स्वास्थ्य परीक्षणको विषयमा श्रम मन्त्रालय र मलेसियन दूतावासबीच जुहारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँग भएको श्रम समझदारी अनुसार नै नयाँ स्वास्थ्य संस्था सूचिकरणको प्रक्रिया अगाडि बढाइएको प्रस्ट पारेको छ।

यस मलेसियन दूतावासले पहिलेका ३७ वटा संस्थालाई मात्रै अनुमति रहेको पत्र बारे विभिन्न सञ्चार माध्यममा आएको समाचार समेत गलत भएको मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै दाबी गरेको छ। मन्त्रालयले नयाँ स्वास्थ्य संस्था सूचिकरणको प्रक्रिया अगाडि बढाइरहँदा काठमाडौँस्थित मलेसियन दूतावासले पुराना संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्न पाउने पत्र परराष्ट्र मन्त्रालय र पुराना संस्थाको नाममा पठाएको थियो।

यस विषयमा शुक्रबार श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तीमा केही पनि उल्लेख छैन ।तर नयाँ सूचिकरण हुने संस्थाले पनि स्वास्थ्य परीक्षण गर्न पाउने दाबी गरिएको छ।

नेपाल सरकार र मलेसिया सरकारबीच गत कार्तिक १२ गते श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारी पछि त्यही दिन बसेको संयुक्त कार्यदलको बैठकले सहमती गरिसकेको र सोही अनुसार नयाँ संस्था सूचिकरणको प्रक्रिया अगाडि बढेको मन्त्रालयको दाबी छ।

तर मन्त्रालयको यो दाबी माथि मलेसियन दूतावासको पत्रले संका जन्माएको छ। परराष्ट्र मामिलाका जानकारले भने मलेसियन दूतावासको भुमिकामाथिनै संका गर्नु पर्ने अवस्था आएको बताएका छन्। मलेसियन दूतावास दुई देशका सरकारबीच भएको सम्झौता विपरितको चलखेलमा लागेको एक जना पूर्व राजदूतले बताए।

यसअघि मलेसिया सरकारले नै मापदण्ड पठाएको भन्दै श्रम मन्त्रालयले एक सय २६ वटा नयाँ स्वास्थ्य संस्था तथा अस्पताल सूचिकरणको प्रक्रिया गत चैत १८ गते अगाडि बढाइरहेको छ। ती संस्थाको अहिले अनुगमन भइरहेको छ। आवश्यक उपकरण र प्रक्रिया पूरा भएको पाइएमा नेपालको तर्फबाट उनीहरु सूचिकृत हुने छन् र स्वास्थ्य परीक्षणको अनुमति पाउने छन्।

 

बैशाख २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू