सांसदको डेरामा तोडफोड गरी ५४ हजार रुपैयाँ चोरी

सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्य कुर्मराज शाहीको डेरा तोडफोड गरिएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरको खजुरास्थित डेरामा मंगलबार दिउँसो तोडफोड भएको हो।

घरमा कोही नभएको बेला मौका छोपी डेरा तोडफोड गरेर ५४ हजार नगद रुपैयाँ चोरी भएको सांसद शाहीले बताएका छन्। ‘बिहान खाना खाएपछि भौतिक मन्त्रालय तिर दिन बित्यो’, सांसद शाहीले भने,‘ताला लगाएर निस्केको फर्किदा चाहिँ ढोका खुल्लै थियो।’ नगद बाहेक डेरामा भएको जिन्सी सामग्री चोरी नभएको उनले जानकारी दिए।

चोरी भएको थाहा पाउन साथ डिएसपी प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरीले मुचुल्का उठाएको छ। ‘घरबेटीको सबै परिवार पुजामा गएको थियो’, शाहीले भने,‘कसैमाथि शंका÷उपशंका गर्न सक्ने अवस्था छैन्। प्रहरीले चोरी डकैतीमा युवाहरुको ग्याङ नै छ भनेको छ। खै पत्ता लाग्ला जस्तो लाग्दैन्।’

प्रहरीको सल्लाह अनुसार बुधबार उनले जिल्ला प्रहरी कार्यालयमा चोरको खोजी गरी रकम असुली गरिदिन निवेदन दिएका छन्। प्रहरीले चोर पत्ता लगाउने आवश्वासन दिएको छ।

प्रहरीले चोरी गर्नेहरुको खोजी भइरहेको जनाएको छ। ‘तोडफोड भएको छ, अनुसन्धानका लागि निवेदन पनि दर्ता गरिसकेका छौँ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका क्षेत्रीले भने, ‘प्रदेश राजधानी र प्रदेश सभा सदस्यको डेरामा चोरी भएकाले गम्भिरतापूर्वक लिएका छौँ।’

सांसद शाहीको डेरा तोडफोड भएसँगै राजधानीको सुरक्षा चुनौतीबारे प्रश्‍न उव्जीएको छ।

बैशाख २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्