जनता आवास कार्यक्रम चलाउँदै प्रदेश सरकार, दाङमा १९२ घर बन्‍ने

दाङ– जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश–५ सरकारले दाङमा १ सय ९२ घर निर्माण गर्ने भएको छ।

लोपोन्मुख, अति सिमान्तकृत समुदाय तथा विपन्न वर्गका नागरिकलाई आवासको व्यवस्था गर्न २०६६/०६७ बाट जनता आवास कार्यक्रम सुरु भएको हो। यस वर्षदेखि जनता आवास कार्यक्रमलाई प्रदेश सरकार मातहतमा राखिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयमार्फत जनता आवास निर्माण थालिएको हो। उक्त कार्यक्रम अन्तर्गत दाङका ६ वटा निर्वाचन क्षेत्रमा ६ करोड ७२ लाखको बजेटमा १ सय ९२ घर निर्माणकार्य कार्यान्वयनको चरणमा जान लागेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख शरदकुमार मानन्धरले जानकारी दिए।

‘कार्यक्रमले लोपोन्मुख जाति, आदिवासी जनजाती, विपन्न, मुस्लिम र दलित समुदायको लागि सहयोग गर्नेछ’ मानन्धरले भने,‘ प्रदेशको हरेक निर्वाचन क्षेत्रमा बेठक गरेर लक्षित क्षेत्र र व्यक्तिको पहिचान गरिने छ।’ कार्यक्रमले पाँचवटा निर्वाचन क्षेत्रमा ३०/३० वटा र निर्वाचन क्षेत्र नं. ३ (ख) मा ४२ घर गरी जम्मा १ सय ९२ घर निर्माण गरिने छ।

एउटा घरको निर्माण लागत ३ लाख ३० हजार रहेको छ। यसबर्ष मात्रै जनता अवास कार्यक्रमका लागि ५ हजार १ सय निवेदन दर्ता भएका छन्। कार्यक्रम लागू भएदेखि हालसम्म ९ सय घर निर्माण गरिएको छ।

भुक्तानी प्रक्रिया चार चरणमा गरिने छ। पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा ३० प्रतिशत, तेस्रो किस्तामा ३५ प्रतिशत र चौथा किस्तामा १० प्रतिशत रकम भुक्तानी गरिने छ।

यस्तै प्रदेश–५ का सांसद रेवतीरमण शर्माले प्रदेश सरकारको जनता आवास कार्यक्रम लक्षित वर्गमा पुर्‍याउन सहरी विकास तथा भवन निर्माण कार्यालयको ध्यानाकर्षण गराए

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्