भीभीआइपी उडानमा प्रधानमन्त्रीको ‘सामन्ती’ अभ्यास

फाइल तस्बिर

विर्तामोड- सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्या भण्डारीले प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकाले धेरै टीका टिप्पणी भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलगायत अन्य मुलुकहरुको अभ्यास भन्दै बचाउ गरे।

बिहीबार उनी भियतनाम जाने क्रममा आधा घण्टा देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर उडे। आधा घन्टा न कुनै विमान काठमाडौं अवतरण गर्न पाए,  न काठमाडौंबाट उड्न नै।

त्यससे गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बाह्य तथा आन्तरिक उडान मध्यरातसम्म नराम्ररी प्रभावित बने। विदेश तथा नेपालकै विभिन्न स्थानबाट आएका विमानले काठमाडौंको आकाशमा फन्को मार्नु परेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा चार घन्टासम्म यात्रुले उडान पर्खनु परेको थियो। अपरान्ह १ः०५ बजे भद्रपुर उड्नुपर्ने विमान साढे चार बजे मात्र उडाइएको थियो।

काठमाडौं विमानस्थलको डिपार्चर कक्षका बोर्डहरुमा ‘फ्लाइट डिले ड्यु टु भिभिआइपी मुभमेन्ट’ भनेर उल्लेख गरिएको थियो। देशका प्रधानमन्त्रीका कारण सर्वसाधारणले अनावश्यक दुख पाएका थिए।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई हलचल हुन नदिने घट्ना यो पहिलो भने होइन। जतिबेला नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री विदेश उड्छन् जनताले प्रशस्तै दुःख पाउँछन्। चाहे सडकमा होस् वा विमानस्थलमा।

सरकारले अन्तर्राष्ट्रिय अभ्यास पछ्याएको बताइरहँदा ‘भिभिआइपी मुभमेन्ट’ मा छिमेकी मुलुक भारतले अपनाएको अभ्याससमेत पछ्याउन सकेको छैन।

भारतको कुनै पनि विमानस्थलबाट त्यहाँका ‘भिभिआइपी’ कतै जाँदा जनतालाई मर्का पर्ने गरिको ‘मुभमेन्ट’ नहुने गरेको भारतीय विमानस्थलमा कार्यरत सुरक्षा प्रमुखहरु बताउँछन्।

पश्चिम बंगालको बागडोग्रा एयरपोर्टका प्रमुख सुरक्षा अधिकारी आदित्य ब्याग्राका अनुसार भारतका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको ‘मुभमेन्ट’ का बारेमा जनतालाई थाहै नहुने बताए।

उनले भने, ‘उनीहरुको आफ्नै बाटो हुन्छ विमानसम्म पुग्ने। हामी अन्य यात्रुलाई मर्का नपुग्नेगरि विमानस्थलको सुरक्षा गर्छौं। केही मिनेट तलमाथि हुनसक्छ। तर यात्रुलाई मर्का पर्ने किसिमको काम हुँदैन।’

ब्याग्राले अन्य ‘भिआइपी’को मुभमेन्टमा विमानको तालिका कहिले पनि परिवर्तन नहुने परम्परा भारतमा रहेको बताए। उनले भने, ‘भिभिआइपीहरुको विमान पनि अन्य विमानको रनवेबाटै उड्ने हो। तर जनतालाई मर्का नपर्नेगरि सुरक्षाको व्यवस्था गर्ने हो।’

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्