टुटिसकेको सपनामा प्राण भरिएको क्षण

असीमित खुशी यसरी व्यक्त हुँदो रहेछ आँसु बनेर

सजिलो थिएन चुनौति र आश पनि त्यति ठूलो थिएन शायद । पहिलो लेगमा बेहोरेको १–० को हारपछि मनोबल केही कमजोर भए पनि टिमले मेहनत गरेको थियो र प्रशिक्षकले त्यसमा थप आँट भरेका थिए ।

तर स्वयम् प्रशिक्षक माउरिसिओ पोकेटिनोकै मनमा भने फाइनलको सपनाले आकार लिएको थिएन । त्यसमाथि अवे मैदानमा भएको दोस्रो लेगमा टिमले दुई गोल खाएपछि सम्भावना लगभग सकिएको जस्तो ठानेका थिए उनले ।

फुटबलमा सम्भावना सकिँदैन अन्तिम समयसम्म अर्थात खेल सकिएर मैदान बाहिर खेलाडी ननिस्किएसम्म । बुधबार राति यसकैको प्रमाण देखियो ।

पोकेटिनो र शायद उनको टिम टोटनह्यामका खेलाडीहरुले पनि अजाक्ससँगको सेमिफाइनलको दोस्रो लेग पनि गुमेको ठानेका थिए होलान्, फाइनल यात्रा त परको कुरा ।

तर चमत्कार भयो । दोस्रो हाफमा लुकास मौराले टोटनह्यामको गुमिसकेको आश र सपनामा प्राण भरे । उनले ५५ र ५९ औँ मिनेटमा गोल गरेर खेलमा २–२ को बराबरी गरे ।

बराबरी भए पनि टिम फाइनल पुग्नका लागि अझै कम्तिमा एक गोल चाहिएको थियो । निर्धारित समय अर्थात ९० मिनेटभित्र त्यो सम्भव भएन । तर सम्भावना अझै बाँकि थियो, इन्जुरी समयमा । मौराले इन्जुरी समयको छैटौँ मिनेटमा ह्याट्रिक गरे ।

उनको ह्याट्रिकले टोटनह्यामले दोस्रो लेगमा डच क्लब अजाक्सलाई हराएन मात्रै अवे गोलका आधारमा च्याम्पियन्स लिग फुटबलको फाइनलमा टिमलाई पहिलोपटक पुर्‍यायो पनि ।

मौराले मैदानमा गोल गरे, यता टच लाइनमा रहेका प्रशिक्षक पोकेटिनो थामिन सकेनन् । उनी आँसुमा डुबे । लगभग असम्भव प्रायः ठानेको यात्रा आफ्नो टिमले पूरा गरेको देख्दा उनका आँखा ओभानो रहन सकेनन् । भावनालाई रोक्न सकेनन् र चाहेनन् पनि ।

पोकेटिनोले मैदानमा सपना बाँचे, त्यो सपना जुन लगभग यो सिजनका लागि टुटेको जस्तै थियो । टुटिकेको सपनामा प्राण भरिएपछिको जीवन बाँचेका पोकेटिनोले आँसु बगाए खुशीको । मैदानलाई चुमे र फेरि मौराको इन्जुरी गोललाई ‘पूजा’ गरे ।

भावनालाई उत्सवका रुपमा मनाएका पोकेटिनोले आँसु बगाउन लजाएनन् । खेल पछिको पत्रकार सम्मेलनमा भावनात्मक रुपमा प्रस्तुत भएका उनले आफ्ना खेलाडीलाई ‘हिरो’ को शंग्या दिए ।


बैशाख २६, २०७६ मा प्रकाशित