भेनेजुएलामा राजनीतिक संकट

विपक्षी नेताका शीर्ष सहयोगी पक्राउ

भेनेजुएलाका विपक्षी नेता क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् ।

राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । एड्गरलाई गुप्तचर निकायका अधिकारीले कारबाट उत्रिन भनेका थिए, तर उनले मानेनन् ।

त्यसपछि गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् । गएको हप्ता विपक्षी नेता गुएडोले मादुरोलाई सत्ताबाट बाहिर्‍याउनका लागि सैन्य अधिकारीसँग सम्झौता गर्ने असफल प्रयास गरेपछि विपक्षी नेता पक्राउ परेको पहिला घटना हो ।

गुएडोले गएको जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई ५० भन्दा बढि देशले अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्