सन्दीपलाई लगातार फाइनल पुग्‍ने अवसर, चेन्‍नइसँग भिड्दै दिल्ली

नयाँ दिल्ली- १२औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा शुक्रबार चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली सयम अनुसार बेलुका पौने आठ बजे हुनेछ।

सन्दीप लामिछाने आबद्ध दिल्ली उच्च लयमा छ। एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई दुई विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो। यसअघि पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्स फाइनल पुगेको थियो।

यो खेलमा दिल्लीले जित हात पारे सन्दीप लगातार दुई ठुला व्यावशायीक क्रिकेट प्रतियोगिताको फाइनल पुग्नेछन्। यसअघि अस्ट्रेलियाको बिग बास लिग-बीबीएल क्रिकेटमा पनि सन्दीप आबद्ध मेलबर्न स्टार्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। जारी आईपीएलमा सन्दीपले केवल ६ खेलमा अवसर पाएका छन्।

यी खेलमा उनले ८ विकेट हात पारेका छन्। दिल्लीका पछिल्ला केही खेलमा सन्दीपले प्लेइङ सेटमा छैनन्। उनको स्थानमा खेलेका खेलाडीको प्रदर्शन उच्च रहेकाले सन्दीपले चेन्नईविरुद्ध खेल्ने निश्चित छैन।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई आईपीएलको सर्वाधिक सफल टोली हो। चेन्नईले तीन पटक आइपीएलको उपाधी उचालेको छ भने सात पटक फाइनल खेलिसकेको छ। दिल्ली हालसम्म एकपटक पनि आईपीएलको फाइनल प्रवेश गरेको छैन।

आईपीएलमा हालसम्म चेन्नई र दिल्ली २० पटक आमने सामने भएका छन् जसमा चेन्नईले १४ खेल जितेको छ भने दिल्ली केवल ६ पटक विजयी भएको छ।

प्रतियोगितामा दिल्लीका शिखर धवन, श्रेयस अयर, रिसब पन्त लगायत ब्याट्सम्यान उच्च लयमा छन्। १५ खेल खेल्दै धवनले ५ सय ३ तथा अयर र पन्तले समान चार सय ५० रन बनाएका छन्। चेन्नईका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान रहेका धोनीको नाममा १३ खेलमा चार सय ५ रन छ। सुरेश रैनाले १५ खेलमा तीन सय ६४ रन बनाएका छन्।

बलिङतर्फ चेन्नईका इमरान ताहिर २३ विकेटसहित सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। २५ विकेट लिएका दिल्लीका कागिसो राबडा चोटका कारण स्वदेश फर्किसकेका छन्।  चेन्नईका हरभजन सिंहले १४ र दिल्लीका  क्रिस मोरिसले १३ विकेट लिएका छन्।

चेन्नई र दिल्लीबिचको विजेताले उपाधिका लागि मुम्बई इन्डियन्सको सामना गर्नेछ। फाइनल आइतबार हैदरावादस्थित राजिव गान्धी स्टेडियममा हुनेछ।

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्