आईपीएल फाइनलको ३९ हजार टिकट २ मिनेटमै विक्री

एजेन्सी–१२औँ इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको फाइनलका सबै टिकट दुई मिनेटमै ब्रिक्री भएका छन्।

३९ हजार दर्शक क्षमता भएको स्टेडियमको टिकट क्षण भरमै सकिएपछि सामुन्ने खेल हेर्न चाहने हजारौँ क्रिकेट प्रेमी आक्रोशित भएका छन्।

उनीहरुले भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईको निष्पक्षता र जवाफदेहितामाथि समेत प्रश्न उठाएका छन्। बिसीसीआईले पूर्वसूचना विना नै टिकटको बुकिङ खुलाएको थियो। दुई मिनेटभित्रै सबै टिकट बुकिङ हुनु अस्वभाविक भएको उनिहरुको आरोप छ।

जारी आईपीएलको फाइनल हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा आगामी आईतबार हुनेछ। अघिल्ला आईपीएल फाइनलहरुमा २५ हजारदेखि ३० हजारसम्म दर्शक रंगशालामा पुगेको तथ्यांक छ।

हैदराबाद क्रिकेट एशोसिएशनका कार्यकारी समितिका एक सदस्यले पनि बिसीसीआईको पारदर्शिता र जवाफदेहितामाथि प्रश्‍न उठाएका छन्। उनले भने,‘फाइनलका सबै टिकट दुई मिनेटमा कसरी बिक्री हुन सक्छन्? यो एकदम अविश्वसनीय छ। बिसीसीआाईले यसको जवाफ दिनुपर्छ।’

एक हजार, १५ सय, २ हजार, २५ सय, ५ हजार, १० हजार, १२ हजार ५ सय, १५ हजार र २२ हजार ५ सय भारतीय रुपैयाँका टिकटको ब्यवस्था गरिएपनि अधिकार प्राप्त कम्पनीले १५ सय, २ हजार, २५ सय र ५ हजार दरका टिकटका लागि मात्र बुकिङ खुलाएको जनाईएको छ। अन्य १२ हजार ५ सय, १५ हजार र २२ हजार ५ सय दरका टिकटबारे केही खुलाईएको छैन।

जारी आईपीएलको फाइनलमा मुम्बई इन्डियन्स पुगिसकेको छ। शुक्रबार हुने दोस्रो क्वालिफायरको विजेतासँग मुम्बईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। दोस्रो क्वालिफायर चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ।

बैशाख २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्