानमा टेवा पुग्ने अपेक्षा उनले लिएकी छन्। आम्दानीको स्रोत नभएकाले उनले दुहुनो भैसीमार्फत आयआर्जन गर्न सकिने भएकाले व्यवसायिक बन्ने अठोट लिएको बताइन्। ‘वर्षभरी लगाएको खेतीले तीन महिना खान पुग्दैन । आम्दानीका लागि भारतको भरपर्नुपर्ने बाध्यता छ’ उनले भनिन्,‘सरकारद्वारा उपहार पाएको भंैसीबाट राम्रो आम्दानी भए अर्काे किन्नुपर्ला।’

ललिता जस्तै ओदालतालका ४० जनाले प्रदेश सरकारबाट भैसी उपहार पाएका छन्। गाउँका विपन्न र आर्थिक रुपमा कमजोर परिवारलाई भूमी व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको आर्थिक सहयोगमा जनज्योती कृषि सहकारी संस्थाले दुहुनो भैंसी उपहार दिएको हो।

कर्णाली प्रदेश सरकारको ५० लाख अनुदान, बराहताल गाउँपालिकाको पाँच लाख र जनताबाट १० लाख रुपैयाँ संकलन गरी भैंसी खरिद गरिएको हो। २५ हजार रुपैयाँ भैसी पाउने किसानहरुबाट लिइएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले बताए।

सहकारीले शेयर सदस्यलाई धनगढीबाट भैसी खरिद गरी उपहार दिएको हो। केसी डेरी तथा भैंसी पालन फार्म धनगढिले भारतबाट भैंसी ल्याएर सहकारीले विक्रि गरेको हो। १५ वटा दुहुनो र अन्य २५ वटा गर्भवति भैसी वितरण गरिएको सुनारले बताए।

भैंसीपालनलाई प्रोत्साहन गर्दै कृषकको आयआर्जनमा मद्दत पुर्‍याउने उद्देश्यले भैंसी वितरण गरिएको हो। वीरेन्द्रनगरमा दुधको मागलाईसमेत आपुर्ती गर्ने लक्ष्य लिइएको छ। ‘वितरण गरिएको भैसी मोर्रा जातको हो, यो जातको भैंसीले दैनिक न्यूनतम १० लिटर दुध दिन्छ’ उनले भने,‘ठुलोलाई एक लाख २० हजार र सानोलाई एक लाख १० हजार रुपैयाँ मुल्यमा ल्याइएको छ। लालनपालनमा ध्यान दिए दुधबाटै मनग्य आम्दानी गर्न सकिन्छ।’ एउटै उमेरको भैसी नभएपछि चिट्टाको माध्यमबाट भैसी वितरण गरिएको हो। स्वास्थ्य परिक्षण गरेर ल्याएको भैंसीकाे पशु विमासमेत गरिएको छ।

‘विक्रि गरे किसानको नाम कालोसूचीमा’

प्रदेश सरकारको आर्थिक सहयोगमा वितरण गरिएको भैंसी विक्रि गरेको खण्डमा किसानका नाम कालो सूचिमा राखिने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्। किसानलाई भैंसी हस्तान्तरण गर्दै उनले अनुदानको दुरुपयोग हुने भएकाले सहकारीले वितरण गरिएको भैंसीमाथिको निगरानी बढाउनुपर्ने उल्लेख गरिन्।

‘सुत्केरी र गर्भवति गरी ४० वटा भैसी वितरण गरिएको छ, पाडापाडीसहित ८० वटा भैसी छन्। अर्काे वर्ष एक सय ६० भैंसी बनाउन सक्ने क्षमता किसानहरुले राख्नुपर्‍यो’, उनले भनिन्,‘कुनै वाहनाबाजीमा विक्रि गर्न पाइदैन। विक्रि गर्नुपर्ने अवस्था कुनैपनि हालतमा नआओस्।’

विशेष परिस्थितिको अवस्थामा मात्रै सहकारीलाई जानकारी दिएर भैसी विक्रि वितरण गर्न पाउने विधि बनाउन उनले आग्रह गरिन्। सहकारीको स्वीकृत विना भैंसी विक्रि गरे किसानहरुको नाम कालो सूचीमा रहनेछ। किसानले अनुदानमार्फत पाएका भैंसी आफ्नो लागि वितरण गरिएको बुझ्नुपर्ने बताइन्।

प्रदेश सरकारले १० वटा भैंसी पालन गरेको कृषकलाई ५० हजार अनुदान दिने योजना ल्याएको छ। व्यवसायिक रुपमा भैंसीपालनमा आकर्षण गर्न सरकारले अनुदानको विभिन्न योजनाहरु अघि सारेको हो। आगामी वर्षदेखि व्यवसायिक कृषकहरुलाई प्रोत्साहन दिने कार्यक्रम अन्तर्गत अनुदानको रकम वृद्धि गर्न तयारी प्रदेश सरकारको भएको मन्त्री केसीले बताइन्। किसान लक्षित गरी प्रदेश सरकारले आगामी दिनमा अनुदानका कार्यक्रम र ऋणमा सहुलियत दिने व्यवस्था मिलाउने उनले बताइन्।

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू