कर्णालीको राजधानी वीरेन्द्रनगरमा अब हर्न बजाउन नपाइने

सुर्खेत–कर्णाली प्रदेशको राजधानीमा ध्वनी प्रदूषण न्यूनिकरण गर्न हर्न निषेध गर्न लागिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी साधनबाट हुने ध्वनी प्रदूषण रोक्न हर्न निषेध गर्न लागेको हो। दुर्घटना न्यूनिकरणका लागि प्रहरीले अबको १० दिनभित्र वीरेन्द्रनगरलाई हर्न निषेध नगरका रुपमा घोषणा गर्ने तयारी थालेको हो। तीव्र गतिको कमी ल्याउन र दुर्घटना न्यूनिकरण हुने अपेक्षासहित नगरमा ट्राफिक व्यवस्थापन गर्न लागिएको हो।

प्रहरीले सवारी साधन आवागमन सहज, यात्रुहरुलाई मार नपर्ने र दुर्घटना न्यूनिकरण गर्न विभिन्न रणनीतिहरु सार्वजनिक गरेको छ। बुधबार प्रहरीले पत्रकार सम्मेलन गरि अब चालक र सह चालकहरुलाई ज्याकेट वितरण गर्ने भएको छ। एक महिनाको अवधीमा रातको समयमा सवारी बिग्रँदा चालक तथा सह–चालकले सडकमै काम गर्नुपर्ने अवस्थामा सुरक्षित हुन ज्याकेटले मद्दत पुग्ने अपेक्षा लिइएको छ।

चालक र सह–चालकले ज्याकेट लगाउँदा सर्बसाधारणहरुले पहिचान गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बिसीले बताए। उनले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने भएकाले सबैले नियमको पालना गर्न आग्रह गरे।

उनले मोटरसाईकल दुर्घटनाबाट हुने क्षति न्यूनिकरणका लागि पछाडी सवारले पनि हेल्मेटको प्रयोग गर्नुपर्ने नियम लागू गरिने बताए। ६ महिना अवधीमा मोटरसाईकलमा सवार दुबै जनाको सुरक्षाको लागि उपयुक्त हुने गरि हेल्मेट प्रयोग गर्नुपर्ने छ। दुर्घटना तथ्याङक अनुसार मोटरसाईकलमा पछाडी सवार भएको यात्रु बढी घाईते तथा मृत्यु हुने गरेकाले हेल्मेट अनिवार्य गरिने उनले बताए।

यस्तै, लामो दुरीमा संचालन हुने सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने उनले बताए। एक जना मात्र चालकले सवारी चलाउँदा बढी थकान भई दुर्घटना हुनसक्ने जोखिम न्यूनिकरण गर्न अनिवार्य दुई जना चालक राख्नुपर्ने उनले जानकारी दिए।

यस्तै, प्रहरीले ट्राफिक कम्यूनिकेशन एप प्रयोग गर्ने योजना बनाएको छ । ‘एप प्रयोग गरेको सवारी साधनमा दुई जना चालक छ÷छैन, सजिलै पत्ता लगाउन सकिन्छ’, उनले भने,‘कुनै चेक पोष्टबाट सवारी चालकको फोटो र गाडी नम्बर एपमा इन्ट्रि हुन्छ। पछि अर्काे चेक पोष्टमा सोही गाडी नम्बर र चालकको फोटा इन्ट्रि हुन्छ, जसले गर्दा चालकले गाडी चलाएको छ की छैन भन्ने जानकारी लिन सहज हुनेछ।’

चालकको लापरवाहीबाट हुने सवारी दुर्घटना न्यूनिकरणमा यो एपले सहयोग पुग्ने विश्वास लिइएको छ। यो एपलाई प्रहरीले सुरक्षित र गोप्य रुपमा प्रयोग गर्नेछ। चेक पोष्टमा चालक परिवर्तन भएको पाइएमा कारवाही हुनेछ। एपले लाईसेन्समा नक्कली फोटो राख्ने प्रबृतिको अन्त्य हुने अपेक्षा प्रहरीको छ।

बैशाख २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्