च्याम्पियन्स लिग फुटबल

उत्कृष्ट पुनरागमनको अर्को नमुना, दोस्रो हाफको ह्याट्रिकले टोटनह्याम फाइनलमा

च्याम्पियन्स लिग फुटबलको यो सिजनमा लगातार ठानिए भन्दा फरक नतिजा आइरहेका छन् र यसले फुलटबल प्रेमीलाई थप रोमाञ्चित बनाइरहेको छ ।

सेमिफाइनलमा त झन सहज जित निकाल्ने ठानिएका टिमलाई चकित पार्दै पहिलो लेगमा पराजित भएका टिमले दोस्रो लेगमा शानदार पुनरागमन गर्दै फाइनलमा स्थान पक्का गरेका छन् ।

बार्सिलोनालाई स्तब्ध पार्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको भोलिपल्ट अर्को इंग्लिस क्लबले पनि शानदार पुनगरागमन गरेर फाइनलमा स्थान बनाएको हो ।

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा डच क्लब अजाक्सलाई हराउँदै माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले लिभरपुलसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

पहिलो लेगमा १–० को जितसहित तुलनात्मक रुपमा बलियो अवस्थामा रहेको अजाक्सले बुधबार राति घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेर आफ्नो पक्षमा जित लगभग निश्चित गरेको जस्तो देखियो ।

अजाक्सका लागि पाँचौँ मिनेटमा १९ वर्षका कप्तान म्याथाइस डी लिग्टले गोल गरे । यस्तै ३५ औँ मिनेटमा हाकिम जियाचले गोल गरेपछि अजाक्सले पहिलो हाफमा २–० को अग्रता लियो । पहिलो लेगको हार र दोस्रो लेगको पहिलो हाफमा खाएको दुई गोलले भ्रमण टोली प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको देखियो ।

तर दोस्रो हाफमा उसले चमत्कार गरेर देखायो र चमत्कारक बने लुकास मौरा । मौराले टोटनह्यामका लागि ह्याट्रिक गरे । उनले ५५ र ५९ औँ मिनेट तथा इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

उनको ह्याट्रिकले दोस्रो लेगमा टोटनह्यामले ३–२ को जित निकाल्यो । यो जितले खेल समग्रमा ३–३ को अवस्थामा पुग्यो र अवे गोलका आधारमा टोटनह्यामले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

लगभग गुमिसकेको खेलमा पुनरागमन गर्दै टोटनह्यामले पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।

आफ्ना खेलाडीले गुमाइसकेको खेल दोस्रो हाफ र इन्जुरी समयमा आफ्नो पक्षमा पारेर ऐतिहासिक सफलता दिलाएपछि प्रशिक्षक पोकेटिनोले आँसु थाम्न सकेनन् । उनी खुशीको आँसु बगाउन बाध्य भए ।

युवा खेलाडीले भरिएको अजाक्सले युभेन्टसलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । उसको युरोपियन यात्रा निश्चित लक्ष्यमा पुग्न नसके पनि राम्रो प्रदर्शन गरेर विश्वव्यापी रुपमा समर्थक भने बटुल्न सफल रह्यो ।

फाइनल खेल आउँदो जुन १ मा स्पेनको मड्रिडमा हुनेछ ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्