क्यान्सर रजिष्ट्रीबारे अनुसन्धान अधिकृत रञ्जिता सुवेदीसँग गरिएको कुराकानी

‘पुरुषमा फोक्सोको क्यान्सर, महिलामा स्तनको क्यान्सर सबैभन्दा बढी’

जनसंख्याको आधारमा नेपालमा क्यान्सरका बिरामी तथा क्यान्सरबाट मृत्यु हुने मानिसहरुको यकिन तथ्याङ्क नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको थियो। यही तथ्याङ्क अपडेट गर्न पछिल्लो समय वर्षेनी कति नयाँ क्यान्सरका बिरामी देखा परेका छन्,कुन क्षेत्रमा कति जना,कुन अंगका क्यान्सरका बिरामी कति, क्यान्सरका कारण कतिको मृत्यु भएको छ भन्ने सम्पूर्ण विवरण तयार पार्न सरकारले जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी रजिष्ट्री अर्थात तथ्याङ्क संकलण प्रणाली सञ्चालन गरिरहेको छ। यसका लागि क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा बाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेको परिषद् बताउँछ। परिषद्ले रजिष्ट्री सुरु गरिएको पहिलो पाँच महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ।

क्यान्सरबारेका तथ्याङ्क संकलन गर्न काम गरिरहेकी जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीकी अनुसन्धान अधिकृत रञ्जिता सुवेदीसँग देश सञ्‍चार संवाददाता प्रतिभा चन्दले यसबारे गरेको कुराकानी:

क्यान्सर रजिष्ट्री किन?
नेपालमा मात्रै नभएर विश्वभर नै क्यान्सरको प्रकोप बढिरहेको छ। यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन। दिन प्रतिदिन क्यान्सरका बिरामी बढिरहेका छन्, जसका कारण स्वास्थ्य क्षेत्रमा क्यान्सर रोग एक मुख्य चासोको विषय बनेको छ। अन्य विकसित देशहरुमा जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री धेरै पहिलेदेखि प्रचलनमा भए पनि हाम्रो देशमा भने सन् २०१८ जनवरीदेखि सुरु गरिएको क्यान्सर रजिष्ट्री पहिलोपटक हो। नेपाली समाजमा क्यान्सर रोग सम्बन्धी विभिन्न खाले जनचेतना जगाउनुका साथै क्यान्सरको रोकथाम तथा उपचार सम्बन्धी कार्ययोजना बनाउन क्यान्सर रजिष्ट्री आवश्यक छ। सबै भन्दा मुख्य कुरा त क्यान्सरको प्रकोप कुन–कुन क्षेत्रमा कस्तो छ भनेर थाहा पाउन क्यान्सरका विरामी तथा क्यान्सरबाट मृत्यु भएको मानिसहरुको तथ्याङ्क संकलन अति महत्वपूर्ण हुने भएकाले जुनसुकै देशमा पनि यस्तो रजिष्ट्री अति नै आवश्यक हुन्छ।

रजिष्ट्री सुरु गर्नुको मुख्य उद्देश्य के हो?
यस अनुसन्धानले नेपालमा क्यान्सरको प्रकोप कस्तो र कुन ठाउँमा छ भनेर पत्ता लगाउँछ। अनुसन्धानबाट क्यान्सरका बिरामीको तथ्याङ्क संकलन गरेर हामीले कुन ठाउँमा क्यान्सरको कस्तो खालको जनचेतना मूलक कार्यक्रम गर्ने भनेर तय गर्न सक्छौँ र सरकारले आवश्यकताअनुसार तय गरिएका जनचेतना मूलक कार्यक्रम सजिलैसँग अगाडि बढाएर लैजान सक्छ। यति मात्रै नभएर यस्तो अनुसन्धानले सरकारलाई ठोस तथ्याङ्क दिन्छ। संकलन गरिएका तथ्याङ्क अनुसार क्यान्सरका विरामी धेरै देखिएको ठाउँमा अस्पताल खोल्नुपर्ने वा क्यान्सर विशेषज्ञको आवश्यकता परेको ठाउँमा क्यान्सर विशेषज्ञ पठाउन क्यान्सर रजिष्ट्रीले महत्वपूर्ण भूमिका खेल्छ। केही वर्षदेखि सरकारले क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ, जसका लागि सरकारले आर्थिक वर्ष २०७४/७५ मा ९३ करोड रुपैयाँ खर्च गरेको छ। करिव एक अर्ब रुपैयाँ भनेको सानो रकम होइन, क्यान्सर उपचारको लागि सरकारले यति ठूलो रकम खर्च गर्दै आइरहेको छ। अब सार्वजनिक हुने तथ्याङ्कले आउने आर्थिक वर्षमा कति बजेट खर्च गर्ने भनेर समेत निधारण गर्ने छ।

रजिष्ट्री गरिरहँदा बिरामीलाई कस्तो फाइदा हुन्छ?
अहिले नै बिरामीलाई यहि फाइदा हुन्छ भन्न त सकिँदैन तर यसले बनाउने नीति र कार्यक्रमहरुले भने विस्तारै विरामीलाई फाइदा पुर्‍याउँछ। क्यान्सरको प्रकोप धेरै भएका ठाउँमा संकलन गरिएका तथ्याङ्कका आधरमा केन्द्रीय तथा स्थानीय सरकारको माध्यमबाट जन चेतना अभिवृद्धि, क्यान्सर रोकथाम तथा उपचार कार्यक्रम तथा कार्ययोजनाहरु बनाउन सहयोग गर्छ।

कसरी तथ्याङ्क संकलन गरिदै छ?
तथ्याङक संकलनका लागि हामीले दुईवटा मुख्य तरिका अपनाइरहेका छौँ। एउटा फ्यासिलिटी र अर्को कम्युनिटीबाट संकलन गर्छौँ। फ्यासिलिटी भनेको सम्भावित सबै क्यान्सरको उपचार गर्ने अस्पतालहरु, स्वास्थ्य तथा विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार, राष्ट्रिय पञ्जीकरण विभाग, सामाजिक स्वास्थ्य सुरक्षा शाखा हुन्। यी सम्भावित ठाउँहरुमा हामीले हेल्थ वर्कर राखेका छौँ, उहाँहरुले हामीलाई बिरामीको नाम, फोन नम्बर र ठेगाना टिपाइदिनुहुन्छ। उनीहरुले टिपाएको विवरणका आधारमा हामी बिरामीलाई फोन गरेर, प्रमाणित भइसकेका क्यान्सरका नयाँ तथा पुराना र क्यान्सर रोगबाट मृत्यु भएका मानिसहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।

त्यसैगरी, कम्युनिटीमा भने तालिम प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो ठाउँमा रहेको स्वास्थ्य चौकी, गाउँपालिका, नगरपालिकामा गएर तथ्याङ्क संकलन गरिरहेका छन्। इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) सँग समन्वय गरी बनाइएको फारमअनुसार स्वयंसेविकाले आफ्नो ठाउँमा भएका क्यान्सरका बिरामी र क्यान्सरबाट मृत्यु भएका मानिसहरुको विवरण भरेर स्वास्थ्य केन्द्रमा बुझाउनुहुन्छ। स्वयंसेविकाले बुझाएको फारम स्वास्थ्य केन्द्रले हामीले समन्वय गरेका गाउँपालिका वा नगरपालिकामा बुझाउँछ। त्यो हामीकहाँ आउँछ। हामीलाई उनीहरुले एक–एक महिनामा फारम बुझाउँछन्।

कहाँ-कहाँबाट तथ्याङ्क संकलन गरिँदै छ?
हामीले फरक–फरक भौगोलिक क्षेत्र समावेश हुने गरी नौ वटा जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पूर्वी रुकुम र पश्चिम रुकुममा तथ्याङ्क संकलन गरिरहेका छौँ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले शहरी क्षेत्रलाई प्रतिनिधित्व गरिरहेका छन्। सिरहा, सप्तरी, धनुषा, महोत्तरी जिल्लाले अर्ध शहरी क्षेत्रलाई प्रतिनिधित्व गरिरहेका छन् भने पूर्वी रुकुम र पश्चिम रुकुमले ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गरिरहेका छन्। यी तीन क्षेत्रबाट तथ्याङ्क संकलन गर्दा यी क्षेत्रहरुमा कस्तो खालको क्यान्सर धेरै छ भनेर पत्ता पनि लाग्छ। यिनै फरकफरक नौ जिल्लाले नेपाललाई प्रतिनिधित्व गर्ने भएका कारण सन् २०१८ जनवरीदेखि काम गर्न थालेका छौँ। यो सकिन यति समय लाग्छ भन्न सकिँदैन। प्रक्रिया चलि नै रहन्छ।

यसरी तथ्याङ्क संकलन गर्दा कत्तिको प्रभावकारी हुन्छ?

प्रभावकारी त भन्न सकिन्न, किनकि नेपालमा डाटा रेकर्डिङ सिस्टम खासै राम्रो छैन। जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीबाट कुनै पनि एक पार्टिकुलर स्थानमा कति क्यान्सरका बिरामी आए भनेर थाहा हुनुपर्छ। अस्पताल आउने बिरामीहरुले पनि कतिपयले आफ्नो बस्ने ठेगाना फरक भनेको हुन सक्छ, कतिले अस्थायी ठेगाना दिन्छन् भने कतिले स्थायी ठेगाना दिइरहेका हुन्छन्, जसले गर्दा हामीलाई छुट्याउन गाह्रो पर्छ। त्यसकारण हामीले तथ्याङ्क संकलन गरिएका सबै व्यक्तिलाई फोन गरेर उनीहरुको ठेगाना सोध्ने गरेका छौँ। यसरी सोधिसके पछि मात्रै बिरामी कहाँको हो भनेर हामीले नौ वटा जिल्लामा राख्ने गरेका छौँ।

तर कुनै पनि विरामी क्यान्सर लाग्नु भन्दा अगाडि र क्यान्सर लागिसकेपछिको ६ महिनासम्म एकै ठाउँमा छ भने ऊ त्यही ठाउँको हुनसक्ने अनुमान गरेका छौँ। सबै यकिन भइसकेपछि मात्रै हामी डाटा इन्ट्री गर्छौँ।

क्यान्सरका बिरामी कति फेला परेका छन्? कुन क्यान्सरका बिरामी धेरै छन्?

अनुसन्धानको एक वर्षको रिपोर्ट आउन अझै ६ महिना जति लाग्छ। तर हामीले अनुसन्धान सुरु भएदेखि पाँच महिना (सन् २०१८ जनवरीदेखि मेसम्म) को तथ्याङ्क मात्रै सार्वजनिक गरेका छौँ। यस्तो अनुसन्धान यति सय सम्म गर्ने भन्ने हुँदैन। यस्तो अनुसन्धानको प्रकृया लामो समयसम्म चलिरहन्छ। पाँच महिनाको तथ्याङ्क हेर्ने हो भने उपत्यकामा मात्रै ७ सय २ जना क्यान्सरका नयाँ बिरामी फेला परेका छन्। विश्वभरको तथ्याङ्क हेर्ने हो भने पनि क्यान्सरबाट महिलाहरु नै धेरै पीडित भएको देख्न सकिन्छ। हामीले भर्खरै सार्वजनिक गरको पाँच महिनाको तथ्याङ्क हेर्ने हो भने पनि ३ सय ७९ महिला र ३ सय २३ पुरुष छन्। तीमध्ये पनि क्यान्सरका नयाँ विरामी सबैभन्दा बढी वृद्धा अवस्थामा धेरै देखिने गरेको पाइएको छ। ६० देखि ६५ वर्ष उमेर समूहमा क्यान्सर धेरै देखिएको छ। किनभने क्यान्सर लागेको यसै पनि ढिला थाहा हुन्छ, अर्को कुरा बिरामीहरु उपचारका लागि अस्पताल छिटो जाँदैनन्।

उक्त तथ्याङ्कका अनुसार फोक्सोको क्यान्सर र स्तनको क्यान्सर सबैभन्दा बढी देखिएको छ। तीमध्ये पुरुषमा पहिलो फोक्सोको क्यान्सर, दोस्रोमा ओठ तथा मुखको क्यान्सर, तेस्रोमा आन्द्रा तथा गुदद्वारको क्यान्सर, चौथोमा पेटको क्यान्सर सबैभन्दा बढी देखिएको र महिलामा पहिलो स्तन क्यान्सर, दोस्रोमा फोक्सोको क्यान्सर, तेस्रोमा पाठेघरको मुखको क्यान्सर, चौथोमा थाइराइडको क्यान्सर हुने गरेको पाइएको छ। अचम्मको कुरा यो हो कि चौथो नम्बरमा थाइराइड क्यान्सर देखिएको छ, जुन रेडियसनको कारणले मात्र हुन्छ। थाइराइड क्यान्सर धेरै देखिनुमा अन्य कुनै कारण पनि छ कि भनेर अहिले एउटा शंका उत्पन्न भएको छ।

भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी काठमाडौँमा ६३, ललितपुरमा २१ र भक्तपुरमा १६ प्रतिशत क्यान्सरका विरामी फेला परेका छन्। नेवार समुदायमा ३९, बाह्मण र क्षेत्रीमा ३६ र जनजातिमा १९ प्रतिशत क्यान्सरका बिरामी देखिएका छन्। अन्य जिल्लाहरुको तथ्याङ्क भने आउन बाँकी नै छ। केही समय लाग्छ।

रजिष्ट्री कसले गरिरहेको छ र को–को सहभागी छन्?
क्यान्सर नीति तर्जुमा गर्न आवश्यक तथ्याङ्क संकलन गर्न र क्यान्सर रोगको रोकथाम तथा उपचारका लागि ठोस प्रमाण आवश्यक भएका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो कार्यक्रम स्वीकृत गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत गर्न सुरु गरेको छ।

इन्टरनेशनल फर रिसर्च अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी बनाइएको फारमअनुसार क्यान्सर अनुसन्धानकर्तासँगै अस्पतालका कर्मचारी र स्वास्थ्य स्वयंसेविकाले तथ्याङ्क संकलन गर्ने गरेका छन्। उपत्यकाका लागि मलगायत तीन जना छौँ। त्यसबाहेक अस्पतालमा गएर त्यहाँको अवस्था बुझ्न प्रत्यक अस्पतालमा एक जना फोकल पर्सन छुट्याएका छौँ। हामीले स्वास्थ्य स्वयंसेविकालाई कसरी सूची संकलन गर्ने भन्ने तालिम पनि दिएका छौँ। उनीहरुले आफ्नो समुदायमा गएर क्यान्सर रोगी र देशबाहिर उपचारका लागि गएका मानिसहरुको रेकर्ड लिनुका साथै कति जनाको मृत्यु भएको भनेर तथ्याङ्क संकलन गर्ने गरेका छन्।

रजिष्ट्रीका लागि कति बजेट छुट्याइएको छ?
स्वास्थ्य करकोषले अघिल्लो वर्ष हामीलाई २५ लाख रुपैयाँ दिएको थियो। यी नौ वटा जिल्लामा अनुसन्धान गर्न यति रकम पर्याप्त छ। हामीले काठमाडौँमा बसेर सिरहा, सप्तरी, रुकुमबाट डाटा लिन सजिलो छैन। पछिल्लो समय सरकारले देशलाई प्रदेशमा विभाजन गरेअनुसार प्रत्येक प्रदेशमा क्यान्सर रजिष्ट्री युनिट खोल्न सके सजिलो हुनुका साथै प्रभावकारी हुन्थ्यो। त्यहाँबाट तथ्याङ्क संकलन गर्न सजिलोका साथै प्रभावकारी हुन्छ। अहिलेसम्म हामीले स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएवापत भत्ता स्वरुप यति रकम दिनुपर्ने भनेर भनिएको त छैन तर पनि हामीले उनीहरुलाई केही रकम दिँदै आइरहेका छौँ। यसो गरिरहँदा उनीहरुले कसरी तथ्याङक संकलन गर्छन भन्ने कुरा मात्रै हो।

हामी कहाँ आउने प्रत्येक केसहरुलाई फोन गरेर सोध्नुपर्छ। धेरै जसो उपत्यका बाहिरका विरामी भएको पाइएको छ। तर यो वर्ष भने एक वर्षको तथ्याङ्क सार्वजनिक भएपछि कति बजेट छुट्याउने भन्ने थाहा हुन्छ।

भारतको तुलनामा नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ?
नेपाल र भारतमा क्यान्सरको अवस्था उस्तै–उस्तै नै छ। नेपालका तराई जिल्लाहरुमा महिलामा पाठेघरको मुखको क्यान्सर धेरै छ भने काठमाडौँमा स्तन क्यान्सर धेरै पाइएको छ। नेपालमा जस्तै भारतमा पनि स्टेट अनुसार क्यान्सरको प्रकोप फरक–फरक नै पाइन्छ। भारतको भौगोलिक वनावट नेपालसँग मिल्ने भएकाले यहाँको तुलनामा त्यति धेरै फरक भएको पाइँदैन।

बैशाख २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्