भारतको मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

फाइल फोटो

भद्रपुर– वैदेशिक रोजगारीको वहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान साढे दश बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको हो।

केही महिनाअघि म्यान्मारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो। मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमार हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पुर्‍याए भनी सोधखोज भइरहेको बताए।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्