व्यापार युद्ध अन्त्य गर्ने वार्ताका आधार चीनले भंग गर्‍यो : ट्रम्प

दुई देशबिच व्यापार वार्ता चुस्त रुपमा अघि नबढ्नुमा चीन नै दोषी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । अमेरिका र चीनबिच व्यायार युद्धको अवस्था छ र समस्या समाधानका लागि वार्ता गर्ने भनिए पनि त्यसका लागि सहज वातावरण बनिरहेको छैन ।

अमेरिकाले पुनः चिनियाँ उत्पादनमाथिको कर बढाउने बताएपछि सम्बन्धमा थप तनाव आएको हो । चीनले अमेरिकी कदमको उस्तै जवाफ दिने बताएपछि ट्रम्पको भनाई आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रबार चिनियाँ सामानमा लाग्दै आएको कर दोब्बर बनाउने बताएका थिए । सम्बन्धमा तनाव आइरहेका बेला दुई देशबिच बिहीबार अमेरिकामा व्यापार वार्ता हुँदैछ ।

त्यसकै पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरकोे आरोप लगाएका हुन् । पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबिच व्यापार युद्धको अवस्था छ । दुवै देशले एकअर्काको देशका सामानमाथिको कर बढाएका छन् ।

व्यापार युद्धको अवस्था अन्त्य गर्ने प्रयास स्वरुप वार्ताको तयारी भइरहेका बेला ट्रम्पले कर दोब्बर पार्ने चेतावनी दिनु र चीनले नै आधारहरु भंग गरेको आरोप लगाउनुले वार्ताको सफलतामाथि शंका उत्पन्न भएको छ ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्