मोदीविरुद्ध चुनाव लड्न चाहेका तेजबहादुरको बाटो सर्वोच्चले पनि रोक्यो

भारतको सर्वोच्च अदालतले सीमा सुरक्षा बल (बिएसएफ) का पूर्व जवान तेजबहादुर यादवको अपिल खारेज गरेको छ । वाराणसी लोकसभा सिटमा उनले दिएको उम्मेदवारी खारेज गर्ने जिल्ला निर्वाचन कार्यालयको फैसलालाई चुनौती दिइएको थियो ।

तेजबहादुर यादवले दुईपटक उम्मेदवारी दर्ता गरेका थिए । अप्रिल २४ मा निर्दलीय उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गरेका उनले अप्रिल २९ मा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका थिए ।

प्रधानन्यायाधीश रञ्जन गोगोईको बेन्चले अपिल खारेज गर्दै अपिल स्वीकार गर्नु पर्ने कुनै कारण नदेखिएको उल्लेख गरेको छ ।

वाराणसीमा उनले प्रधानमन्त्री तथा भाजपा उम्मेदवार नरेन्द्र मोदीलाई चुनौति दिन चाहेका थिए । हालका सांसद पनि रहेका मोदीले अप्रिल २६ मा उम्मेदवारी दर्ता गरेका थिए । यहाँ कांग्रेसले अजय रायले उम्मेदवारी दिएका छन् ।

तेजबहादुर यादवलार्य जिल्ला निर्वाचन कार्यालले अप्रिल ३० मा नोटिस दिएको थियो, जसमा बिएसएफबाट उनलाई बर्खास्त गरिनुको कारण खुलाउन भनिएको थियो । त्यसपछि दोस्रो नोटिस जारी गरेर मे १ को बिहान ११ बजेभित्र चिट्ठी ल्याउन भनिएको थियो ।

तेजबहादुरले केही घण्टाभित्र चिट्ठी ल्याउन नसकेपछि उनको उम्मेदवारी रद्द गरेको थियो ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्