मोरङ प्रहरीले सुरु गर्‍यो लागुऔषध विरुद्धको अभियान

मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध अपराध विरुद्धको अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम अघि बढाएको छ।

यसक्रममा मोरङ प्रहरीले विराटनगर–१६ मा क्यान सेन्टरको स्थपना गरेको छ। क्यान सेन्टरको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा प्रदेश–१ प्रहरी कार्यालयका प्रमुख डीआइजी केदार रिजालले अपराधको जड लागुऔषध र मदिरा भएकाले प्रभावकारी रूपमा त्यसविरुद्ध यसप्रकारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। डिआइजी रिजालले लागुऔषध विरुद्धको यस अभियानमा सब पक्षको साथ र सहकार्य आवश्यक भएको बताए।

कार्यक्रममा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले लागुऔषध दुर्व्यसनीलाई पक्राउ गरेर मात्र नहुनेमा जोड दिए। उनले भने, ‘दुर्व्यसनीलाई पक्राउ गरेसंगै परामर्श र समाजमा पुनःस्थापनाका लागि यस अभियानले प्रभावकारी भूमिका खेल्नेछ।’

अभियानलाई तीन चरणमा बाडिँएको केसीले बताएका बताए। पहिलो चरणमा दुर्व्यसनीलाई परामर्श दिने, दोश्रो पुनःस्थापना केन्द्रमा राखिने र तेश्रो गम्भीर तहका दुर्व्यसनीलाई कोशी अस्पताल विराटनगरमा उपचार गरिने जानकारी दिए।

प्रहरीले लागुऔषध दुर्व्यसनीलाई समाजमा पुनस्थापना गर्ने र ओसारपसार, खरिद बिक्री जस्ता गतिविधीबाट युवालाई टाढा राख्ने उद्देश्यले मोरङ प्रहरीले दोस्रो चरणको यो अभियान सुरु गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर शाखा, पुनस्थापना केन्द्र तथा उपचार केन्द्र र सरोकारवालासँगको सहकार्य र समन्वयमा अभियान सुरु गरिएको हो।

प्रहरीले गत भदौ २५ देखि पुस २ गतेसम्म ९० दिन चलाएको अभियानमा १ हजार ६ सय ७८ जना लागुऔषध प्रयोगकर्ताहरूलाई परामर्श दिएको थियो। जसमा उनीहरू मध्ये अधिकाशंले लागुऔषधजन्य औषधि सेवन गर्ने गरेको फेला परेको बताइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङमा आर्थिक वर्ष २०७४/०७५ मा ९३ वटा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भएको थियो। चालु आर्थिक वर्षको मंसिरसम्म ७८ वटा मुद्दा दर्ता भएको छ। प्रहरीले तीन महिना लागुऔषध सम्बन्धी अभियान सञ्चालन गरेपछि कमी आएको जनाएको छ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्