‘बाटो फराकिलो गर्दा घर जान्छ भने जाओस्, नालीका लागि त ठाउँ छोड्न सकिँदैन’

नेपालगञ्ज– ‘चिना हेरेर कमाएको पैसाले किनेको घर हो। चिना हेर्दाहेर्दै मेरो आँखा कमजोर भइसके। बाटो फराकिलो गर्दा घर जान्छ भने जाओस्, नालीका लागि त ठाउँ छोड्न सकिँदैन’, नेपालगञ्ज घरबारीटोलका पुजारी गौरीशंकर शर्माले भने, ‘पुरानै संरचनामा नाली र कल्भर्ट बनाए भइहाल्यो नि।’

घरबारीटोलमा पर्ने दोन्द्रा नालाको जीर्ण कल्भर्ट भत्काएर नयाँ बनाउदा पुजारी शर्माको घर र कालिका मन्दिरमा क्षति पुग्ने भएपछि नेपालगञ्जका मेयर धवलशमशेर राणाले आह्वान गरेको सर्वदलीय बैठकमा पुजारी शर्माले यस्तो भन्दै थिए।

इन्जिनियरहरुले जीर्ण कल्भर्ट भत्काएर नयाँ बनाउनै पर्ने, नालाको मापदण्ड पनि साढे ५ मिटर रहेकोमा त्यहाँनिर साढे चार मिटर रहेको जानकारी दिएपछि मेयर राणाले पुजारी शर्मालाई एक मिटर जग्गा दिन आग्रह गरेका थिए। ‘एक मिटर नाला बढाउन ठाउँ दिनुस् न गुरुजी, तपाईकै कारणले नालाको मापदण्ड बिगार्न पनि भएन नि’, मेयर राणाले भने, ‘पुरानै संरचनामा नाला बनाउँदा पानीको बहाव थेग्न सक्दैन। त्यसैपनि तपाईको घरमा त्यसले असर पार्छ।’

पुजारी शर्माले आजसम्म त्यही पुरानै नालीबाट पानी बग्दा घरलाई कुनै असर नपरेको र अब कसरी असर पर्छ भन्ने प्रश्न गरे। उनले भने, ‘त्यहाँनिर साढे चार मिटरको नाला हुँदा नेपालगञ्ज डुब्छ भने त्यसको जिम्मेवार म हुन्छु।’

घरबारीटोल निवासी प्रदेश सांसद सुरेन्द्र हमालले पनि पुरानै संरचनामा नाला बनाउदा फरक नपर्ने धारणा राखे। अरु नेताहरुले भने मापदण्ड अनुसार नै नाला बनाउनु पर्ने अडान दोहोर्‍याए।

धेरैबेरको रस्साकस्सीपछि मापदण्ड अनुसार नै नाला बनाउने, त्यस क्रममा दायाँबायाँको संरचनालाई कम क्षति पुग्ने गरी काम गर्ने, कथम्कदाचित घर भत्किएमा घरधनी नै जिम्मेवार हुने र दिवालमाथि संरचना बनाउन दिने निर्णय गरिएको छ।

नाला विस्तार र कल्भर्टका विषयमा आव्हान गरेको बैठकमा घरबारी टोल सडक विस्तार गर्दा मनोमानी तरिकाले बिस्तार गरिरहेको चर्चा भएको थियो। घरबारीटोलको सडक साढे ८ मिटर बनाउने सहमति भइसकेको छ।

वडाका जनप्रतिनिधिहरु आफू नदेखिने र प्राविधिकले जहाँ पायो त्यहीबाट विस्तारका लागि चिन्ह लगाउने काम गरिरहेको धेरैले टिप्पणी गरे। ‘सडकको बीचबाट दुवैतिर गरी साढे आठ मिटर नाप्नु पर्‍यो। सहमति त्यही भएको हो। तर, प्राविधिक भएर मन लागेको ठाउँबाट नापेर आतङ्क मच्चाएका छन्’, स्थानीय सञ्जयराज सिंहले भने, ‘नियम, कानून सबैलाई बराबरी हुनुपर्छ। कतै एउटा त कतै अर्को गर्न पाइँदैन।’

घरबारीटोलमा काम गरिरहेका प्राविधिकले एकएक सेन्टिमिटरमा झगडा गरेर काम गर्न अप्ठेरो पार्ने काम भइरहेको मेयर राणालाई अवगत गराएका छन्।

बैशाख २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्