‘उनीहरुले कसरी यो सम्भव बनाए, मलाई थाहा छैन’

बार्सिलोनामाथि ऐतिहासिक पुनरामगन गर्दै च्यापिम्यन्स लिग फुटबलको फाइनलमा स्थान बनाएको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले आफू टिमका खेलाडीको प्रदर्शनबाट अभिभूत भएको बताएका छन् ।
खेलपछि टिमका खेलाडीहरु आफूले पूरा गरेको ऐतिहासिक यात्राको उत्सव मनाउँदा आँसु रोक्न नसक्ने अवस्थामा पुगेको क्लोपले बताएका हुन् ।
पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले मंगलबार राति भएको दोस्रो लेगमा ४–० को जित निकाल्दै समग्रमा ४–३ ले बार्सिलोनालाई हराएर फाइनलमा स्थान बनाएको हो । लिभरपुलको यो जितमा डिभोक ओरिजी र जोर्जिनियो वाइनाल्डमले दुई–दुई गोल गरेका हुन् ।
आफ्ना खेलाडीले प्राप्त गरेको ऐतिहासिक उपलब्धीमाथि प्रशिक्षक क्लोपलाई विश्वास गर्न समय लाग्यो । किनकी उनले भन्न त आफूमा विश्वास गर्न भनेका थिए खेलाडीलाई तर मोहम्मद सालह रोबर्टो फिरमिनोको अनुपस्थितिमा गर्नु पर्ने चार गोलमा त्यति विश्वास भने थिएन उनलाई ।
उनले भनेका छन्, ‘यो क्लबलाई त्यो अघि परिभाषित गर्नु परेको भए विशाल हृदय युक्त भन्थेँ, अहिले चाहिँ क्रेजी भन्दा हुन्छ । विश्वभर यसै भनिएको होला ।’
उनले अघि भनेका छन्, ‘पूरै खेल नै अति नै भयो । जित नै मुश्किल थियो त्यसमाथि गोल नै नखाई, मलाई थाहा छैन उनीहरुले कसरी यस्तो गर्न सके ।’
जितले भावनात्मक परिवेश सिर्जना गरेको र त्यो सबैभन्दा महत्वपूर्ण रहेको उनले बताएका छन् । यसले फुटबलमा रहने सम्भावनालाई देखाएको उनको भनाई छ ।
सन् १९८६ यता युरोपियन प्रतिस्पर्धाको सेमिफाइनलको पहिलो लेगमा ३–० ले पछि परेको टिम अघि बढेको पहिलो पटक हो । त्यो बेला पुरोनो संरचनाको युरोपियन कपमा गोथेनबर्गलाई बार्सिलोनालाई नकआउट गरेको थियो ।